काठमाडौं, २० मंसिर– नम्रता श्रेष्ठ यसबर्षको मिस नेपाल वर्ल्ड २०२० बन्न सफल हुनुभएको छ । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै  श्रेष्ठले मिस वर्ल्डको ताज जित्न सफल हुनुभएको हो । उहाँ पेशाले किनरगार्डेन टिचर हुनुहुन्छ । उहाँलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की बिजेता अनुष्का श्रेष्ठले ताज पहिराउनुभएको थियो । अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । नम्रताले नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको र त्यसैका आधारमा संसारलाई जित्नसकिने जवाफ दिनुभएको थियो ।

यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाउनुभएको छ भने सन्ध्या शर्माले  मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिनुभएको छ । त्यस्तै मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाउनुभएको छ ।