काठमाडौं, २९ माघ - पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले भ्रष्टाचार मुद्दाको अभियुक्त बनाउनुपर्ने मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपाल र भट्टराई पनि बालुवाटारको ललिता निवासको जग्गालाई ब्यक्तिका नाममा नामसारी गर्ने प्रकरणमा संलग्न भएकाले भ्रष्टाचार मुद्दा लगाउनुपर्ने रिट दायरकर्ताको माग छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा लगाउनका लागि आदेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । मन्त्रिपरिषदले गरेको निर्णयमा प्रधानमन्त्री नै मुख्य जिम्मेवार हुने भएकाले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि अभियुक्त बनाइनुपर्ने न्यौपानेको माग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार १ सय ७५ जनाविरुद्ध ललिता निवासको जग्गा व्यक्तिका नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा  मुद्दा दायर गरेको थियो ।

अख्तियारले १ पूर्वउपप्रधानमन्त्री सहित ३ जना मन्त्रीलाई पनि उक्त प्रकरणमा प्रतिवादी बनाएको छ । तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा पूर्वधारमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्रीहरु डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने निर्णय गराउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको अभियोगमा अख्तियारले प्रतिवादी बनाएको छ ।

मन्त्रिपरिषदबाट भएको निर्णयलाई नीतिगत निर्णय को रुपमा अथ्र्याएर अख्तियारले नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।