वीरगञ्ज, २४ मंसिर - वीरगञ्ज महानगरपालिका-१२ शिवनगर नयाँ टोलमा एक घरमा बन्द कोठाभित्र कुहिएको अवस्थामा आमा-छोरीको शव फेला परेको छ ।

सोमबार साँझ मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका-६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरीको शव कुहिएको अवस्थामा फेला परेको हो ।

घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरीले ढोका फोड्दा कुहिएको अवस्थामा शव फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरीको हत्या गरेर भागेको हुन सक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ । दुबै जनाको शव पोस्टमार्टमका लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।