काठमाडौं, १७ कात्तिक– भारतीय राजदूत मञ्जिभसिंह पुरी रामायण सर्किटको आश्वासन बाँड्दै एक साताका लागि जनकपुर उत्रिएका छन् । नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’का स्टेशन प्रमुख विवेक जोहरी समेत लागेर प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा राजपासँग कांग्रेसको चुनावी तालमेल गर्ने प्रयास असफल भएपछि पुरी आफैं मैदानमा उत्रिने संकेत मिलेको हो । 

जनकपुरमा रहंदा पुरीले स्थानीय ब्यापारी र बुद्धिजीवी समुदायसँग भेटेर औपचारिक रुपमा रामयाण सर्किटको आश्वासन बाँड्ने तयारी छ भने त्यो आश्वासन सँगै उनले कांग्रेस उम्मेदवार बिमलेन्द्र निधिका पक्षमा चुनावी माहौल तयार गर्न भूमिका खेल्नेछन् । 

यसअघि धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि कांग्रेसको तर्फबाट निधिको उम्मेदवारी तय भएपछि प्रधानमन्त्री देउवाले राजपासँग तालमेलको प्रयास गरेका थिए । उक्त क्षेत्रमा राजपाबाट राजेन्द्र महतोलाई नजुधाउन देउवाले अनुरोध गरे पनि महतोले मानेनन् । त्यसपछि देउवाकै अनुरोधमा रअका नेपाल स्टेशन प्रमुख जोहरी सहितको बैठक बालुवाटारमै बसालेर राजपा नेताहरुलाई कन्भिन्स गर्ने प्रयास गरियो । तर, राजपाका अरु नेता गए पनि महतो उक्त बैठकमा गएनन् । कात्तिक १६ गते निधि र महतो दुवैले उक्त क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट माओवादी नेता रामसिंह यादवको उम्मेदवारी छ भने हत्या अभियोगमा जेल परेका पूर्व सांसद संजय साहकी श्रीमती रंगीला साहले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । 

चारपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको उक्त निर्वाचन क्षेत्रमा निधिको भविश्य संकटमा पर्ने देखेपछि स्थानीय ब्यापारी र बुद्धिजीवीलाई निधिको पक्षमा विश्वासमा लिन भारतीय राजदूत एक साता जनकपुर जान लागेका हुन् । कांग्रेस र मधेस केन्द्रित तालमेलका लागि वार्तामा बसिरहेकै बेला भारतीय दूतावासका विभिन्न च्यानल मार्फत कांग्रेस उम्मेदवारहरु निधि, अमरेश सिंह, प्रदीप गिरी, फमुल्लाह मन्सुर लगायतलाई जसरी पनि जित्ने अवस्था निर्माण गर्न राजपा र फोरमलाई दवाव दिइएको थियो । 

भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला नाकाबन्दीको पक्षमा सक्रिय प्रतिरक्षा गर्न कांग्रेसलाई उभ्याएका कारण निधि भारतीय प्रियपात्र मानिन्छन् । उनीसँगै मिनेन्द्र रिजाल, फर्मुल्लाह मन्सुर, अमरेश सिंह, प्रदीप गिरी जस्ता नेताहरुले नाकाबन्दी अझ कसिलो बनाउनु पर्ने सुझाव दिएको भारतीय राज्यसभाका सांसद मणिशंकर ऐयरले यसअघि नै खुलासा गरिसकेका छन् ।