नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनका लोकप्रिय, चर्चित एवं विशिष्ट व्यक्तित्व जननेता मदन भण्डारीको भौतिक शरिर हामीबीच नभएको पच्चिस वर्ष भैसकेको छ । नविन विचारक जननेताद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) को आलोकमा नेपाली समाजको रूपान्तरण प्रक्रिया अघि बढिरहेको छ । कठोर भूमिगत राजनीतिक जीवनबाट तीन वर्षको खुल्ला राजनीतिक परिवेशमै उहाँले कम्युनिष्ट आन्दोलनमा व्याप्त जडतालाई तोड्दै माक्र्सवादको सृजनात्मक व्याख्या र प्रयोगका निम्ति उर्वर भूमि तयार पार्न महत्वपूर्ण भूमिका  निर्वाह गरिसक्नु भएको थियो । यही बीचमा उहाँले विरोधीहरूको कुप्रचारलाई अर्थहीन, निराधार र पूर्वाग्रहपूर्ण भएको साबित गर्न महत्वपूर्ण सफलतासमेत हासिल गर्नुभयो ।

सफल संयुक्त जनआन्दोलनका कुशल रणनीतिकार एवं नेतृत्वकर्ता जननेताले बहुदलीय राजनीतिक व्यवस्था स्थापनासहित नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्न निर्वाह गर्नुभएको अविष्मरणीय योगदान चिरकालपर्यन्त रहिरहनेछ । उहाँको सन्दर्भमा ‘जननेता’ को विशेषण र ‘लोकतान्त्रिक चरित्रको व्यक्तित्व’ पर्यायवाची जस्तै भएर आउँछन् । राष्ट्रद्वारा ‘नेपाल रत्न’ विभुषित जननेताको योगदानको स्मरण उहाँको अनुपस्थिति यताका हरेक राजनीतिक आरोह तथा अवरोहमा हुने गरेको छ । ‘उहाँ भएको भए !’ देशको सामाजिक आर्थिक अवस्था, नेपाली राजनीति, राजनीतिक दल र नेतृत्व यस्तो हुन्थ्यो वा हुँदैनथ्यो भनेर सकारात्मकभावले समाजिक जीवनका विविध कोणबाट लख काट्ने गरिँदै आएको पाइन्छ । तीक्ष्ण बुद्धिका जननेताले विद्यार्थी कालदेखि नै नेपालको शैक्षिक अवस्थाको सटिक विश्लेषण गर्दै त्यसको विकल्पको रूपमा वैज्ञानिक, व्यवसायिक र जनमुखी शिक्षा प्रणाली स्थापना गर्नुपर्ने दृष्टिकोण राख्नुभयो र जबजको सिद्धान्त प्रतिपादनसम्म आइपुग्दा जनवादी शिक्षा प्रणालीको खाका नै प्रस्तुत गर्नुभयो । यहाँ उहाँको शिक्षाप्रतिको धारणा र जबजमा वेष्ठित शिक्षा प्रणालीको बारेमा संक्षेपमा चर्चा गर्ने कोशिस गरिएको छ ।   

जननेताले “शिक्षा मान्छेको दिमागलाई खुल्ला र तीक्ष्ण बनाउने, नैतिक मूल्य—मान्यता सिकाउने, दृष्टिकोण बनाउने र सामाजिक नैतिकता तथा शिष्टाचार सिकाउने सशक्त र महत्वपूर्ण माध्यम हो” भन्नुभएको छ । मुलुकमा सञ्चालित नव–औपनिवेशिक शिक्षा प्रणाली र यसको विफलता तथा शिक्षा क्षेत्रमा सृजित समस्या र समाधानका उपायहरूका बारेमा जननेताले आफ्नो धारणा सुस्पष्टरूपमा प्रस्तुत गर्दै आउनु भएको थियो । जननेताले समाजको प्रगतिशील रूपान्तरणमा शिक्षाको महत्वलाई गहिरोसँग आत्मसात गर्नुभएको थियो । २०३० सालमा वनारसबाट प्रकाशित भएको ‘छात्र–प्रभा’ मा ‘संस्कृत शिक्षा र शिक्षार्र्र्थी’ शिर्षकको लेखमा शिक्षा हासिल गर्नबाट बञ्चित भएका सामन्ती समाजका उत्पीडित जनताले भोग्नुपरेको दासत्वलाई सुक्ष्म रूपले विश्लेषण गर्दै स्पष्ट पार्नुभएको छ “शिक्षाबाट टाढा रहनाले आफ्नो अधिकार पहिल्याउन नसकेका किसान ज्यामिहरूलाई दिशा पिसाब गर्न जाँदासम्म पनि पानी लिएर पछि–पछि साथी जाने मालिकको श्रद्धाभक्तिले सेवा गर्नुपर्छ, मुखमुखै लाग्नु हुँदैन भन्ने अन्धधारणाहरूले सधैँभरी माखेजालमा अल्मल्याएर दास बनाउन सकेको हो ।” निरंकुश शासकहरूले जनतालाई सधैँ अल्मल्याएर चेतनाहिन अवस्थामा राख्न सक्दैनन् भन्ने निष्कर्ष निकाल्दै उक्त आलेखमा जननेता थप स्पष्ट पार्नु हुन्छ “शिक्षा जीवनको ज्योति हो भन्ने धारणा नेपाली समाजमा हुर्किएर आयो ।” परिणामस्वरूप जनदबाबमा परेर शासकहरू शिक्षण संस्था खोल्न बाध्य भए र क्रमशः ती खुल्दै गए । उहाँकै शब्दमा “शिक्षाको निम्ति अत्तासिएको जनमानस सही शिक्षाको छानबिनतर्फ जान नपाओस् भनेर आफ्नो व्यवस्थालाई आधार दिने खालका स्तुती र पाठहरू पढाउन सामन्ती व्यवस्थापकले छिटफुट पाठशालाहरूको प्रबन्ध गर्न थाले ।” 

देशको पूर्वक्षेत्रको केन्द्र बिराटनगर अवस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको मुखपत्र ‘प्रकाश’ को चैत २०४० को अंकमा छद्मनामबाट जननेताले आफ्नो लेख छपाएर “अधिकांश विद्यार्थीहरू चर्को पढाई शुल्क, महङ्गा पाठ्यपुस्तकहरू, ड्रेस र उपभोग्य वस्तुहरूको महङ्गीबाट सधैँभरी नै त्रस्त र दुःखको स्थितिमा हुन्छन् । त्यसमा पनि अव्यवहारिक गैरकामकाजी शिक्षा, पढिसकेर पनि सम्पन्न वर्ग वा सरकारको मुख ताक्नुपर्ने शिक्षा प्रणालीद्वारा मानसिक रूपमा सताइएका हुन्छन्” भन्दै तत्कालिन निरंकुशतन्त्रले लादेको शिक्षा नीतिको विरुद्धमा उभिनु भएको थियो । उहाँले यस्तै समस्या व्यहोरीरहेका विद्यार्थीहरू नै वास्तवमा “क्रान्ति र परिवर्तनका पक्षपाती हुन्छन्” भन्दै “शैक्षिक, साँस्कृतिक र आर्थिक समस्याहरूको केन्द्रबिन्दू राजनीतिक समस्या हो” भन्ने निष्कर्ष निकाल्नु भयो । यसरी जननेताले विद्यार्थी, शिक्षा र राजनीतिका बीचमा रहेको अन्तरसम्बन्धलाई सटीक ढङ्गले विश्लेषणसहित सामाजिक परिवर्तनका निम्ति युवा, विद्यार्थी, सचेत र जागरुक समुदायलाई उत्पे्ररित गनुभएको थियो । 

 “अधिकांश विद्यार्थीहरू चर्को पढाई शुल्क, महङ्गा पाठ्यपुस्तकहरू, ड्रेस र उपभोग्य वस्तुहरूको महङ्गीबाट सधैँभरी नै त्रस्त र दुःखको स्थितिमा हुन्छन् । त्यसमा पनि अव्यवहारिक गैरकामकाजी शिक्षा, पढिसकेर पनि सम्पन्न वर्ग वा सरकारको मुख ताक्नुपर्ने शिक्षा प्रणालीद्वारा मानसिक रूपमा सताइएका हुन्छन्  ।”

जननेताले लोकतन्त्र स्थापनासहित परिवर्तनकारी विचार निर्माणमा नेतृत्वदायी भूमिका खेल्नु भएको सत्यतालाई नेपाली जनमानसले राम्ररी बुझिसकेको थियो । धाराप्रवाह सुस्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सक्ने वक्तृत्वकलाका धनी राजनेता जननेताको सान्निध्यता आम नेपालीले खोजिरहेको हुन्थ्यो । परिवर्तनलाई संस्थागत गर्दै थप उपलब्धीका लागि अगाडि बढ्ने संकल्पलाई शंखघोष गर्न छोटो अवधीमै जननेता देशका विभिन्न भागमा पुग्नु भएको थियो । यसै सन्दर्भमा २०४८ भदौको अन्तिमसाता सुदूरपश्चिमाञ्चलमा आयोजित समारोहमा जननेताले “नेपाली समाज चेतनामा पछौटे रहेको, शिक्षामा पछौटे रहेको र आधुनिक शिक्षाबाट पर्याप्त मात्रामा जागरूक हुन नपाएका कारणले यो संसार ईश्वरीय संरचना हो भन्ने खालका कुराहरू पनि त हाम्रो समाजमा व्यापक छन्” भन्ने अविकसित नेपाली समाजको यथार्थ प्रस्तुत गर्नुभएको थियो । उहाँले यसो भनेर नेपाली समाजमा शिक्षाको व्यापक बिस्तार हुन नसकेको र उपलब्ध शिक्षा पनि आधुनिक र वैज्ञानिक नभएको तर्फ सङ्केत गर्नुभएको हो । यो संसार ईश्वरले रचना गरेको हो भन्ने कुरा मान्ने हो भने समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण र दमन ठीकै छन् भन्ने कुरा मानिसले ठान्नेछ र शोषण कायम रहन्छ भन्ने कुरा सरल भाषामा सुदूरपश्चिमेलीलाई उहाँले बुझाउनु भएको थियो । शिक्षाको अभावमा सामाजिक कुरीति र कुसंस्कारका बिरूद्ध सङ्घर्ष गर्नबाट जनता विमुख हुन्छ भन्ने कुरा बुझाउनका लागि नै उहाँले सो कुरा बताउनु भएको हो । 

२०४८ सालमा भएको एक जनसभामा जननेताले सल्यानबासीहरूलाई प्रश्न गर्दै “तपाईंहरूमध्ये कति जनालाई थाहा छ ? म भन्न सक्दिनँ, तर सल्यान जिल्ला धेरै पिएचडी गरेका, इन्जिनियर, शिक्षित र विद्वानहरू जन्माउने जिल्ला पनि हो” भन्नुभयो । देशमा धेरै पढेलेखेका मान्छेहरू उत्पादन भएका छन् तर फेरि पनि यहाँ उन्नति र प्रगति भएको छ त ? छैन, त्यसैले शिक्षित जनशक्ति उत्पादन गर्नु मात्र होइन, उत्पादित जनशक्तिको उपयोगसहित सही दिशामा परिचालन गर्नु महत्वपूर्ण हुन्छ भन्ने विषयमा जननेताले स्पष्ट पार्नुभयो । 

तानाशाही व्यवस्थाका विरुद्ध कठोर जनसंघर्ष गरी २०४६ मा बहुदलीय राजनीतिक व्यवस्था स्थापनापछि गठित जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्ष दलको महत्वपूर्ण नेतृत्वको रूपमा जननेताले समसामयिक राजनीतिक, आर्थिक, सामाजिक साँस्कृतिक तथा शैक्षिक विषयमा महत्वपूर्ण विचार र दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो । जननिर्वाचित संसदलाई प्रभावकारी तुल्याएर संसद जनताप्रति पूर्णरूपले उत्तरदायी तुल्याउन उहाँ कटिबद्ध हुनहुन्थ्यो । संसदमा हुने क्रियाकलाप र छलफलमा गहिरो अभिरुचिसाथ प्रस्तुत हुनुहुने जननेताले संसदमा बजेटमाथि छलफलको क्रममा भाग लिँदै “विकाससम्बन्धी कुराहरू पनि जनतालाई गुमराहमा पार्नका निम्ति अगाडि सारिएको छ र जतिसुकै भने पनि कृषि, सिँचाई, शिक्षा, स्वास्थ्य र अरू यस्ता तमाम आर्थिक सेवाका क्षेत्रहरूमा हिजो पञ्चायतकालमा जे–जसरी विनियोजन गरिएको हुन्थ्यो, त्यसमा केही हेरफेर गरिएको छैन” भन्ने कुरा स्पष्टसँग राख्नुभएको थियो । यस अभिव्यक्तिमा निकट विगतमा सम्पन्न सफल जन आन्दोलनको भावनालाई कदर गर्न सत्तारुढ दलप्रति विशेष आग्रह झल्किएको पाइन्छ । २०४९ मा सम्पन्न संसदको अधिवेशनमा जननेताले “यतिबेला वास्तवमा यी मानवअधिकार, स्वतन्त्रता, स्वाधिनता र प्रजातन्त्रजस्ता कुराहरू केबल औपचारिकता जाहेर गर्ने शब्दका रूपमा मात्रै, केबल एउटा गहनाजस्तो मात्रै, कानमा लगाउने कुण्डल वा नाकमा लगाउने बुलाकीजस्तो मात्रै हुन पुगेका छन्” भन्दै त्यसबेलाको मानवअधिकार कार्यान्वयनको अवस्थाको यथार्थ चित्रण प्रस्तुत गर्नुभएको थियो । स्वतः स्पष्ट छ कि सबैको लागि शिक्षा पाउनु मानव अधिकारको एउटा महत्वपूर्ण मर्म हो । 

अजेय माक्र्सवादको सृजनात्मक प्रयोग गर्नुपर्ने मान्यताका पक्षपाति जननेताले जवजलाई लोकतान्त्रिकरूपमा संस्थागत गर्न १४ वटा विशेषताहरू अगाडि सार्नुभएको थियो । ती बहुआयामिक विशेषताहरूमा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानूनी शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, नेतृत्व र अधिनायकत्व, जनताको बहुदलीय जनवाद हुन् । लोकतन्त्रका सर्वस्वीकृत मूल्यहरूलाई अपनाएर सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास जागृत गर्न सफल जननेताले उक्त विशेषताहरूमा वर्गपक्षधरताका मूलभूत पक्षलाई आत्मसात गर्नुभएको छ । त्यसैले यो सिद्धान्त माक्र्सवाद सम्मत छ । क्रान्तिपछि मात्र निर्माणमा लाग्नु पर्छ भन्ने मान्यताका विपक्षमा उभिँदै उहाँले सकेसम्म प्रगतिशील सुधार गर्दै परिवर्तनकारी शक्तिले क्रान्तिअघि पनि जनताको सेवा गनुपर्दछ भन्ने मान्यता नेपाली समाजमा स्थापित गराउन सफल हुनु भयो । यस व्यवहारिक अनि प्रगतिशील दृष्टिकोणबाट क्रान्तिकारीहरूप्रति जनविश्वास बढ्यो र जनमतमा समेत अब्बल हुँदै आउने अवस्था उत्पन्न भयो । 

“शिक्षा मान्छेको दिमागलाई खुल्ला र तीक्ष्ण बनाउने, नैतिक मूल्य - मान्यता सिकाउने, दृष्टिकोण बनाउने र सामाजिक नैतिकता तथा शिष्टाचार सिकाउने सशक्त र महत्वपूर्ण माध्यम हो ।”   


जननेताले निरंकुश निर्दलीय व्यवस्थाकालमा र बहुदलीय व्यवस्था स्थापनापछि पनि शैक्षिक क्षेत्रको उन्नयन र रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण धारणाहरू राख्नु भयो । शिक्षाका सम्बन्धमा परिवर्तनकारीहरूको वैकल्पिक मान्यतालाई सुव्यवस्थित रूपमा प्रस्तुत गर्नुभयो । व्यापक सार्वजनिक छलफलसहित आन्तरिक अन्तरक्रिया गर्दै पार्टीको महाधिवेशनबाट जबजको शैक्षिक आयाम पारित भयो । जनवादी शिक्षा पद्धति दार्शनिक दृष्टिले माक्र्सवादबाट पोषित छ । यस्तो शिक्षा पद्धति जनवादी सामाजिक–आर्थिक प्रणालीलाई सुदृढ गर्ने आधेय हो । आधेयले आधारलाई नै भरथेक गर्दछ । आधेयले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट छ । सामाजिक क्रान्तिबाट आधारमा पूर्ण परिवर्तन आउना साथ आधेय पनि त्यही अनुकूलतातर्फ अघि बढ्छ । जबजको कार्यान्वयनका सन्दर्भमा यसले आत्मसात गरेको शिक्षा प्रणाली अपनाएर राष्ट्रिय पूँजीको विकास, औद्यागीकरण, कृषिको आधुनिकीकरणसहित जनतालाई शिक्षित र सुसंस्कृत तुल्याउँदै समाजवादको जग बसाल्ने अवसर आएको छ । जननेताले नेतृत्व गरेको कम्युनिष्ट पार्टी एकिकृत हुँदै देशको प्रमुख राजनीतिक दलको रूपमा स्थापित भएको र सरकार संचालन गरिरहेको छ । अब जनताको बहुदलीय जनवादमा शिक्षा प्रणालीको प्रारूप प्रस्तुत गर्दै जननेताले शिक्षा क्षेत्रमा रहेको सामन्ती तथा साम्राज्यवादी सबै प्रकारका कूप्रभावलाई पूर्णरुपले अन्त्य गरी प्रगतिशील शिक्षा प्रणाली लागू गर्ने मौका प्राप्त भएको छ । यस प्रसंगमा जननेताले प्रस्तुत गर्नुभएको जनवादी शिक्षा प्रणालीको महत्वपूर्ण अवधारणा यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनआएको छ । बदलिएको राजनीतिक संरचनामा नेतृत्वले सृजनात्मक ढंगले लागू पर्ने खाँचोलाई आत्मसात गर्नुपर्दछ । ती यसप्रकार छन्ः

  • शिक्षा पाउनु पत्येक व्यक्तिको मौलिक अधिकार हो । आधुनिक, प्रगतिशील र उच्चकोटीको गुणात्मक शिक्षाका निम्ति साधारण तथा व्यावसायिक र उच्च तथा विशिष्टीकृत शिक्षा प्रणाली एवम् योजनालाई पुनः गठित गरिनेछ । 
  • शिक्षा औपचारिक, अनौपचारिक दुबै प्रकारको हुनेछ ।
  • राष्ट्रव्यापी रूपमा पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक तहको शिक्षालाई क्रमिक रूपले अनिवार्य र निःशुल्क गराइने छ । माध्यमिक तहमा व्यवसायिक कार्यमूलक शिक्षालाई समावेश गरिने छ । 
  • धर्म, वर्ण, जात, लिङ्ग, पेशा, भाषा, आर्थिक तथा सामाजिक अवस्था आदिका आधारमा कुनै भेदभाव नराखी सबैलाई शिक्षाको समान अवसर प्रदान गरिने छ ।
  • पाठ्यपुस्तक तथा पाठ्यसामाग्री एवं आर्थिक–भौतिक सहयोगहरू प्रदान गरिने छ र विशेष रूपमा महिला, उत्पीडित जाति र आधारभूत वर्गलाई प्राथमिकता दिइने छ । 
  • अहिले प्राथमिक तहसम्म अभिभावक एवम् विद्यार्थीको रूचि र छनोटअनुसार मातृभाषा वा प्रचलित भाषामा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
  • वास्तविक प्रजातन्त्र र राष्ट्रिय स्वाधिनतालाई आत्मसात गर्ने र व्यवहारमा उतार्न सक्ने शिक्षा दिने थलोको रूपमा सबै शिक्षालयहरूलाई स्थापित र विकसित गरिने छ । 
  • शिक्षा क्षेत्रमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूको हितको संरक्षण एवम् सम्बद्र्धन गरी समाजमा सम्मानित व्यक्तित्वको रूपमा स्थापित गर्ने व्यवस्था मिलाइने छ । 
  • राष्ट्रियस्तरमा निर्माण गरिएको शिक्षा योजनाको अधिनमा रही बिना कुनै प्रशासनिक हस्तक्षेप प्राज्ञिक स्वतन्त्रताको उपभोग गर्ने ग्यारेन्टी गरिने छ ।
  • बिना कुनै भेदभाव उच्चशिक्षा हासिल गर्न सक्ने सबै शिक्षार्थीहरूलाई उच्चशिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिने छ । 
  • विभिन्न पेशामा सङ्लग्न प्राथमिक तथा माध्यमिक शिक्षा हासिल गर्न नसकेका कामदार (व्यक्ति) हरूलाई सम्बन्धित निकायमार्फत सन्ध्याकालिन, प्रातःकालिन वा पत्राचारको माध्यमद्वारा उपयुक्त शिक्षा दिने व्यवस्था मिलाइने छ ।
  • शिक्षाको योजना र नीति तय गर्ने, प्रभावकारी पठनपाठन एवं अनुसन्धान गर्ने, पाठ्यपुस्तक तथा पाठ्यसामग्री तयार गर्ने र शिक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनका रूपमा शिक्षााशास्त्रसम्बन्धी निकायलाई विशेष रूपमा सङ्गठित र व्यवस्थित गरिने छ ।
  • देशको आवश्यकताअनुसार शिक्षाको विविध पक्ष र विषयगत क्षेत्रसमेतलाई आधार मानी बहुविषय विद्यालयको तर्जुमा गरी उच्च शिक्षा प्रदान गर्ने व्यवस्था गरिने छ । 
  • महिला तथा उत्पीडित जातिको शिक्षाको विशेष कार्यक्रम निर्माण गरी उनीहरूलाई शिक्षा दिने व्यवस्था गरिने छ । उच्च शिक्षामा महिलाहरूलाई विशेष सुविधा र प्रोत्साहन दिने व्यवस्था गरिने छ । 
  • शिक्षण क्षेत्रका अद्यावधिक ज्ञान र सीपबारे अवगत गराई कार्यक्षमता र दक्षतामा बृद्धि गरी शिक्षकहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि आवश्यकता अनुसार पुनर्ताजगी तालिमको व्यवस्था गरिने छ । 

जननेता मदन भण्डारी शिक्षालाई समाजको विकास र अग्रगतिमा प्रयोग गर्नको निम्ति व्यापक सम्भावनाहरूलाई उजागर गर्न सक्ने, प्रत्येक व्यक्तिमा अन्तरनिहित सामथ्र्य र प्रतिभा प्रस्फुटन गराउन सक्ने, राष्ट्रिय एकताको भावनालाई मुखरित गर्न सक्ने, वैज्ञानिक, जनमुखी, व्यावसायिक र रोजगारमूलक शिक्षाको ढोका खोल्ने तथा प्रगतिशील, राष्ट्रिय र जनवादी संस्कृति निर्माणको आधार बनाउन सक्ने बनाउनुपर्छ भन्नेमा सङ्कल्पित हुनुहुन्थ्यो भन्ने कुरा उहाँका शिक्षासम्बन्धी अवधारणाहरूबाट स्पष्ट देखिन्छ । उहाँका यी धारणाबाट वैकल्पिक शिक्षा प्रणालीबारे उहाँको सुस्पष्ट दृष्टिकोण रहेको थियो भन्ने कुरा स्पष्ट छ । राष्ट्रिय शिक्षा नीति २०७६ ले जननेताका शिक्षासम्बन्धी अवधारणाहरूलाई आत्मसात गर्दै कार्यान्वयन तहमा जानेछन् भन्ने शुभेच्छासहित !         (लेखक राष्ट्रपतिका प्रमुख स्वकीय सचिव हुनुहुन्छ)