अमेरिका, २ असोज -  अमेरिकी गायिका म्याडोनाले आफ्नो जिन्दगी र करिअरमाथि बन्न लागेको फिल्मको निर्देशन गर्न तयार भएकी छन् ।

डियाब्लो कोडीको लेखन रहेको फिल्मको प्रमोसनका लागि उनी अहिले सामाजिक सञ्जालमा सक्रिय भएकी छन् । डियाब्लो कोडी अस्कार अवार्डबाट सम्मानित लेखक हुन् । ‘डब्ल्यू ई’ फिल्मको निर्देशन गरिसकेकी उनको यो दोस्रो निर्देशन हो । 

फिल्ममा न्युयोर्कको सुकुम्बासी बस्तीदेखि ‘ग्लोबल स्टारडम’ सम्मको यात्रा समेटिने बताइएको छ । फिल्म मूलतः संगीतमा आधारित भएर निर्माण हुनेछ । फिल्ममा आफ्नो जीवनमा धेरै नभनिएका र उत्प्रेरणा दिने कथा रहेको म्याडोनाले बताएकी छन् । 

उनलाई आफ्नो पिढीको सबैभन्दा प्रभावशाली गायिकामध्ये एक मान्ने गरिन्छ । उनको करिअर पाँच दशक लामो छ । सोलो टूरिङका कारण उनी दुनियाँमा सबैभन्दा धेरै कमाई गर्ने गायिकामध्ये एक हुन् ।  सन् १९८४ मा उनको म्यूजिक एल्बम ‘लाइक ए भर्जिन’ ले धूम मच्चाएको थियो । आलिसान जिन्दगी बाँच्ने उनले दुई विवाह गरेकी छन् । तर, दुवै विवाह लामो समय टिक्न सकेन ।