मणिराज उपाध्यायलाई शंकर लामिछानेले लेखेको त्यो चिठ्ठी 


Thursday, 12 Jan, 2017 12:13 PM

मणि दाजु !
तपाईँले भन्नुभएको छ, समाजको विशेषांकको निमित्त म केही लेख दिउँ–खास गरी पत्रकारिता र त्यो पनि तपाईंको पत्रिका ‘समाज’ कै समालोचना गरेर । करीब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पलटाइरहें र सोचिरहें क्यै त लेख्नै पर्यो। तपाईँ एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा ।


त, यो दुई घण्टा म सोचिरहें। र केही पनि सोच्न सकिनँ। कम से कम छाप्ने लायक त केही पनि सोच्न सकिनँ। तपाईँ भन्नुहोला छाप्ने लायक छुट्टाउने, अधिकार त सम्पादकमाथि पो छ। मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थचाहिं हो, त्यस्तो विषय जो मानिसले पढ्न मन पराउँछ। अब तपाईँकै पत्रिका लिउँ न। मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन् जसले त्यसमा प्रमुखता पाएका छन्। किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईँको पत्रिका कहिले नै बन्द भै सक्थ्यो)

 

म आजकल अनौठा पुस्तकहरू पढिरहेछु। स्टीफन ज्वाइनको द वर्ल्ड अफ यस्टर डे, अल्वेयर कामूको मीथ अफ सीसीफस, र चित्तरञ्जन नेपालीको भीमसेन थापा र तत्कालीन नेपाल। यसैबाट तपाईं बुझनु हुनेछ म अलि अध्ययन गर्न खोजिरहेछु मानिसको मृत्युपट्टिको भावना। मृत्युको अध्ययन गर्ना निमित्त आरम्भ गर्ने बिन्दु हो जीवन। कारण मृत्युको जन्म जीवनको जन्म साथै भएको हुन्छ। त्यो क्षण जब म जन्में, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन 
त ? त, आज जीवनकै कुरा गरौं र मृत्युलाई चिन्ने प्रयास गरौं।


म अहिले पसलमा बसिरहेछु। पानी परिरहेछ झमझम। भर्खरै राजदूतहरू र मन्त्रीहरूको मोटरको तांती फर्क्यो– नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा ।
सडक पारीपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ। एउटा मानिस, म त्यसलाई चिन्दछु, तर नाम जान्दिन, जो दिनभरी त खसी बोका बेची हिंड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ, हातमा उसको थाली छ, चन्दन अक्षेता र फूल अबीरले भरेको। एउटा  कुकुर आंग चिलाएकोले पेटीको भित्तामा आंग घस्रिरहेछ। एउटी कैली गाई गइन्, कसैले उनको निधारमा पूजा गरेको छ। केटीहरू छाता ओढेर किताब च्यापी गइरहेछन्। एउटा केटो बर्साती ओढी स्कूल जान बस पर्खिरहेछ। एउटा मानिस पिउनबूकमा खातका खात चिठ्ठी च्यापेर दोबाटोमा कता नै जाउँ पहिलेको भावमा अल्मलिरहेछ।


र, मलाई एउटा लेख लेख्नु छ। यस्तो लेख जसले नेपाली साहित्यको उत्थान गरोस्, यस्तो लेख जसले मणि दाजुको ‘समाज’को स्तर नगिरावोस्, यस्तो लेख जुन पढ्दा नेपाली जनता रमाओस्। तर मणि दाजु, म अल्मलिरहेछु, मेरो मन स्थिर छैन, सबै कुरा जो आँखाअगाडि घटिरहेछन् तिनलाई म हेरिरहेछु, र बुझन नसक्ने छु।
म बुझ्दिनँ त्यो जुम्रा जन्म्यो नै किन जब उसलाई लंगौटीकै कापमा दुईवटा औंलाका नङले पिसिएर मर्नु थियो ? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसीबोकोको ज्यान पनि लिन्छ ? त्यो कुकुर लूतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ ? मानिस गाईलाई पूजा गर्छ भने उसको बाछीको भाग खोसेर किन दूध खान्छ फेरि ? त्यो तरुनी केटी जो अग्रवालको थ्योरी अफ इकोनोमिक्स बोकेर कलेज जाँदैछ, किन त्यो पढ्छे जब उसलाई विधवा हुनुपर्ने छ, सायद पोइल जानुपर्ने छ, शायद वेश्यावृत्ति अपनाउनुपर्ने छ शायद ...। त्यो बच्चा के को आशामा अरूको छापेको विश्वासहरू बोकेर स्कूल जाँदै छ जब एकदिन उसलाई रानी पोखरीमा डुब्नु नै छ, व्यर्थ बनी बेकार बनी, दुई तीन छोरा छोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन् अरू केटाहरूको प्रतिस्पर्धी बनेर ? त्यो पिउन किन ओसारिरहेछ खामबन्दी चिठ्ठीहरू, जब उसलाई थाहा छैन पत्रमा के छन् ? कसैको खोसुवापूर्जी, कसैको बिबाहको निमन्त्रण, कसैको मृत्यूको समाचार ?

 

तपाईँलाई किन साँढेमाथि सम्पादकीय लेखें भन्ने पनि थाहा छैन। तपाईँलाई किन भीमसेन थापामाथि सम्पादकीय लेखिन भन्ने पनि थाहा छैन, तपाईँलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन, तपाईँलाई किन सम्पादकीय लेख्दिन भन्ने पनि थाहा छैन। अझ, मणि दाजु, तपाईं किन सम्पादक हुनुभयो, त्यो पनि थाहा छैन तपाईँलाई, तपाईँ सम्पादक नभए के हुनुहुन्थ्यो त्यो पनि थाहा छैन तपाईँलाई।

 

बुझनु भो मणि दाजु, यी जम्मै चरित्र तपाईँका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन्। ती आज ३ भाद्र २०१९ साल बिहान दस बजे मेरा निमित्त बनेका हेडलाईनहरू हुन्। यिनको महत्व, तर, तपाईलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले केही गरी ती भाक्लाक भुक्लुक सडकमा मरुन्, या रानीपोखरीमा हाम्फालुन्, या मोटरले किल्चिउन्, तपाईं भातको गाँस छाडेर प्रेसतिर भाग्नुहुनेछ। तपाईँको कमल कागजमा दौडिनेछ, तपाईँको कम्पोजिटरले औलामा चाल्नेछ, तपाईँको ट्रेडलले काम पाउने छ, पत्रिका छप्नेछ, र बिक्ने छ पाँच पैसामा।


ढ्याक्क.. ।

ढ्याक्क .. ।

ढ्याक्क .. ।

ढ्याक्क ... ।


प्रत्येकपल्ट एक इम्प्रेशन छः मृत्यु। यो यत्तिका जनाको जुम्रा, पुजारी, कुकुर, केटी, केटा र पिउन । छ जनाको जीवनको मूल्य सिर्फ पाँच पैसामा बिक्नेछ ? यिनको मृत्युको समाचार बोकेर अखबारका पानाहरू छापिनेछन्, सड्नेछन्, बिलाउँनेछन् खतम हुनेछन्।


मणि दाजु, के कहिले यस्तो हुन सक्दैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नुहोस् ? के यस्तो हुन सक्दैन। तपाई भीमसेन थापाको आत्महत्याको कारण छाप्न सक्नुहोस् ? के यस्तो हुँदैन, कहिले त साँढे र वर्षाको सम्पादकीय त्यागेर तपाईँ आफ्नो सच्चा कथन भन्न सक्नुहोस् ? के यस्तो हुन सक्दैन, कहिले आफैलाई चिरेर आफ्नु महत्व छाप्नुहोस् ?


तपाईँ आज सोच्नुहुँदो हो– पत्रिका चलाएर तपाईँ देश र जनताको सेवा गर्दै हुनुहुन्छ। तपाईँ भन्ठान्नु हुँदो हो– नेपाली इतिहासमा तपाईँको स्थान छ, सदा रहिरहनेछ, तपाईँको देन पत्रकारिता जगतले कहिले पनि भूल्न सक्नैछैन होला। मूर्ख दाजु बेकार हो तपाईँको नाम अखबारले त्यहाँ छापेको छ सँधैं जहाँ समाचारलाई एक कालो धर्काले तपाईँबाट सीमा रेखा छुट्ट्याएको हुन्छ। थाहा छ तपाईँलाई, तपाईँको अखबारले रोजै कति कसिंगर र गुहु झयालबाट चोकमा मिल्काउँछ ? थाहा छ तपाईँलाई ...? थाहा छ तपाईँलाईं ..? थाहा छ तपाईँलाई ? तपाईँलाई केही थाहा छैन।

 

तपाईँलाई किन साँढेमाथि सम्पादकीय लेखें भन्ने पनि थाहा छैन। तपाईँलाई किन भीमसेन थापामाथि सम्पादकीय लेखिन भन्ने पनि थाहा छैन, तपाईँलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन, तपाईँलाई किन सम्पादकीय लेख्दिन भन्ने पनि थाहा छैन। अझ, मणि दाजु, तपाईं किन सम्पादक हुनुभयो, त्यो पनि थाहा छैन तपाईँलाई, तपाईँ सम्पादक नभए के हुनुहुन्थ्यो त्यो पनि थाहा छैन तपाईँलाई।

 

तपाईँको पत्रिका त उ त्यो माग्नेको लँगौटी हो, जसका कापमा रोज ट्रेडलका औँलाले जुम्रा मारिरहेछन्। म सायद त्यो लुत्याहा कुकुर हुँ, तपाईँ सायद निधारमा टीका लाएको त्यो गाई हो। अथवा तपाईँ कुकुर हो, म गाई हुँ अथवा म जुम्रा, तपाईँ नङ्ग्रा अथवा तपाईँ पूजारी म बोका अथवा तपाईँ पिउन म चिट्ठी, अथवा तपाईँ केटी म केटा। तपाईँ जे पनि हो, म जे पनि हुँ।


तपाईँ र म जन्मिनुअघि यसो सोचिहेर्नुस् त, कत्ति आशा र विश्वास र हिम्मत संसारमा जन्म्यो। खै, त्यो आज खै ? तपाईँ र म जन्मिनुअघि कति शहीद र कति गद्दार जन्मे, खै ती आज खै ? अमरसिंहको बारेको सत्य के ? इतिहासको तथ्य खै ? सत्य खै, सत्यको सत्य खै ? आज तपाईँ भन्न सक्नुहुन्छ– इतिहासमा कहाँनिर कल्पना शुरु भएको छ, कहाँ वास्तविकता हराएको छ ? भन्न सक्नुहुन्छ, तपाईँको अखबारमा छपेका आत्महत्याका खबरको वास्तविकता के थियो ? किन रामेचा या कृष्णचा या क खचाले आफूलाई मार्नुअघि छोरा छोरीलाई र स्वास्नीलाई मार्यो ? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे ?


मणि दाजु, बेकार छ। हामी सदा नै आफूलाई छोप्न खोज्छौं। हामी अर्काको मृत्युको समाचारबाट आफ्नु मृत्युको समाचार छोप्न खोज्छौं। हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौं। हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौं। म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नु औंलामा लागेको बोकाको रगतको रङ्गलाई अबीरले छोप्न खोज्छु। तपाईँ जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ। मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ। शंकर लामिछानेलाई पति, पिता, व्यापारी शंकर लामिछानेले छोपिरहेछ। तपाईँ आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दैछु। तपाईँ र म नमरिकन के खबर लायकका हुँदैनौं ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ, हामी स्वयं त्यस बारे सोच्न लेख्न पनि चाहन्नौं ? यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त ?

 

मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु ? कसरी म साहित्यको सृजना गर्न सक्छु ? कसरी म नेपाल आमाको सेवा गर्न सक्छु ? कसरी म राष्ट्रियताको नारा लगाउन सक्दछु ?– जब मेरो नारा, मेरो भविष्य, मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवा पुर्जी, मेरो प्रमोशन, मेरो निमंत्रण, मेरो मृत्यु खामबन्दी छ ? जब एउटा पिउनले त्यसलाई ओसारिरहेछ, एउटा यस्तो पिउन जसलाई खामबन्दी चिठ्ठीको मजबुन थाहा छैन।


भो, मणि दाजू, विशेषांक निकाल्ने आवश्यकता नै के छ र ? तपाईँले विशेषांक निकाल्ने अठोट नै गर्नुभएको छ भने, म के भन्न सक्छु र यत्ति हो– यस पटक म लेख दिन असमर्थ छु। शायद अर्को पटक तपाईँको पत्रिकाको हेडलाईनमा आउनबाट उम्किएँ भने  शायद अर्को वर्ष। कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला।


तपाईँको भाइ,

शंकर लामिछाने 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top