काठमाडौं, २ फागुन - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ब्यक्तिको हेरफेरले संस्थाको कार्यसम्पादनमा समस्या आउने अवस्थाको अन्त्य गरिनुपर्नेमा  जोड दिनुभएको छ ।  

आज राष्ट्रिय ट्रमा सेन्टरको सभा हलमा बसेको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान सभाको  २५ औ बैठकमा सम्बोधन गर्दै मन्त्री ढकालले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, अस्पताल र प्रतिष्ठानका आ–आफनै समस्या छन तर प्रतिष्ठानहरुमा आर्थिक अनियमतताका समस्या धेरै देखिएका छन् । उहाँले राम्रो पक्षलाई समेटेर अगाडि बढनुपर्ने बताउनुभएको छ । 

विगत २ वर्ष देखी बस्न नसकेको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको बैठकमा अध्यक्षता  गर्नु भएका मन्त्री ढकालको उपस्थितिमा १७ वटा विषयवस्तुहरुको प्रस्तुतीकरण र छलफलमा केन्द्रित रही १४ वटा एजेण्डा पारित गरेको छ, भने बाकीं एजेण्डाबारे १५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिनु भएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराल, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका प्रा. डा. देव नारायण साह, रजिष्ट्रार प्रा. प्रमिला देवान र  चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान सभाका सदस्यहरु उपस्थिति थियो ।