काठमाडौं, ३० जेठ–  गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने सात महिना म्याद थपिएको छ ।

आयोजनाले ठेकेदारको म्याद थप्ने मात्र होइन, उसको दाबीअनुसार क्षतिपूर्ति दिने समेत तयारी  गरेको बुझिएको छ । भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो । 

सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल थालेको बताइन्छ । समाचार स्रोतका अनुसार  छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको  छ ।