अछाम १ जेठ – अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । बा १ झ ३३९४ नम्बरको गाडीमा  बुधबार विहान करिब साढे २ बजेतिर अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । 

नगरपालिका परिसरमा पार्किङ गरी राखेको फोर्ड कम्पनीको इन्भेडर गाडीमा राती मोटरसाईकलमा आएका अज्ञात समूहले आगजनी गरेको प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीको भनाईबाट खुल्न आएको अछामका डिएसपी जनक  शाहीले बताउनु भयो ।

 “पार्किङ गरी राखेको गाडीमा ा भएको पाईएको छ”, डिएसपी शाहीले भन्नुभयो –“प्रहरीले अनुसन्धान जारी राखेको छ, अनुसन्धानबाट थप पुष्टि हुँदै जानेछ ।” 
हिजो साँझ पार्किङ गरेर राखेको र राती अज्ञात समूहले आगजनी गरेको खबर आएको हाल काठमाण्डौँमा रहनु भएका मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले बताउनु भयो । स्थानीय व्यापारीका अनुुसार राती साढे २ बजेतिर मोटरसाईकलमा कोही आएको जस्तो आवाज आएको र पछि आगलागी भएको बताईएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गणेश प्रसाद जैसी ढुंगानाले बताउनु भयो ।   

अनुसन्धानबाट थप कुरा पुष्टि हुने डिएसपी शाहीको भनाई छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी लगायतको टोली राती नै घटनास्थलमा पुगि छानविन थालेको थियो भने प्रहरी र स्थानीयको प्रयासबाट नगरपालिकामा अन्य आगलागी तथा घटनाबाट जोगाईएको छ । नगरपालिकाले गत बर्ष १ करोड २० लाखमा खरिद गरेको गाडी किन र कस्ले जलायो खुल्न सकेको छैन । घटनाको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।

यसैवीच नगरपालिकाको गाडीमा आगजनी गरी ध्वस्त गरिएको सम्बन्धमा सर्वत्र भ्रत्सना भएको छ । जनताको सम्पत्तिमाथि यसरी आगजनी गरी सार्वजनिक सम्पत्तिमा क्षति गर्नेलाई पक्राउ गरी हदैसम्मको कारबाहीको माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले बिज्ञप्तीमार्फत आगजनी कार्यप्रति भ्रत्सना गर्दै दोषीलाई हदै सम्मको कारबाहीको माग गरेको छ । नगर कार्यपालिकाकाको आकस्मिक बैठकले पनि घटनाको निन्दा तथा भ्रत्सना गर्दै अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेको छ । नगर उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको बैठकले नगरपालिकाको सम्पत्ति जनताकै सम्पत्ति भएको र यसको क्षतिले देशकै नोक्सानी भएको बताएको छ । सामाजिक सञ्जालमा समेत यस कार्यको निन्दा भएको छ ।