चितवन, १ फागुन– कार्यभार सम्हालेको दुई दिनमै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल आफ्नो क्याविनेटका मन्त्रीहरुलाई लिएर मुग्लिन–नारायणगढ सडकको अनुगमनमा निस्केका छन् । आफ्नो क्याविनेटका दुई मन्त्रीहरु केशव स्थापित र सालिकराम जमकटेललाई लिएर पौडेल मंगलवार निर्माण भइरहेको सडक अनुगमनमा निस्केका हुन् । 

पछिल्लो समय पूर्वपश्चिम राजमार्गलाई राजधानी काठमाडौंसँग जोड्ने सो सडक मर्मत सम्भार भइरहेको छ । सडक मर्मत ढिलाई भएको भन्दै जनआवाज उठेको पनि धेरै भएको थियो । मुख्यमन्त्री नियुक्त भएको पर्सिपल्टै मुख्यमन्त्री पौडेल सडक निर्माण अनुगमनमा निस्केका हुन् । 

उनले सडक निर्माणमा संलग्न मजदुर, कर्मचारी, ठेकेदार तथा स्थानीयसँग भेटेर सोधपुछ गरेका थिए । निर्माण कार्य भइरहेका ठाउँमा मुख्यमन्त्री पौडेल सम्बन्धित पक्षलाई भेट्दै निर्देशन दिंदै हिंडेका थिए ।