मुकुन्दराज दहाल

राजनीतिले राज्य सञ्चालन गर्दछ । राज्यले समाजलाई मार्गदर्शन गरिरहेको हुन्छ । समाजले मानिसहरुलाई गोलबद्ध बनाउँदछ । समाजमा स्वतन्त्रता, समानता, स्वच्छता, न्याय एवं सामाजिक न्याय व्यवस्था कायम गर्ने दायित्व राज्यको हुन्छ । राज्य र समाजलाई स्वच्छ र शुद्ध राख्ने दायित्व  राजनीतिकै हुन्छ । तसर्थ पार्टी, राज्य र समाजलाई सफा र शुद्ध बनाउन राजनीतिको शीर शुद्ध हुनसकेमात्र तिनका तिर सफा हुन्छन् । जसरी नदीको शीर शुद्ध भएमा तिरसम्म सफा भएर स्वस्थ्यमैत्री हुन्छ । 

राजनीति सबै नीतिहरुको मूलनीति भएकोले राजनीतिक पार्टीहरु शीरदेखि तिरसम्म शुद्ध र सफा हुनैपर्दछ । राजनीतिक पार्टीहरु शुद्ध र सफा हुन राजनीतिक दलका कार्यकर्ताहरु शुद्ध र सफा हुनु जरुरी हुन्छ । कार्यकर्ताहरु शुद्ध र सफा हुन राजनीतिक दलका नेताहरु शुद्ध र सफा हुनु अनिवार्य छ । राजनीतिक दलका नेताहरु सफा र शुद्ध हुन दलका सबै तहका मुख्य नेताहरु शुद्ध र सफा हुनु अपरिहार्य हुन्छ । राजनीतिक नेताहरु सफा र शुद्ध हुन उनीहरुले आफ्नो आदर्श जीवन, पार्टीको सिद्धान्त र नीति जीवनशैलीमा रुपान्तरण गर्न सक्षम हुनुपर्दछ । नेतृत्वमा अविचल निष्ठा कायम गर्न दृढ इच्छाशक्तिबाट निरन्तर स्वचालित आत्मप्रतिबद्धता हुनुपर्दछ । दृढ इच्छाशक्तिको निरन्तर अभ्यासबाट आफूलाई उदाहरणीय पात्रका रुपमा प्रस्तुत गर्न सक्नुपर्दछ । दृढ इच्छाशक्तिको अभ्यास गर्न सानोतिनो आँट, धैर्यता र साहसले पुग्दैन । त्यसलाई अधिकतम स्तरमा विकास गर्नुपर्दछ । राजनीतिलाई शुद्ध र सफा बनाउन उदाहरणीय दलीय र अन्तरदलीय प्रतिस्पर्धा निरन्तर हुनुपर्दछ । उदाहरणीय बन्न बाह्य पक्ष नभई आन्तरिक पक्ष निर्णायक हुन्छ भन्ने दार्शनिक चेत एवं नेता र कार्यकर्ताको आर्थिक परनिर्भरताले राजनीति भ्रष्टीकरण भएको यथार्थलाई आत्मसात गर्नसके ओली–दाहाले नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टीले पार्टी र राज्यलाई शीरदेखि तिरसम्म शुद्ध र सफा राख्ने अबको महाअभियानमा उल्लेखनीय प्रगति हासिल हुनसक्नेछ । 

थुप्रै उपलब्धीका बाबजूद छयालिस ÷ सतचालिस सालपछि राजनीतिलाई शुद्ध र सफा बनाउने दायित्व बोकेका दलका सीमित नेता र कार्यकर्तामा देखिएका विकृति झाँङ्दिै जाँदा अहिले सफा र शुद्धहरु अल्पमतमा पर्ने अवस्था देखिदैछ । त्यो बढ्दै अहिले ऐंजेरुजस्तो भएको छ । समग्र क्षेत्रमा देखिएका विकृतिहरुलाई नियन्त्रणमा लिएर समाज, संस्था, राज्यका अङ्गहरुलाई शुद्ध र सफा राख्न सक्ने कि नसक्ने द्विविधाजनक अवस्था छ । नेतृत्व गर्नेहरुको आचरण र व्यवहारलाई शुद्ध र सफा राख्नसक्ने राज्यको सामथ्र्य गुम्ने होकी भन्ने चिन्ता, निराशा र आक्रोश क्रमशः बढ्दो छ । नेपाली समाजमा भ्रष्ट प्रवृत्ति पराकाष्टातर्फ बेलगाम लम्किरहेको छ । यसमा लगाम लगाउँदै नेपाललाई समृद्ध बनाउन कमिशन, घुस र भ्रष्टाचारमुक्त बनाउने चुनौती अब नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र सोही पार्टीको नेतृत्वको सरकारमा आउँदैछ । यसमा खरो उत्रनु ओली–नेतृत्वमा बन्ने एकीकृत नेपाल कम्युनिस्ट पार्टीको पहिलो पुस्ताको अन्तिम तर सर्वाधिक महत्वपूर्ण परीक्षा हुँदैछ । र नेता द्वयलाई एकसाथ राजनेतामा रुपान्तरित गर्ने सुनौलो र दुर्लभ अवसर पनि ।

राजनीति देश वा राज्य सञ्चालनको मूल नीति हो । राज्यका अन्य सबै नीतिहरु राजनीतिद्वारा निर्देशित हुन्छन् । त्यसैले राज्यको सफलता वा असफलता अन्य नीतिहरुमा जति भर पर्दछ त्यो भन्दा बढि राजनीतिमा निर्णायक रुपमा भर पर्दछ । अन्य नीतिहरुको अफलतालाई सच्याउने माध्यम पनि राजनीति नै हो । त्यसैले राजनीतिलाई राज्यको माउ नीति पनि भनिन्छ । जसले राज्य सञ्चालनको लागि आवश्यक सबै नीतिहरु तर्जुमा गर्दै लागू गर्दछ । राजनीतिक नेतृत्वले राजनीतिलाई अगुवाई गर्दछ । तसर्थ राजनीतिको अगुवाई गर्ने भनेको समग्र नीतिहरुको अगुवाई गर्ने हो । त्यसैले राजनीतिक नेतृत्व नैतिकवान र इमान्दार भएर मात्र समग्र समाजलाई सफा र शुद्ध हुने दिशातर्फ अग्रसर गराउन सक्दछ । माथि चर्चा भैसकेको छ कि राजनीतिको शीर सफा र शुद्ध भएमात्र तिर पनि सफा र शुद्ध हुन सक्दछ । 

यसको अर्थ राजनीति बाहेकका अन्य क्षेत्रमा अगुवाई गर्ने वा नेतृत्व गर्नेहरुको नैतिकता र इमान्दारिताको महत्व कम हुन्छ भन्न खोजेको होइन । सबै क्षेत्रमा रोलमोडेल नेतृत्वको आवश्यक्ता त छंदैछ । तर यस आलेखमा राजनीतिक क्षेत्रको नेतृत्वको बारेमा चर्चा गरिएकोले समग्र विषयमा राजनीतिको निर्णायक प्रभाव हुने हुँदा राजनीतिक नेतृत्वलाई प्रमुखता दिइएको हो । यस लेखमा राजनीतिक नेतृत्वको सन्दर्भमा नैतिकता र इमान्दारिताको दार्शनिक र सैद्धान्तिक पक्षमा चर्चा गर्न लागिएको छैन । यसमा फगत नेतृत्व, नैतिकता र इमान्दारीको सामान्य अर्थमा व्यवहारवादी पक्षको चर्चा गर्न खोजिएको छ जुन सर्वसाधारण नागरिकको चासो र सरोकारको विषय हो । यो एक्काईसौं शताव्दीका सचेत नागरिकले ध्यान दिनैपर्ने महत्वको विषय र हामी सबैको  दायित्व समेत हो ।  
हामी सबैले अनुभूति गरेका केही प्रतिनिधिमुलक जनगुनासा र यथार्थ उदाहरणहरु हेरौं, मनन गरौं । सडकमा धुलो उड्दा नेता र कर्मचारी मिलेर खाए, सडक बनाएन् भन्छ्न् जनता । अस्पतालमा सहज उपचार नपाउँदा हामीले भोट हालेर के भो र भन्ने टिप्पणी जताततै सुनिन्छन् । महंगी बढ्दा हामीले भोट हालेर जिताउनु बेकार भो भन्छन् उनै जनता । कालाबजारीले गर्दा सामानको मूल्य धेरै तिर्नुपर्दा पार्टी र नेताले चुनावमा चन्दा लिएकोले नेता बोल्दैनन् भन्छन् तिनै नेतालाई भोट हाल्ने जनता । त्यति मात्र हैन कार्यालयमा घुस दिएर काम गराउनेहरु नेताहरु आफैं भ्रष्ट भएपछि कर्मचारीले किन घुस खाँदैनन् त भन्ने चर्चा सर्वत्र सुनिदै आएको वर्षौं भयो । 

तलको कर्मचारी भ्रष्ट भए माथिकाले जोगाउँछन् । माथिकालाई नेताहरुले घुस खाएर आफ्नो बनाएपछि के कार्बाही हुन्छ र भन्छन् तिनै जनता । खानेकुरामा सबै मिल्छन् सांसद, मन्त्रीदेखि राष्ट्रपति भएकासम्मले आफ्नै सेवा र सुविधाको लागि पहिलो प्राथमिकता दिन्छन् भन्ने जनताको गम्भिर दुखेसो छ ।  कर्मचारी र नेताहरु वा जनप्रतिनिधिहरु मिलेर खान्छन् कसलाई भन्नु भन्दै निराशा व्यक्त गर्दछन् सर्वसाधारण नागरिकहरु । कमिशन, घुस र भ्रष्टाचारको बिगबिगी नै देखिएको छ नियन्त्रण हुने कुनै आसलाग्दो अवस्था छैन । चिनेको भएर वा नजिकको सम्बन्ध भएर एक करोडसम्ममा काम गराउन सम्भव भएको नत्र तीन करोड नखुवाए कामै नबन्ने अवस्था त्रिविविमा छ भन्छन् ‘विद्वानहरु‘समेत । नियुक्ति, सरुवा र बढुवा हुने गराउने क्रममा नेता र मन्त्रीका मान्छेलाई करोडौं बुझाउनु परेकोले घुस खानु परेको भन्नेहरु पनि भेटिएकै छन् ।  

पैसा खाएर निर्वाचनमा उमेद्वार सिफारिस गर्ने, पैसा खुवाएर उमेद्वार बन्ने, पैसा खान नपाई चुनावमा सहयोग नगर्ने नेता, कार्यकर्ता, सदस्य, समर्थक र मतदाताले भविष्यको समाज कस्तो बन्ला ? विपक्षी दल र उमेद्वारसँग पैसा खाएर आफ्नो दल र उमेद्वारलाई घात गर्ने वा लोकप्रिय शव्दमा भन्ने हो भने अन्तर्घात गर्ने अनैतिक व्यवहार त्यत्तिकै सुनिएकै छन् । यस्ता अनैतिक व्यवहारहरुको श्रोत के हो, किन र कसरी यस्तो प्रवृत्ति हाम्रो समाजमा झाङ्गियो यसको बस्तुनिष्ट मुल्याङ्न गरी नियन्त्रणको  प्रभावकारी उपाय नअपनाउने हो भने हाम्रो नेपालको भविष्य अन्धकारतर्फ जानेछ । 

वर्तमान समयमा एउटा सर्वाधिक महत्वको प्रश्न छ कि अब इमान्दार, नैतिकवान र क्षमता भएका तर आर्थिक हैसियत नभएकाहरुले राज्यको नीति निर्माण तहमा भूमिका निर्वाह गर्नबाट सदाका लागि बञ्चित हुने परिस्थिति त बन्दैछैन ? यदि यस्तो प्रवृत्तिले निर्णायक प्रभाव पारेमा राजनीतिदेखि समग्र समाजव्यवस्थामा मौलाएको यस्तो भ्रष्ट पुँजीवादी उपभोगवादी मनोवृत्ति झन् मौलाउँदै जाने निश्चित छ । 

सत्तास्वार्थ र सुविधाको लागि राजनीतिलाई व्यापार र व्यावसाय मान्ने र मुठ्ठीभरका नवधनाढ्यहरुको चक्रव्यूहमा अर्थात राजनीतिक पार्टीहरु ठेकदारहरुको कब्जामा निरिह भएर सञ्चालन हुने अवस्था आउन सक्दछ । यस्तो अवस्थामा समग्र समाजव्यवस्थालाई सुधार गर्नुपर्ने राजनीति नै कुहिराको काग हुने अवस्था आउने हो कि भन्ने सर्वत्र चिन्ताको विषय बनेको छ । यसतर्फ सचेत भई वर्तमान राजनीतिक नेतृत्वले राजनीतिलाई सफा र शुद्ध राख्न विशेष अभियान थाल्नु अपरिहार्य भईसकेको छ ।   

अहिले राजनीतिक हैसियतमा भएकाहरुप्रति टिकाटिप्णी र आलोचना थुप्रै भईरहेको छ । त्यसका अनेक विषयहरु छन् । पदीय हैसियत र मर्यादाको ख्यालै नगरी आफन्तहरुलाई पढाउन राजदुतावासका कर्मचारी सामु शीर झुकाई देशभक्तिको भावनालाई लत्याउने नेताहरुप्रति औंला ठडिएका छन् । अर्काको शोधपत्र नक्कल गरेर विद्यावारिधिसमेतको परीक्षा उत्तिर्ण गर्नेहरुको विगबिगी छ शिक्षा क्षेत्रमा । अझ त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वच्छ शैक्षिक एवं प्राज्ञिक वातावरणको सुनिश्चितता गर्ने जिम्मेवारीमा रहेका उपकुलपति समेतको हविगत हेर्दा लाज लाग्ने अवस्था छ । 

भ्रष्ट्राचार अनुसन्धान गर्ने आयोगमा भ्रष्ट्राचारी प्रवृत्तिका व्यक्तिलाई, न्यायलयमा न्यायकै किनबेच गर्नेलाई र विश्व विद्यालयमा अर्काको सामग्री आफ्नो भन्दै बौद्धिक चोरी गर्नेलाई नेतृत्व दिन राजनीतिक नेतृत्वले नै अग्रसरता लिएको तथ्य धिक्कारलाग्दो छ । अलेख धनसम्पत्ति थुपार्ने र असिमित सुखसयल भोग गर्नेहरुकै कारण पनि घुस, कमिशन र भ्रष्ट्राचार बढेको बढ्यै छ । अदालतमा न्यायाधीश र कर्मचारीले घुस खाने मात्र होइन वकिलले समेत फाँट फाँटमा नोट छिराउने गरेका र न्यायाधिसलाई दिनुपर्दछ भनेर पक्षसँग पैसाको लागि सौदावाजी गरेका अनेकौं दृष्टान्त सुनिन्छ । यो सिधै न्यायको किनबेच हो । तर न्यायालयमा भैरहेका त्यस्ता विकृतिको नियन्त्रण गर्ने दायित्व बोकेका बर्तमान सम्माननीय प्रधानन्यायाधीशको हालत जगजाहेरै छ । संसदीय सुनुवाई त झारा टार्ने मात्र भएको देखिन्छ । 

अर्थात हाम्रो नेपाली समाज र संस्थाहरुमा घुस, भ्रष्टाचार र कमिशनतन्त्रले गहिरो जडा गाडेको छ । यो सामाजिक रोगलाई कसरी चिन्ने, कस्तो उपचार गर्ने र त्यसका लागि कस्ता चिकित्सक र औषधीको व्यवस्था गर्ने भन्ने कुरा अन्य कुनै क्षेत्रबाट सम्भब छैन । त्यसको एउटैमात्र क्षेत्र हो राजनीति । त्यसका लागि नैतिकवान र इमान्दार राजनीतिक नेतृत्व नै हुनुपर्दछ । अन्यथा कुनै पनि हालतमा यसको नियन्त्रण र शुद्धिकरण सम्भव छैन ।  

केही केही राम्रा उदाहरणलाई छाडेर हाम्रो राज्य र समाज व्यवस्थामा अहिलेसम्म इमान्दार वेइमानको राम्रो पहिचान हुनै सकेन । पहिचान हुनसके पो इमान्दारलाई पुरुस्कार र वेइमानलाई दण्ड वा जरिवाना हुनसक्छ । अहिलेको अवस्था के छ भने सर्वसाधारणको नजरमा सबै उस्तै । को इमान्दार को वेइमान् । सवैलाई बेइमान भनिदिएर इमान्दारहरुको पनि मनोवल गिराउने काम यहिँ हुन्छ । इमान्दार वेइमान छुट्याउने कसरी र उनीहरुलाई राज्यले, संस्थाहरुले, समुदाय र समाजले अनि व्यक्तिहरुले कसरी व्यवहार गर्ने भन्ने कुनै संस्कार र संस्कृति नै बन्न सकेको छैन । नजिकबाट हेर्दा मानिसको व्यवहार आचरण र बानीबाटै सही र गलत थाहा हुन्छ । तर हाम्रो समाजको मान्यता पनि कस्तो छ भने जसरी पनि कमाएर इज्जतदार हुने तर धन दौलत कम हुनेलाई न समाज, न कर्मचारी र नेता कसैले पनि वास्ता नगर्ने प्रवृत्ति बढ्दो छ । विगतमा जनवादी संस्कार र संस्कृति अपनाउने हुँदा केही भिन्नता देखिन्थ्यो अहिले न पुरानो असल संस्कृति बाँकी छ न नयाँ अनुकुल संस्कृति निर्माण हुनसकेको छ । यसलाई सुधार गर्ने उपाय र निकास राजनीतिले मात्र दिन सक्दछ ।  

गहिरो खोज अनुसन्धान गरेर यथार्थ नबुझेसम्म कुनै पनि नेता, कार्यकर्ता वा पेशाकर्मीको बारेमा सही धारणा बन्न सक्दैन । सर्वसाधारणले मात्र हैन सचेत मानिसले पनि त्यसबारेमा यथेष्ठ बुझ्न सक्दैन । त्यस्तो अवस्थाले गर्दा समाजमा सही पनि उस्तै र बेइमान पनि उस्तै कहलाइन्छन् । सबै उस्तै भन्दा वेइमान र भ्रष्टलाई त खासै केही दुख हुदैन किनकि उनीहरुले आफू त्यस्तै हो भनेर नै नागरिकको भनाईलाई वेपर्वाह गर्दछन् । बरु इमान्दारहरुलाई पनि आफ्नो कोटीमा राखेर प्रचार गर्न पाउँदा बेइमानहरु खुशी हुन्छन् । मेरो कुकृत्य कसैले थाहा पाउन सकेको रहेनछ भनेर मख्ख पर्दछन् । तर सबै उस्तै भन्ने जनमुल्याङ्कनले इमान्दार र नैतिकवानहरुलाई चाहिँ गहिरो चोट पर्दछ । यो सम्वेदनशीलतालाई कसरी बुभ्mने र बुझाउने यो नैतिकता र आदर्शको सारभूत चुनौती हो । 

सारमा भन्दा अहिले हाम्रो देश र समाजमा यस्ता विकृतिहरु प्रशस्त छन् । राजनीति बाहेक भूमी, शिक्षा, स्वास्थ्य, सञ्चार, अर्थ, सुरक्षा, प्रशासन, भौतिक विकास र निर्माण आदि कुनै त्यस्तो क्षेत्र छैन जहाँ चरम अनैतिक र सामाजिक आर्थिक अपराधिक व्यवहार नभएको होस् । त्यसैले यी सबै क्षेत्रको यस्ता व्यवहारलाई नियन्त्रण र दण्डित गर्न राजनीतिक नेतृत्व आफू इमान्दार र नैतिकवान हुनैपर्छ । नेतृत्व भन्नाले नेपालमा भएका सबै राजनीतिक संस्था र राज्यको कार्यकारी निकायको नेतृत्वदायी पदमा आसिन भएका मुख्यतः राजनीतिक पदाधिकारीहरुलाई भन्न खोजिएको हो । 

वर्तमान संविधानले सङ्घ, प्रदेश र स्थानीय तरी तीन तहको राज्यको व्यवस्था गरिएको छ । यी तीनै तहमा कार्यकारी, विधायिकी र न्यायिक कार्यहरु गर्नेगरी संस्था र पदहरुको व्यवस्था छ । ती सबै पदमा निर्वाचित भएर जिम्मेवारी सम्हालिसकेका पदाधिकारीहरु तत्तत् तह र पदका राजनीतिक नेतृत्व गर्दैछन् । तसर्थ सामान्यरुपमा भन्नुपर्दा ती सबैलाई समग्रतामा राजनीतिक नेतृत्व भन्न खोजिएको हो । हाल निर्वाचित तीनै तहका जनप्रतिनिधिहरु जो जसले जुन जुन तहमा नेतृत्व गर्दछन् ती सबै राजनीतिक नेतृत्व हुन् । 

आफ्नो क्षेत्राधिकारभित्र यस्ता अपराधिक, अनैतिक, र अराजनीतिक व्यवहारहरु आफूले पनि नगर्ने र आफ्ना मातहतकालाई पनि नगर्न नगराउन सचेत गराउनु पर्दछ । गर्नेहरुलाई दण्ड र नगर्नेहरुलाई पुरुस्कारको व्यवस्था गर्नुपर्दछ । यस्तो असल कार्यको शुरुवात माथिदेखि तलसम्म एउटै सोच, दृष्टिकोण र भावनाअनुसार गरिनुपर्दछ । नदी शीरदेखिनै सफा र स्वच्छ भए तिरसम्म पनि सफा र स्वच्छ हुन्छ भनेजस्तै राजनीतिक नेतृत्व पनि केन्द्रदेखि सफा र स्वच्छ भए प्रदेश र स्थानीय तहसम्म सफा र स्वच्छ हुन्छ भन्ने कुरालाई आत्मसात गर्नु अपरिहार्य छ । यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय तहको समग्र नेतृत्व नै इमान्दार र नैतिकवान हुनुपर्दछ । अनिमात्र त्यो नेतृत्व सफल वा सक्षम भएको मानिन्छ । राज्यसत्ताको रुपमा मात्र भएको परिवर्तनलाई त्यसको आधारभूत आर्थिक सामाजिक क्षेत्रमा समेत बिस्तार गर्दै सामाजिक आर्थिक विकास, सामाजिक न्याय र समृद्धि सहित बास्तविकरुपमा समाजवादउन्मुख नेपाल बन्ने बस्तुनिष्ट आधार तयारी नेतृत्वको सक्षमता र सफलताको द्योतक हो ।

तसर्थ देशको प्रधानमन्त्री र मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु, स्थानीय तहका प्रमुख उपप्रमुख र वडाअध्यक्षहरु मात्र यस मामलामा खरो उत्रन सकेमा सामाजिक र राष्ट्रिय अपराधका यी ज्वलन्त समस्याको नब्बे प्रतिशत समाधान हुने निश्चित छ । र, पार्टीका माथिदेखि तलसम्मका नेताहरुको साथ र सहयोग समेत यसको लागि अनिवार्य छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बन्ने एकीकृत पार्टीका मुख्य नेतृत्व केपी शर्मा र पुष्पकमल दाहाललगायतका अहिलेको पहिलो पुस्ताको नेतृत्वको अन्तिम अग्नि परीक्षा यही रोगको कारण पत्ता लगाउने र समयमै सहज निदान गर्ने कार्यसँग जोडिएको छ ।   
खैरहनी नगरपालिका–१, चितवन