काठमाडौं, १६ मंसिर – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । 

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको ०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले आफुसँग  गरिएको कार्यसम्पादन सम्झौताअनुसार काम नगरे जिम्मेवारीबाट हटाउने चेतावनीसमेत दिनुभएको छ । 

‘मैले प्रधानमन्त्रीज्युसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यही अनुसार काम गर्छु, सचिवज्युले मसँग गर्नुभएको छ । त्यस्तै सचिवज्युसँग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गनुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मुल्याङकन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारी पनि सोचौं ।’ मन्त्री पुनले बैठकमा भन्नुभयो । 

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहिअनुसार काम गर्न पनि निर्देशन दिनुभयो ।  उहाँले भन्नुभयो ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र  योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन ।’ यसलाई गम्भिरतापुर्वक लिनुहोस । ’


उहाँले बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्नसमेत  चेतावनी दिनुभयो । 

राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भिर भएर काम गर्न र  फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनले निर्देशन दिनुभयो ।  अन्र्थमन्त्रालय र अरु निकायलाई दोष देखाएर आफु पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैले गर्नुपर्ने धारणा राख्नुभयो । 

‘तपाईहरुले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरुको सोझै सचिव, महानिर्देशकहरुले नै निगरानी र सहजीकरण गर्नुपर्यो, आफै फिल्डमा गएर भएपनि समस्याको समाधान गर्नुपर्यो । अहिले पनि अरुलाई मात्र दोष दिएर उम्कने काम राम्रो होईन ।’ उहाँले भन्नुभयो ।  

समीक्षा बैठकमा  मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, बैकल्पिक उर्जा प्रबर्धन केन्द्र  र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुहरुले प्रस्तुतिकरण गर्नुभएको थियो ।