काठमाडौं, २८ भदौ– काठमाडौं उपत्यकामा तीन वर्षमा मोनोरेल सञ्चालनमा आउने भएको छ । मोनोरेल सञ्चालन गर्नेबारे काठमाडौं ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) बीच प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा हस्ताक्षर भएको छ । मेयरद्वय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच बिहीबार हस्ताक्षर भएको हो ।

१ खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेलका लागि आवश्यक संरचना ३ वर्षमा निर्माण गरिने सम्झौता भएको हो । मोनोरेल चीनको कम्पनीले बनाएर केही समय चलाएर हस्तान्तरण गर्ने सहमति भएको छ ।

 तीन चरणमा निर्माण गर्नेगरी सम्झौता भएको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

मोनोरेलका लागि ६ महिनामा डिपिआर बन्नेछ भने त्यसको ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिको ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलोमिटर गतिमा गुड्नेछ । जुन एक पटकमा ३ हजार यात्रु बोक्ने क्षमताको रहनेछ ।

काठमाडौंको चक्रपथमा मोनोरेल चलाउन चीनको सीआरसीसी कम्पनीसँग काठमाडौं र ललितपुर महानगरपालिका बीच जेठ ११ गते प्रारम्भिक अध्ययनका लागि सम्झौता गरेको थियो । ६ महिना भित्र प्रारम्भिक अध्ययन तयार गरिसक्ने बताएको सीआरसीसीले ३ प्रारम्भिक अध्ययन सकेर प्रतिवेदन बुझाइसकेको छ । 
प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि दुवै महानगरपालिकाका इन्जिनियर, नेपाल सरकारका पदाधिकारी र मोनोरेल विज्ञहरुसँग थप छलफल गरी अबको एक महिनामा उक्त कम्पनीलाई आवश्यक पूर्वाधारसहित मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन स्वीकृति दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो । 

“स्वीकृति पाएको ३ देखि ६ महिनाभित्रमा डीपीआर तयार हुनेछ,” बिहीबार काठमाडौंमा कम्पनीले तयार गरेको प्रतिवेदन दुई नगरपालिकालाई बुझाउने क्रममा इन्जिनियर पोखरेलले भने, “मोनोरेल सञ्चालनको प्रारम्भिक अध्ययनले भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिक रुपमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न सकिने देखिएको छ । कम्पनीको प्रस्तावलाई दुवै महानगरपालिका प्रमुखबाट सकारात्मक प्रतिक्रिया पाएका छौं ।” 

प्रारम्भिक अध्ययन प्रतिवेदले मोनोरेल सञ्चालनका लागि १ सय १६ बिलियन (एक खर्ब १६ अर्ब रुपैयाँ) लागत देखाएको छ । इपीसीएफ मोडलबाट सञ्चालन हुने मोनोरेल २ वा ५ वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सीआरसीसीले सञ्चालन गर्ने छ । यस अवधिमा यी दुई महानगरपालिकाले कम्पनीलाई वार्षिक रुपमा निश्चित रकम बुझाउने छन् । 

चक्रपथको सडकमाथिको कुल २७.५ किलो मिटरमा २१ स्थानमा यात्रु चढाउने, ओराल्ने स्टेशन रहने गरी मोनोरेल सञ्चालन हुने छ ।  जसलाई कोटेश्वर–कलङ्की, कलङ्की–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा निर्माण गरिने छ ।