काठमाडौं, ३० फागुन – सरकारका प्रवक्ता एवं सूचार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई समेत कार्वाही गरिने सरकारको निर्णय भएको बताउनुभएको छ ।

मन्त्रीपरीषदका निर्णयहरु सार्वजनिक गर्दै संचारमन्त्री बाँस्कोटाले संविधान कार्यान्वयन गर्न, जनताको लामो संघर्षबाट आएको लोकतन्त्रलाई खलल पु¥याउँदै नेकपाले केही समययता अपराधिक तथा विध्वंसात्मक कार्य गर्दै आएकोले प्रतिबन्ध गर्नुपरेको बताउनुभयो । मन्त्रिपरिषद्का निर्णय सार्वजनकि गर्न आयोजित पत्रकार सम्मलेनमा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले विप्लप समूहले अपहरण धम्की, बम विस्फोट, जनजीवनमा त्रास फैलाउने, कर्मचारी र जननिर्वाचित प्रतिनिधिलाई धम्की दिने गरेको भन्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाएको बताउनुभयो ।

नेकपाले संचार सेवालाई निशानामा राखेर विस्फोट गर्ने गरेको समेत बाँस्कोटाले बताउनुभयो । उहाँले मन्त्रिपरिषद्ले नेकपासँग रहेका अवैध हातहतियार र खरखजानाको नियन्त्रण गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो ।

सरकारले नेकपासँग भएका हातहतियार र खरखजाना सेना र नजिकको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने बाँस्कोटाले बताउनुभयो । ‘हातहतियार बुझाउनेलाई भने कुनै किसिमको कारबाही नहुने’ मन्त्री बाँस्कोटाको भनाई छ । ‘जसको नाममा हातहतियार दर्ता भएको हो उसको मृत्यु भए त्यस्ता हतियार पनि सरकारलाई बुझाउन’ सरकारले निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।