काठमाडौं, ४ वैशाख – नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) पहिलोपटक अन्तरिक्षमा आज प्रक्षेपण गरिने भएको छ ।  

स्याटेलाइट आज राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जनाएको छ।

अमेरिकाको भर्जिनियामा रहेको वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट पनि प्रक्षेपण गर्न लागिएको हो । 
जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका नेपाली विद्यार्थीले तयार गरेको स्याटेलाइट आज प्रक्षेपण गर्न लागिएको हो ।

  यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान नास्टले गरेको छ । 
स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले भू उपग्रह तयार गरेका हुन् । 

स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको  छ। सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नाष्टको लोगोसहित विद्यार्थीहरुको नाम पनि उल्लेख छ । 

स्याटेलाइटको तौल एक किलो तीन सय ग्राम रहेको छ । स्याटलाइट प्रक्षेपणका लागि  नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । 

नास्टका अनुशार नेपाली स्याट वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । यो स्याटलाइटले दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँनेछ भने  चारपटक नेपालको आकाशमा आउने  छ ।