काठमाडौं, २४ साउन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनप्रतिनिधिहरुलाई पार्टीमा कार्यकारी पद नदिने निर्णय गरेको छ ।  

बिहीबार बसेको सचिवालय बैठकले संघ र प्रदेशका मन्त्री, दल नेता र उपनेता, प्रमुख सचेतक, सचेतक, संसदीय समिति सभापति र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टीमा कुनै पनि स्तरको कार्यकारी पद नदिने निर्णय गरेको हो ।  उनीहरुले अध्यक्ष र सचिव जस्ता कार्यकारी पद अव पाउने छैनन् ।  

‘सांगठनिक एकीकरण सहज बनाउन संघीय मन्त्री, प्रदेशका मन्त्री, संघीय प्रमुख सचेतक, सचेतक, प्रदेश प्रमुख सचेतक, सचेतक, मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष कसैलाई पनि पार्टीको कार्यकारी पद नदिने निर्णय भएको छ’ बैठकपछि प्रबक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुलाई भन्नुभयो ।  संघीय र प्रादेशिक सांसदलाइ जिल्ला र त्यसभन्दा तल्लो कमिटीको अध्यक्ष र सचिव नदिने निर्णय भएको छ ।

उनीहरुलाई प्रदेश कमिटीको नेतृत्व गर्न बाटो भने खुला भएको छ । प्रदेशमा अध्यक्ष र सचिव कार्यकारी पद हुनेछ भने ईन्चार्ज सहईन्चार्ज पद पनि छ । बैठकले जनसंगठन र विभिन्न कमिटीहरुको प्रतिवेदन पेश गर्ने म्याद थप गरेको छ । विशेष सर्कुलर जारी गर्दै भोलि २४ गतेको म्याद दिएको नेकपाले त्यसलाई लम्ब्याएर साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न भनेको हो ।

सबै कार्यदललाई केन्द्रीय सल्लाहकार, राष्ट्रिय परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, विभिन्न आयोग तथा विभागमा राख्ने सदस्यहरुको नाम सिफारिस गर्न पनि भनेको छ । सचिवालय बैठकले भदौ ८ र ९ स्थायी कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ । 

बैठकले साउन मसान्त सम्ममा राजनीतिक प्रतिवेदन पनि प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै भाद्र ८ र ९ गतेका लागि पार्टी स्थायी समितिको बैठक गर्ने निर्णय भएको छ । 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने निर्णय पनि गरेको छ । पेरिसडाँडामा भने जनबर्गीय संगठनका केन्द्रीय कार्यालय, बिभाग र अन्य आवश्यक कार्यलय राख्ने निर्णय गरिएको श्रेष्ठले बताउनुभयो ।  

त्यसैगरि, चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सेप्टेम्बर १२ देखि १९ सम्म पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा एक साताको लागि प्रमण्डल पठाउने निर्णय पनि बैठकले गरेको छ । 

बिभिन्न नियम, निर्देशिका, आचारसंहिता निर्माण गर्न सुवास नेम्वाङको नेतृत्वमा एक कार्यदल बनाइएको छ । त्यसमा भीम रावल, हरिबोल गजुरेल, पम्फा भूसाल, जनार्दन शर्मा र बेदुराम भूषाललाई समावेश गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।