काठमाडौं, २५ भदौ – पशुपतिनाथका भट्टहरुले फुलका टोकरीहरुमा सुन, सुनचाँदीका गर–गहना मोवाईल तथा पैसाहरु बाहिर लाने गरेको तथ्य बाहिर आएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पशुपतिनाथ मन्दिरको गुरुयोजना बारे छलफल कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)  सांसद नारदमुनी रानाले आफूलाई पशुपतिका भट्टहरुले टोकरीबाट भेटी र गहना बाहिर लाने गरेको सूचना आएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, पुजा गर्न आएकी एक महिलाको फुलको टोकरीमा सुन, मोबाइल र ५० हजार पैसा राखिदिएछन्, पछि फोन गरेर टोकरी साटिएछ भन्दैै मागेर लगेको सुचना आफुसँग आएको छ । भेटी, गहना र पैसा लाने काम भइरहेको कुरा आइरहेको छ, यसलाई रोक्न सक्नुपर्छ सांसद राणाको भनाई थियो  ।

उहाँले वास्तविकता के हो त्यसको बारेमा खोजी भइरहेको छ तर यस्ता संवेदनशील स्थानमा सिसि क्यामेरा राखी निगरानी गर्नुपर्ने बताउनुभयो ।