क्वालालम्पुर २९ चैत – आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।  मलेसियामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरको टोलीले पनि ३१ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र जोड्न सक्यो । 

नेपालका तर्फबाट पवन सर्राफले ६ ओभरमा ५ ओभर मेडन राख्दै ५ रनमात्र खर्चेर ३ विकेट लिए । कुशल मल्ल र सूर्य तामाङले २र२ र रशिद खानले एक विकेट लिए । सिंगापुरका दुई खेलाडी रनआउट भएका थिए । 

नेपालले ठूलो स्कोर बनाउँदा कप्तान रोहितकुमार पौडेलले ९५ र पवन सर्राफले ४७ रनको योगदान गरेका थिए । कप्तान पौडेल ५ रनले सतक बनाउनबाट चुके । पुरै ओभर खेलेको भए नेपाली टोलीले ३०० भन्दा पनि बढीको योगफल बनाउन सक्थ्यो । 

२०१७ को विश्वकप छनोटमा नेपालले सिंगापुरविरुद्धका दुवै खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा २२ रन तथा दोस्रोमा ४ विकेटले विजयी भएको थियो ।