कैलाली, २९ भदौ – कैलालीको जोशीपुर गाउँपालिका १ का व्यापारी रामप्रसाद ओझ घरमै मृत अवस्थामा फेला परेका छन् । 

बिहीबार राति घरमा एक्लै बसेका ओझा शुक्रबार बिहान ९ बजेसम्म पसल खोल्न नआएपछि स्थानीय घरमै गएर हेर्दा ओझा मृत अवस्थामा फेला परेका थिए । 
बिहान सबेरै खुल्ने पसल ९ बजेसम्म पनि नखुलेपछि घरमा गएर हेर्दा ओझा मृत्य अवस्थामा भेटिएको स्थानीयहरुले जानकारी दिए । स्थानियहरुले घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको बताए । 

ओझाकी श्रीमती दुई छोरासहित तीज मनाउन माइत गएको समयमा ३७ वर्षीय ओझा घरमा एक्लै बसेका र बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।  ओझाको  मृत्यु शंकास्पद भएका र त्यस विषयमा छानबिन भईरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनु भयो । 
ओझाको हत्या भएको भन्दै जोशीपुर बजारका व्यापारीले विरोध स्वरुप आज दिउसो बजार बन्द गरेका छन् ।