काठमाडौं, २३ मंसिर–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ले विधान संशोधन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले पार्टीको कार्यदिशा र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी स्थायी समिति बैठकमा सो प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

एकताअघि एमालेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यदिशा मान्दै आएको थियो भने माओवादी केन्द्रले एक्काइसौं शताब्दीको जनवाद रहेको थियो । दुबै पार्टीको विचारसमायोजन गरी नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएर अधिकतम लक्ष्य समाजवाद स्थापना गर्ने बनाएको थियो । ‘जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपुर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एंव लोकतान्त्रिक मूल्यसहित समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो,’ नेकपाको विधानमा भनिएको थियो ।

पछिल्लो पटक नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको निर्णयसँगै बिधान संशोधनको गृहकार्य अघि बढाइएको थियो । सोअी क्रममा कार्यदिशा पनि संशोधन गर्ने निश्कर्षमा नेकपा पुगेको हो । नेकपाले केही समय अगावै बिधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव सहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ । संशोधनमा उपाध्यक्ष थप गरिनेछ । विधान संशोधन भएर उपाध्यक्ष पद सिर्जना भएसँगै गौतम उपाध्यक्ष बन्नु हुनेछ ।

त्यस्तै आजको बैठकले केन्द्रीय निकायहरु केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोगहरु र विभागको पूर्णताका लागि प्रमुख र उपप्रमुखहरुले ७ दिनभित्र महासचिवमार्फत प्रस्तत गरी सचिवालय बैठकले सवै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको थियो ।

त्यस्तै कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरिएको छ । उनलाई काममा फर्किन निर्देशन दिएको छ । सचिवालयको आगामी बैठक मंसिर २७ गते र स्थायी किमिटि बैठक मंसिर २९ गते ११ बजेका लागि बोलाइएको छ ।