नगेन्द्र शर्मा
नगेन्द्र शर्माको पुख्र्यौली थलो तेह्रथुमको साबिक सिम्ले गा.वि.स. पोक्लावाङ् हो । नगेन्द्र शर्माको जन्म वि.सं. १९८७ साल मंसिर ७ गते दार्जिलिङ, खरसाङको डाउहिल देवीस्थान भन्ने ठाउँमा भएको थियो । नगेन्द्र शर्मा (ढुङ्गाना) भए पनि उहाँले लेखनमा जात थर लेख्ने गर्नुहुन्न र ‘नगेन्द्र’ मात्रै नगेन्द्र शर्माको लेखनको परिचय हो ।

नगेन्द्र शर्माका बुवाको नाम नन्दप्रसाद शर्मा ढुङ्गाना र आमाको नाम हरिप्रिया
शर्मा ढुङ्गाना (सापकोटा) हो । उहाँका बुवा पोक्लावाङ्बाट खरसाङ बसाइ सर्नुभएको थियो । नगेन्द्र शर्माका दाजुभाइ खलक अहिलेसम्म पनि पोक्लावाङमै छन् । नगेन्द्र शर्माले सन् १९६१ मा कलकत्ताबाट एल.एल. बी र वि.सं. २०२१ मा त्रि.वि.वि.बाट नेपालीमा एम.ए. गर्नुभएको हो थियो । उहाँका प्रमुख कृतिहरूमा नगेन्द्रका निबन्ध सन् १९६२, अण्डादेखि भ्यागुतोसम्म, बनारसमा बेचिएकी बहिनी, तर्क–वितर्क, मैझारो, सम्झाउनी बिर्साउनी, छासमिस मासमिस, नेपाली जनजीवन र कथा क्यानडा, अनुस्मरण (आत्मकथा) समेत निबन्ध र संस्मरणहरू छन् ।

अङ्ग्रेजीमा फोकटेल्स अफ नेपाल सिक्रेट्स अझ सांग्रिला, शिट अफ स्नो, दिस इज नेपाल, नेपाली लिट्रेचर इन अ नट्शेन, ए फ्लावर अमिड्ष्ट थर्नस, नेपाल रिलेसन्स विथ सिक्किम एण्ड भुटान, नेपाल ए टु जेड समेत एघारवटा पुस्तकहरू छन् ।

‘नगेन्द्रका निबन्ध’ र निबन्ध शैलीमा लेखिएको नगेन्द्रको आत्मकथा अनुस्मरण दोभानको मान्छे (२०६८) किताब नगेन्द्रलाई चिनाउने पठनीय पुस्तक हुन् ।प्रस्तुत छ सूर्य सुवेदीले २०६९ मंसिर २६ गते नगेन्द्र शर्माको मण्डिखाटारस्थित घरमा लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

नगेन्द्र शर्माज्यू, तपाईं प्रसिद्ध निबन्धकार र संस्मरणकार हुनुहुन्छ । तपाईंको लेखन कसरी शुरू भयो ? कुनै प्रेरक प्रसङ्ग छ कि थाहा पाउन सकिन्छ ?
प्रष्ट सम्झना त छैन । तर मैले पुष्परानी स्कूलको विद्यार्थी छँदा एउटा आरतीवा ‘सरस्वती–वन्दना’ बाट कलम चलाउन थालेको हुँ भन्ने लाग्छ । उक्त घटना मेरो जन्मस्थान खरसाङस्थित प्रख्यात गोर्खा जनपुस्तकालयले बर्सेनी आयोजना गर्ने गरेको सरस्वतीपूजासित सम्बन्धित थियो । भएको के थियो भने, तिनताक र आज पनि धेरैजसो हाम्रा पूजा–आजामा गाइने ‘जय जगदीश हरे’ जस्ता हिन्दी भाषाका आरतीबाट म अलि आजित भएको थिएँ र सोच्तथें, त्यस्ता आरतीहरू किन नेपालीमा नलेखिएका होलान् ? त्यस्तै भावुकताको लहडमा एकपल्ट मैले वार्षिक सरस्वती–पूजाको अवसरमा एउटा आरती लेखेर उक्त जन पुस्तकालयका सचिवको नाममा पठाइदिएको थिएँ, आफ्नो नाम छद्म राखेर । सरस्वतीपूजा समापन भएको सन्ध्यामा तिनताकका एकजना प्रख्यात गायक, स्व. सी.बी प्रधान (सानु भाइ) ले उनको सुमधुर कण्ठमा त्यो मेरो रचना गाएर सबैलाई सुनाइदिनु मात्र भएन, उपस्थित समस्त भक्तजनहरूलाई पनि आफू सँगसँगै त्यो आरती गाउन लाउनुभएकोले सारा सभाभवन गुञ्जायमान भएको थियो । आफ्नो सानु र पहिलो रचनाले नै त्यति सफलता र लोकप्रियता प्राप्त गरेको देखेर मेरो हर्षको सीमा नै रहेन र त्यही अनुभवले मलाई कलम चलाउन थप प्रेरित गरेको हुनुपर्छ भन्ने म ठान्दछु ।

तपाईं एक अनुभवी निबन्धकार हो । ‘नगेन्द्रका निबन्ध’ को प्रकाशनबाट शुरू भएको तपाईंको कलम यात्रा अहिले कहाँसम्म पुग्यो र तपाईंका कृतिहरूप्रति पाठक प्रतिक्रिया कस्तो रहेको छ ?
उक्त निबन्धसङ्ग्रह साझा प्रकाशनले छापेको मेरो प्रथम सङ्कलन थियो ।त्यसपछि साझा प्रकाशनले नै अर्को पनि एउटा सङ्ग्रह छापिदियो, ‘अण्डादेखि भ्यागुतोसम्म’ । अरू प्रकाशित निबन्ध सङ्कलनहरूमध्ये बनारसमा बेचिएकी बहिनी, तर्क–वितर्क र मैझारो छन् । तीबाहेक तीन–चारवटा लघु–निबन्धसङ्ग्रह पनि प्रकाशित भएका छन्– सम्झाउनी – बिर्साउनी, छासमिस–मासमिस, नेपाली जनजीवन र कथा क्यानाडा । अर्को निबन्धसङ्ग्रह अनुस्मरण (दोभानको मान्छे मेरो आत्मकथा हो भन्दा हुन्छ । धेरैजसो मेरा प्रकाशनहरूबारे समय–समयमा विभिन्न पत्र–पत्रिकामा समीक्षा र समालोचना त आएकै छन् तर तीबाहेक त्रि.वि.वि. मा अध्ययनरत दुईजना एम. ए.का विद्यार्थीहरूले मेरा निबन्धमाथि शोधप्रबन्ध थेसिस पनि प्रकाशित गरेका छन् ।

तपाईं अङ्ग्रेजी र नेपाली दुवै भाषामा कलम चलाउन सक्ने व्यक्ति हो । अङ्ग्रेजीमा हालसम्म कतिवटा पुस्तक प्रकाशित भएका छन् ?
अङ्ग्रेजीमा कहिलेकाहीँ कलम चलाउने गर्नुको पछाडि मेरो एउटै ध्येय रहेको छ । त्यो हो नेपाली भाषा, नेपाली कला–साहित्य, इतिहास र नेपालीभाषाभाषीबारे विदेशी पाठकहरूलाई र विश्व समुदायलाई यथासम्भव जानकारी प्रदान गर्ने । यस क्रममा लेखिएका पुस्तकहरूको सङ्ख्या हालसम्म एघारवटा पुगेका छन् । तीमध्ये एउटा फोकटेल्स अफ नेपाल (Folktales of Nepal) पहिलो नयाँदिल्लीबाट प्रकाशित भएको थियो र आजसम्म त्यसको चौध वा पन्ध्र संस्करण प्रकाशित भइसकेको छ भन्ने सुनेको छु ।

त्यसै पुस्तकलाई अलिपछि सिंगापुरको म्याकमिलन कम्पनीले पुनर्प्रकाशित गरेको थियो र हाल आएर प्रा. कासिको फुजिमोरीले त्यसको जापानी भाषामा अनुवाद गरेर टोकियोबाट प्रकाशित गराउनुभएको छ । दिल्लीबाट प्रकाशित मेरा अरू दुई पुस्तकहरूमध्ये एउटा सिक्रेट्स् अफ साङ्ग्रिला (Secrets of Shangri-la) हो र अर्को शिट अफ स्नो (Sheet of Snow)  ती बाहेक दिस इज नेपाल (This is Nepal) नेपाली लिटरेचर इन् अ नट्शेल (Nepali Literature in a Nutshell), नेपाल ए टु जेट (Nepal A To Z), नेपाल :सम टेल्स् सम ट्रुथ्स् (Nepal: Some Tales, Some Truths),, नेपाल्स् रिलेसन्स विथ सिक्किम एण्ड भुटान -Nepal's Relations with Skkim and Bhutan) र ए फ्लावर अमिड्स्ट थोर्नस् (A flower Amidst Thorns) नेपालबाटै प्रकाशित कृतिहरू हुन् । तीमध्ये ‘शीट अफ स्नो’ विभिन्न लेखकका नेपाली कथाहरूको अङ्ग्रेजी अनुवाद–सङ्कलन हो र ‘ए फ्लावर अमिड्स्ट थर्नस्’ युवा–लेखिका झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ को अङ्ग्रेजी अनुवाद हो ।

हालसाल मैले तीनवटा प्रोजेक्टमा सँगसँगै हात हालेको छु । ती दुवै पर्यायकोश (Thesaurus) हुन्, जसमध्ये एउटा नेपाली–नेपाली अङ्ग्रेजीमा छ र अर्को अङ्ग्रेजी–अङ्ग्रेजी–नेपालीमा । तीबाहेक मेरो नेपाल ए टु जेड् (Nepal A to Z) को तेस्रो संशोधित संस्करण पनि ओरिएन्टल पब्लिकेशन्स् मार्फत चाँडै बजारमा आउँदै छ भन्ने सुनेको छु ।

तपाईंकी श्रीमती स्व. सोफिया शर्मा स्वयम् एक लेखिका र सङ्गीतज्ञ हुनुहुन्थ्यो ।उहाँलाई जीवनसाथी बाहेक कस्तो साहित्यिक वा कलाकारको रूपमा चित्रित गर्नुहुन्छ ?
मेरी पत्नीलाई एक गायिका र खासगरी भजन–गायिकाको रूपमा धेरैले सुनेका छन्, चिनेका पनि होलान् । तर उनले मौलिक काव्य–रचनाको फाँटमा पनि नेपाली साहित्यमा एक नौलो विधालाई प्रवेश गराएकी रहिछिन्, जुन कुरो मैले उनको दुःखद निधनपछि उनका डायरीहरू पढेर मात्र थाहा पाएँ । त्यो नौलो विधा हो लिमरिक (limerick) धेरैलाई थाहा होला, लिमरिक भनेको गजल जस्तै नियममा बाँधिएको छोटो काव्य–रचना हो, तर पारम्परिक गजलले प्रेम र प्रणयका प्रसङ्गलाई प्राथमिकता दिए झैं लिमरिकले हास्यव्यङ्ग्यलाई प्राथमिकता दिएको हुन्छ, यद्यपि हिजोआज अरू विभिन्न विषयहरूमाथि पनि गजल र लिमरिक दुवै लेखिन थालेका छन् । भनिन्छ, सर्वप्रथम लिमरिकको थालनी आयरल्याण्डबाट भएको हो । एउटा लिमरिकमा पाँच पङ्क्ति मात्र हुन्छन्, जसमध्ये पहिलो, दोस्रो र पाँचौ तीनवटा पङ्क्ति १६–१६ वर्णका हुन्छन् र तिनका अन्त्यानुप्रास पनि मिलेको हुनुपर्छ । त्यस्तै दोस्रो र तेस्रो पङ्क्तिको पनि अन्त्यानुप्रास मिलेका हुनुपर्छ, तर ती पङ्क्तिमा १०–१० वर्ण मात्र रहन्छन् । मेरी श्रीमतीले नेपालीमा यस विधालाई प्रवेश गराउने प्रेरणा कहाँबाट पाइन् । त्यसको जानकारी त मैले आजसम्म पाउनसकेको छैन । तर गुजरातमा विश्वविद्यालयकी छात्रा छँदा नै (अर्थात् सन् १९६० को दशकतिरै उनले निकैवटा लिमरिक लेखिसकेको प्रमाण भने पाइएको छ । मैले ती फेला पारेपछि सिलगढी (भारत) बाट प्रकाशित हुने ‘साउती’ हास्य–व्यङ्ग्य पत्रिकामा प्रकाशनको निम्ति पठाइदिएको थिएँ र त्यसका छैटौंदेखि आठौं वार्षिक अङ्कहरूमा ती लिमरिक लगातार प्रकाशित पनि भएका छन् । उदाहरणस्वरूप उनले १२ अगस्ट १९६६ को मिति दिएर बडोदा विश्वविद्यालयमै लेखेका दुइवटा लिमरिक साउती पत्रिकाले निम्न शीर्षकमा प्रकाशित गरेको छ :

१.गर्दभ राग
सङ्गीत सिक्न आएकी हुँ म नेपालबाट
तर सबै हाँस्छन् मेरो गर्दभ रागबाट ।
अरूका मीठामीठा स्वर सुन्छु
कोठामा छिरेर एक्लै रुन्छु,
कैले भागुँ जस्तो लाग्छ यो कुठाउँबाट ।
२. चड्कन
हाम्री एक साथीको बिहे भो प्रोफेसरसँग
प्रोफेसरको साथी फिदा भएथ्यो मसँग ।
बिहेमा गएँ म भएर झिल्के,
ऊ पनि आएछ भएर टिल्के
छुन के खोजेथ्यो, चड्काएँ गाला जोडसँग ।

तपाईंका ससुरा डा. डिल्लीरमण रेग्मी र जेठान मदन रेग्मीसँग कस्तो सम्बन्ध रहेको थियो र छ ?
मेरा श्रद्धेय तथा विद्वान् ससुराज्यूसँगको मेरो सम्बन्धबारे मैले हालै मात्र प्रकाशित मैझारो शीर्षक पुस्तकको एक निबन्धमा संक्षिप्त प्रकाश पारेको छु, जुन यहाँले पढ्नुभएकै होला । जहाँसम्म मदन रेग्मी दाइसँगको सम्बन्धको कुरा छ, उहाँ एक प्रगतिशील कवि भएका नाताले उहाँसँग मेरो साहित्यिक सम्पर्क रूपरेखा–काल (अर्थात् वि.सं. (२०१५–१६) देखि नै सुमधुर रहिआएको छ । त्यो बाहेक मेरो बिहेमा कन्यादान दिने अभिभावकको भूमिकासमेत उहाँले नै निर्वाह गर्नुभएकाले हाम्रो आत्मीयता झन् गाढा हुने नै भयो । यस सन्दर्भमा पनि मैले मेरो आत्मकथा अनुस्मरण (दोभानको मान्छे) मा केही प्रकाश पारेको छु, हेर्नुभए अझ खुलस्त हुन्छ ।

तपाईं सूचना विभागको निर्देशक हुनुभएका बखत मेचीदेखि महाकाली शीर्षकमा चार बृहत् पुस्तकका ठेलीहरू प्रकाशित गर्नुभएको थियो त्यो कसरी सम्भव भयो ?
उक्त काम स्व. राजा वीरेन्द्रको व्यक्तिगत चाहना र तत्परताले गर्दा मात्र सम्भव भएको हो र यसबारे पनि मैले अनुस्मरणमा निकै विस्तृत चर्चा गरिसकेकै हुनाले यहाँ दोहोर्याइरहनु मनासिब नहोला भन्ने ठान्दछु, क्षमा गर्नुहोला ।

तपाईंले गोरखापत्र संस्थानमा पनि कार्यकारी अध्यक्ष भएर पाँच वर्ष बिताउनुभयो । त्यसपछि फेरि लगत्तै अर्को सरकारी संस्थान, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा कार्यकारी अध्यक्ष नियुक्त हुनुभयो । ती दुई ठाउँमा बस्दा विशेष उल्लेखयोग्य केही काम भए कि ?
गोरखापत्र संस्थानमा मैले नयाँ कदम चालें भनेको युवामञ्च मासिक पत्रिकाको थालनी मात्र हो । त्यसको साथै विराटनगरबाट गोरखापत्र दैनिकको पूर्वाञ्चल संस्करण प्रकाशित गर्ने योजना पनि कार्यान्वयन हुनै लागेको थियो तर त्यसै बखत अचानक मन्त्रिपरिषद्को परिवर्तनले गर्दा त्यो सम्भव भएन । औद्योगिक क्षेत्र व्यवस्थापनमा छँदा चाहिँ तिनताकका उद्योग मन्त्रीको बढ्तै हस्तक्षेपले गर्दा झापा जिल्लामा एउटा, दाङ जिल्लामा एउटा र काठमाडौंमै महिला उद्यमीहरूको निम्ति मात्रै बेग्लै एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अन्तिम चरणमा पुगेर पनि तुहिएको थियो । जुन कुरो सम्झँदा आज पनि थकथकी लागिरहन्छ ।

विभिन्न सरकारी निकायहरूमा सेवा गरिसकेर निजी क्षेत्रमा पनि निकै काम गर्नुभयो भन्ने सुनिन्छ । ती कामबारे केही बताइदिनुहुन्छ कि ?
तिनताकको रोयल नेपाल एयरलाइन्स (हालको नेपाल एयरलाइन्स) को कमर्सियल डाइरेक्टर पदबाट अचानक हटाइएपछि ढाक्रे भएको अवधिमा स्व. याङ्जी शेर्पा बहिनीसँगको साझेदारीमा पाटन औद्योगिक क्षेत्रमा स्टक्टो नेपाल नामक स्टक्चरल कम्पनीमा संलग्न हुन पुगेको थिएँ । त्यस कम्पनीले झोलुंगे पुल (सस्पेन्सन् ब्रिज) निर्माणमा विशेष दक्षता हासिल गर्नसक्यो भने व्यापार त हुन्छ–हुन्छ, साथै मुलुकका दुर्गम क्षेत्रहरूमा यातायात सुविधा प्रदान गर्दा समाजसेवा पनि हुन्छ भन्ने हाम्रो धारणा रहेको थियो । म स्वयम्ले केटाकेटी उमेरमा पुख्र्यौली थलो तेह्रथुम जाँदा–आउँदा बाटामा देखेको यातायात दुव्र्यवस्थाको पृष्ठभूमिले पनि त्यो सोचाइलाई टेवा प्रदान गरेको थियो । फलस्वरूप उक्त कम्पनीले पहाडी भेकमा त्यस्ता कैयौं पुलहरू बनायो पनि । तीमध्ये तमोर नदीमाथि एउटा १०५ मिटर लामो र अर्को ८१ मिटर लामो त्यस्ता पुलहरू बने । त्यस्तै, नाम्दु, थामथुन, मौवा र हेवा खेलाहरूमाथि बनेका पुलहरूले पनि ती दुर्गम क्षेत्रमा केही हदसम्म भए पनि यातायात सहज बनाए होलान् भन्ने मलाई लागेको छ ।

औद्योगिक क्षेत्रबाट अवकाश पाएपछिको अवधिमा पनि एउटा सहकारी कम्पनी खोलेका हौं र करिब १३ वर्ष त्यसको अध्यक्षता पनि मैले गर्न पाएको हुँ । तर त्यसै बीच म स्वास्थ्योपचारको निम्ति ६–८ महिना भारततिर जानुपरेकाले उक्त पदबाट राजीनामा दिएँ । पछि थाहा भयो, केही सञ्चालकहरूको बद्नियतले गर्दा त्यही अवधिमा सो कम्पनी धराशायी हुने स्थितिमा पुगेछ । आजीवन कलम घोटेर कमाएको धेरथोर यश पनि त्यसरी माटामा मिलेपछि आफूले नजानेको काममा हात हाल्न नहुने रहेछ भन्ने शिक्षा त पाएँ, तर रकम हिनामिनाको मारमा परेको आफैं लगायत अरू हजारौं शेयरहोल्डरहरूको आँसु पुछ्न भने सकिएन । जीवनमा योभन्दा ठूलो अर्को धोखा पाएको थिइनँ ।

तपाईं जहाँजहाँ प्रशासनमा बस्नुभयो, आफ्नो पहिचान बनाएरै बस्नुभयो । तर पनि तपाईंले लेखनलाई निरन्तरता दिन छोड्नुभएन । यो कसरी सम्भव भयो ?
तपाईंलाई थाहै छ, प्रशासकीय काम भनेको सामान्यतया दिउँसोको काम हो, दिनचर्या भनौं । तर पढ्ने र लेख्ने भनेको एक हब्बी हो फुर्सदको समयमा साँझ बिहान गरिने समयकटनी । अतः एकले अर्कालाई बाधा पार्दैन भन्ठान्छु म । उही खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं । अर्को दृष्टिले हेर्ने हो भने, मभन्दा कान्छा र मेरा भाइसरह उमेरका डा. तारानाथ शर्मा जस्ता साहित्यकारले मैले भन्दा धेरै बढी सङ्ख्यामा साहित्यिक कृतिहरू प्रकाशित गराइसकेका छन् भने म त उहाँहरूको दाँजोमा एक छेउ पनि पुगेको छैन । लाग्छ, काम अझ धेरै गर्न बाँकी त छ, तर अफशोष, उमेरले ८३ टेकिसकेको मलाई घरले जा–जा र वनले आइज–आइज भन्ने अवस्था छ । अब त के नै नापुँला र ?

तपाईंले भाषा–प्रयोगमा छाडावादलाई प्रश्रय दिनुहुन्छ र व्याकरणका मान्यताहरूलाई समेतधेरै ठाउँमा लत्याउने गर्नुभएको छ भन्ने आरोप पनि लाग्ने गरेका छन् । ती आरोपहरूमा कत्तिको सत्यता छ ?
प्रायः सबै स्वाधीनता–प्रेमी वा उन्मुक्ति प्रेमीहरूले झैं मैले पनि भाषामा नियमको न्यूनता होस् भन्ने चाहनु स्वाभाविकै हो भन्ठान्छु म । तर साथै, म यो पनि थप्न चाहन्छु, नियम न्यून मात्र भएर पुग्दैन, तर्कपूर्ण पनि हुनुपर्छ । उदाहरणको निम्ति दुई शब्दलाई लिऊँ । त्यो शब्द संस्कृतबाट आएको हो र मूल संस्कृतमा द्वि, द्वियम्, द्विधा, द्विविधा, जस्ता हिज्जेहरू पाइन्छन् । तर हाम्रा साहित्यिकहरू सबैजसोले, किन हो दुइ को ठाउँमा दुई प्रयोग गर्छन् । अर्थात्, ह्रस्वको ठाउँमा दीर्घ । मैले चाहिँ ‘दुइ’ नै लेख्ने गरेको छु र भाषाविद्हरू मेरो त्यस हिज्जेलाई छाडा प्रयोग ठान्दछन् । किन हो, मैले नै बुझेको छैन । यसै प्रसङ्गमा ‘लघुलिपि’ को कुरा पनि थपिहालौं । यहाँ म प्रख्यात पाश्चात्य दार्शनिक जाक्वेस डेरिडाका दुई भनाइहरू सम्झन्छु । प्रथम हो, अन्तिम सत्य छैन । त्यस सिद्धान्तलाई प्रतिपादन गर्दै उनले पुरानो एकाधिकारवादी ज्ञानको विरोधमा एक प्रकारको जेहाद नै सृजना गरे । जस्तै, मलाई जँचेको उनको अर्को भनाइ हो, ‘Human beings live in a prison-house of grammar/language’ । उनको त्यही ‘प्रिजन हाउस’ बाट उम्किने प्रयासको देखासिकी गर्दै मैले केही वर्षअघि सिक्किमको निर्माण प्रकाशनबाट प्रकाशित मेरो एक लघु निबन्धसङ्ग्रह, सम्झाउनि–बिर्साउनि, मा लघुलिपिको प्रयोग गरेको थिएँ । संक्षेपमा भन्ने हो भने, उक्त लघुलिपिमा साबिक देवनागरी लिपिमा प्रचलित १६ वटा स्वरवर्णको ठाउँमा १० वटा स्वरवर्ण र ३६ वटा व्यञ्जनवर्णको ठाउँमा २९ वटा व्यञ्जनवर्णको प्रयोग गरिएका छन्, किनभने त्यस लिपिमा श, ष, र ण एकातिर छैनन् भने अर्कारित ड, ढ, क्ष, त्र, ज्ञ पनि छैनन् । साथै ञ–को काम यँ ले, ज्ञ–को काम ग्यँ ले र क्ष–को काम क्छ–ले चलाइएको छ । मेरो त्यसै प्रयासलाई भाषिक कट्टरपन्थका समर्थकहरूले ‘छाडा’ ठानेको हुनुपर्छ, जसरी धेरै आलोचकहरूले डेरिडालाई पनि ध्वंसकको संज्ञा दिने गर्छन् । लघुलिपि सम्बन्धी अलि विस्तृत विवरण र छलफल मेरो अनुस्मरण शीर्षकमा छ । यसै प्रसङ्गमा के पनि थप्न चाहन्छु भने, हामीले उहिले पढ्ने गरेको अङ्ग्रेजी भाषाको समेत आज कायापलटक भएर ‘युरो–इंग्लिस’ (Euro-English) बनिसकेको स्थितिमा हामीले पनि आफ्नो भाषाप्रयोगमा समसामयिक सुधार ल्याउनुपर्छ भन्ने मात्र मेरो आग्रह हो, लघुलिपि त त्यस आग्रहको एक स्वरूप मात्र हो । त्यसलाई नै अपनाउनुपर्छ भन्ने मेरो लिँढेढिपी भने होइन । यस सन्दर्भमा यो पनि थपौं, ब्रिटिसहरूले Programme लेख्ने गरेको ठाउँमा अमेरिकीहरू program लेख्छन् catalogue को साटो catalog र colour को साटो color । अमेरिकी समाजशास्त्रीहरूको भनाइमा उनीहरूको प्रयोग बढी विज्ञानसम्मत छ किनभने भाषाशास्त्रको एउटा प्रमुख सिद्धान्त ‘इकोनमी अफ लेटर्स’ Economy of Letters) नै उनीहरू मान्यता दिएका हुन् ।

मेरो लघुलिपि पनि त्यो ‘इकोनोमी अफ लेटर्स’ को सिद्धान्तमा आधारित छ । त्यसैकारण म ‘रहेछ’ को साटो ‘रेछ’ प्रयोग गर्छु, रहेनछ–साटो ‘रैनछ’, त्यही को साटो ‘त्यै’, पहिलोको साटो ‘पैलो’, अहिलेको साटो ‘ऐले’ इत्यादि । यसलाई पनि छाडावादकै एक रूप हो भन्छन् भाषा–साहित्यकारहरू ।

भाषा र साहित्यको क्षेत्रमा मेरो अर्को पनि अडान छ, जुन धेरैलाई मन पर्दैन ।उदाहरणस्वरूप, आज भारतीय–को ठाउँमा भारतेली, फ्रान्सी वा फ्रान्सिसी– को ठाउँमा फ्रान्सेली, जस्ता जुन नौला प्रयोगहरू हाम्रो भाषामा जताततै देखिन्छन्, त्यो पनि सम्पूर्ण रूपमा सही हो जस्तो मलाई लाग्दैन । यद्यपि ‘ली’ प्रत्ययलाई बहिष्कार नै गर्नुपर्छ भन्ने पक्षमा म छैन । तथापि त्यसको प्रयोग नगरेरै काम चलेको छ भने चलिरहन दिऊँ भन्ठान्छु । जस्तै, अमेरिकी, रुसी, इरानी, आदि शब्दहरूले उपयुक्त अर्थ वहन गरिरहेकै हुनाले तिनका ठाउँमा अमेरिकाली, रस्सियाली, इरानेली, जस्ता शब्द–प्रयोगको कुनै औचित्य छ जस्तो मलाई लाग्दैन ।
त्यस्तै मुस्ताङे वा मुस्ताङी राजा, दार्जिलिङे चिया, हङकङे लाहुरे, आदि शब्दहरूकाठाउँमा मुसताङेली, दार्जिलिङेली, हङ्कङेली, आदि प्रयोग अपनाउनु पनि हास्यास्पद हुनजान्छ भन्ने मलाई लाग्दछ ।

अन्तमा, ‘न’ र ‘ण’ तथा ‘स’ र ‘ष’ – को प्रयोगका बारेमा पनि अरू धेरै कलमवाजहरूसँग मेरो मत मिल्दैन, जसको फलस्वरूप मैले ‘छाडावादी’को आक्षेप सहनुपरेको छ । उदाहरणस्वरूप, अङ्ग्रेजीको uncle / aunty शब्दलाई लिऊँ । नेपालीमा तिनै शब्द लेख्दा अन्कलको हिज्जेमा मतान्तर नभए तापनि अण्टी–लाई जब म अन्टी लेख्छु, धेरैको चित्त बुझ्दैन । त्यस्तै, अरूले लिष्ट लेखेकामा मैले लिस्ट लेख्दा पनि रडाको चलेको पाउँछु । तर अङ्ग्रेजी मूलमै नभएको ‘ण’ र ‘ष’ लाई जबर्जस्ती हामीले प्रयोग गर्नुपर्दछ भन्नेहरूसँग मेरो मत मिल्दैन । यसै सन्दर्भमा श्री कमल दीक्षितले सम्पादन गर्नुभएको र साझा प्रकाशनले छापेको ‘जंगबहादुरको बेलाइत यात्रा’मा पढेका निम्न वाक्यांशहरू यहाँ उद्धृत गर्न मन लाग्योः ‘वि.सं. १९०७ साल जेठ महिनाको १५ गते प्राइममिनिस्टर जंगबहादुर...राणाजी लन्डन पुगेका थिए । त्यहाँ उनी रिचमन्ड टेरेसमा बसे । ... उनले डाक्टर बेन्जामिनलाई एक सय पाउन्ड हातमा राखिदिए ।’... इत्यादि ।

अब के त, हामीले उक्त प्रयोगहरूलाई ‘सुधारेर’ प्राइममिनिष्टर, लण्डन, रिचमण्ड र पाउण्ड जस्ता शब्दहरू प्रयोग गर्ने त ?

तपाईंका निबन्धहरूमा उत्तर आधुनिकताको पुट पनि भेटिन्छ भन्ने सुनेको छु । के त्यो सही हो ?
निबन्ध लेखनमा म फ्रान्सका मोतें र बेलाइतका बेकनबाट बढी प्रभावित भएको भए तापनि म उत्तरआधुनिकतालाई नवीनताको खोजीमा हिँडेको एक क्रान्तिकारी परिवर्तनको पक्षधर ठान्दछु र त्यसको प्रयोग पनि यदाकदा गरेको छु । फ्रेडरिक नित्सेले ट्वाइलाइट अफ दी आइडोल्स (Twilight of the idols) मा भने झैं रीतिवादी र जड रूढीवादीहरू माथिको अविश्वासलाई टेकेर कला (संस्कृति, साहित्य, भाषा, इतिहास आदि) को क्षेत्रमा पर दर्शनले प्रवेश गरेको ठान्ने म यसलाई नवीनताको खोजीमा हिँडेको एक बहुलाको पृष्ठपोषक पनि ठान्दछु र मानिसको आस्था होस् वा दर्शन–राजनीति होस् वा विज्ञान, हरेक क्षेत्रमा पुराना एकलवादी मूल्य–मान्यताहरू समयसँगै रूपान्तरित हुँदै जान्छन् अनि तिनको ठाउँ नयाँ बहुलताले लिँदै जान्छ भन्ने पोष्ट मोडर्निष्ट मान्यताको कदर गर्दछु ।

अन्त्यमा तपाईंले आफ्नो साहित्यिक नाम केवल नगेन्द्र राख्नुभएको छ, शर्मा हटाएर किन ?
हाम्रो समाजको एउटा प्रमुख विकृति जातभात प्रथा हो, जसले हामीहरूमा एकात्म्यको भावना जागृत हुन दिँदैन । नगेन्द्र शब्दले नै मलाई व्यक्तिको रूपमा परिचय दिइहाल्छ, उपाध्याय वा शर्माको फूलझडी किन चाहियो भन्ने लाग्छ । समावेशी समाजतर्फको एक क्रुड् ९ऋचगमभ० पूर्वकल्पना नै भन्नोस् । (नगेन्द्र शर्माले शुरूमा पढाइले वकालत गरे पनि पेशाले उनी पत्रकार र वकालत पेशामा संलग्न भए । सधै नै साहित्यमा, निबन्धकार र संस्मरणकारका रूपमा आफूलाई निरन्तरता दिए । नगेन्द्रको नेपाली र अङ्ग्रेजीमा बराबर हात चले पनि उनी स्थापित निबन्धकार र संस्कृतिविद् हुन् । ८३ वर्ष पुगेका नगेन्द्रको लेखनको निरन्तरता हेर्दा लाग्छ साहित्यकार बूढो हुँदैनन् कि केहो ? उनलाई स्वास्थ्यले साथ

दिइराखोस् भन्ने अनुभूति लिएर म २०६९ मङ्सिर २६ गते बिहान ११ बजे नगेन्द्र दाइको मण्डिकाटार स्थित घरबाट घर फर्किएँ । उनको अङ्ग्रेजी र नेपाली भाषामा एउटै रफ्तारमा लेख्ने क्षमता इर्स्यालाग्दो छ ।)


􀁹􀁹􀁹