काठमाडौं, २५ माघ–राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । ५६ सदस्यका लागि भएको निर्वाचनमा २१ महिला निर्वाचित भएका छन् । परिणाम अनुसार समग्र प्रतिनिधित्वमा महिलाको करिव ३८ प्रतिशत प्रतिनिधित्व भएको छ । 

हरेक प्रदेशबाट ८ मध्ये ३ जना महिला कोटामा छुट्टै प्रतिस्पर्धा हुने संवैधानिक ब्यवस्था भएकाले निर्वाचन राष्ट्रियसभामा ३८ प्रतिशत महिला निर्वाचित हुने सुनिश्चित थियो । तर, निर्वाचन आयोगले संविधानको यहि प्रावधानको गलत ब्याख्या गरी संयुक्त सदनमा ३३ प्रतिशत महिला सुनिश्चित नहुने भन्दै अढाई महिना अघि सम्पन्न भएको प्रतिनिधिसभा समानुपातिक निर्वाचन तर्फको परिणाम प्रकाशित गरेको छैन । 

अव राष्ट्रियसभामा प्राप्त महिला प्रतिनिधित्वको ३८ प्रतिशतबाट काटेर प्रतिनिधिसभाको समानुपातिकमा महिला प्रतिनिधित्व घटाइनेछ । महिला प्रतिनिधत्व सुनिश्चित गर्ने दावी गर्दै निर्वाचन आयोगले गरेको संविधानको गलत ब्याख्याबाट अव प्रतिनिधिसभामा महिला प्रतिनिधित्व ३३ प्रतिशत भन्दा कम हुने देखिएको छ । 

आयोगले महिला प्रतिनिधित्वको सकारात्मक प्रयोगका लागि गरिएको संवैधानिक ब्यवस्थालाई गलत ब्याख्या गर्दा बढि अधिकार प्रयोग गर्ने प्रतिनिधिसभामा महिला प्रतिनिधित्वलाई राष्ट्रियसभाको संख्या देखाएर घटाउने बाटो मिलेको हो । तर, निर्वाचन आयोगको मनसाय भने महिला प्रतिनिधत्वसँग भन्दा जनादेश अनुरुपको नयाँ सरकार गठनमा अवरोध गर्ने देखिएको थियो । 

आयोगले संविधानको गलत ब्याख्या नगरेको भए विगतमा झैं राष्ट्रियसभाको निर्वाचन अघि नै जनादेश अनुरुप नयाँ सरकार बन्ने थियो । बाह्य शक्ति केन्द्रका लागि सत्ता समीकरण बनाउने समय उपलब्ध गराउन नै निर्वांचन आयोगले आफ्नो पूर्वघोषित कार्यक्रम विपरित प्रतिनिधिसभाको समानुपातिक निर्वाचन परिणाम रोकेको थियो । आयोगले यसरी निर्वाचन परिणाम रोकेपछि कामचलाउ सरकारले त्यसलाई अवसरको रुपमा उपयोग गर्दै राजनीतिक, आर्थिक र प्रशासनिक हिसावले दीर्घकालीन नकारात्मक असर पार्ने निर्णय गर्दै आएको छ । यस अवधिमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चलाएको राष्ट्रिय अर्थतन्त्रमाथि गरेको ठाडो लूटको जिम्मेवार निर्वाचन आयोग हो ।   

बुधवार भएको राष्ट्रियसभा निर्वाचनले ५६ जना सदस्य निर्वाचित गरिसकेको छ । यसमध्ये २१ जना महिला छन् । ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट एक महिला सहित ३ सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ मा एमालेका ६ र कांग्रेसका २ जना राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । प्रदेश २ मा भने यसअघि नै एमाले, कांग्रेस, राजपा र फोरम सबैले दुईरदुई सिट निर्विरोध भइसकेका हुन् । प्रदेश ३ मा ५ सिट जित्दै एमालेले बहुमत ल्याएको छ भने कांग्रेसबाट २ र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका छन् । प्रदेश ४ मा एमालेले ३, कांग्रेसले ३ र माओवादी केन्द्रले २ सिट जित्न सफल भएका छन् । प्रदेश ५ मा पनि एमालेले नै बढी सिट जितेको छ । यस प्रदेशमा एमालेका ४, कांग्रेसका  २ र माओवादीका २ जना विजयी भएका छन् । 

प्रदेश ६ मा एमालेबाट ५ र माओवादीबाट ३ जना निर्वाचित भएका छन् । यस्तै प्रदेश ७ मा एमालेका ४, कांग्रेसका २ र माओवादीका २ सदस्य विजयी भएका छन् । प्रदेश २ मा भने सबै निर्विरोध भएका हुन् । उम्मेदवारी मनोनयनकै प्रक्रियामा २४ जना निर्विरोध भएकाले ३२ सिटका लागि मात्रै बुधबार मतदान भएको थियो ।