स्विजरल्यान्डको डाभोसमा मङ्गलबारदेखि हुने विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपालको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । डाभोस सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सहभागिता पहिलो हो । वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारासहित अघि बढिरहेका बेला विश्वका लगानीकर्ताहरूको सक्रिय सहभागिता रहने सो सम्मेलन नेपालमा लगानी भित्र्याउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसँग यसको तालमेल के छ ? आगामी चैतमा हुन गइरहेको लगानी सम्मेलनका निम्ति डाभोस फोरमको प्रभाव केही रहन्छ ? परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनाल तथा उपसम्पादक लक्की चौधरीले गर्नुभएको कुराकानी – 

नेपालको तर्फबाट प्रधानमन्त्रीसहित स्विजरल्यान्डको डाभोसमा हुने वल्र्ड इकोनोमिक फोरममा भाग लिन जाँदै हुनुहुन्छ, तयारी कस्तो छ ?
नेपाललाई प्राप्त महत्वपूर्ण अवसर र सम्मान हो यो । विश्व आर्थिक मञ्चको सम्मेलन विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यावसायिक जगत्का अग्रज, अर्थशास्त्री तथा नागरिक अगुवाहरु सहभागी हुने कार्यक्रम हो यो । यसले आर्थिक वहावहरूलाई निकै गहिरो गरी प्रवाहित गर्नेछ । त्यहाँ कुनै ठोस प्रस्ताव र सम्झौता त केही हुँदैन तर सम्मेलनले निकालेको निस्कर्षले विश्वको आर्थिक गतिविधिको दिशा तय गर्नमा ठूलो प्रभाव पार्छ । हामीले केही सन्देश दिने तयारी गरेका छौं । भेटघाटमा नेपालका तर्फबाट उठाउने विषयको तयारी भए

को छ । विश्वव्यापारमा जुन खालका आर्थिक सङ्कट देखिएको छ, त्यस्तो अवस्थामा नेपालजस्तो अल्पविकसित र भपूरिवेष्ठित मुलुकको तर्फबाट आर्थिक सङ्कट र लिनुपर्ने बाटोका बारेमा बैठकमा धारणा राख्छौं ।

हामीले प्रधानमन्त्री तहबाट पहिलो पटक सम्मेलनमा भाग लिदैछौं, हाम्रो आर्थिक समृद्धि र विकासको लक्ष्यको विषयलाई त्यहाँ प्रवेश गराउँदैछौं ?
विश्व परिदृष्यमा नेपालले समावेशी प्रगतिशील आर्थिक संरचना निर्माण गर्न खोजिरहेको छ । अहिले नेपालले लिने आर्थिक बाटो र लक्ष्यका बारेमा विश्वको चासो छ । हामीले सङ्क्रमणकाल टुङ्ग्याएका छौं । स्थिर सरकार बनाएका छौ । जसरी मौलिक ढङ्गले शान्तिप्रक्रिया टुङ्ग्याएर संविधान निर्माणको काम गरेर विकासको स्पष्ट बाटो तय गरेका छौं । 

यसप्रति विश्वको गहिरो अभिरुची छ । निश्चित लक्ष्यसहित सन् २०२२ अगावै अल्पविकसित अवस्थाबाट माथि उठ्ने, २०३० सम्म मध्य आयको मुलुकमा जाने, त्यसका निम्ति विश्वका सबै मित्रहरुसँग साझेदार बन्दै अगाडि बढ्ने हाम्रो आह्वानलाई विश्वले सुनेको छ । पछिल्ला कुटनीतिक गतिविधिमा ती कुरा प्रतिविम्बित भएका छन् । विश्व आर्थिक मञ्चमा नेपाललाई बोलाइनु भनेको नेपालको बदलिदो राजनीतिक परिदृष्य र नेपालले लिएको बाटोप्रतिको रुचि र आकर्षणको रुपमा पनि यसलाई लिन सकिन्छ ।

फोरममा पुँजीवादीको सहभागिता बढी हुन्छ, नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वको बहुमतको सरकार छ, यसलाई कसरी हेर्न सकिएला ?
निश्चय नै विश्व आर्थिक मञ्चमा संसारका नाम चलेका, प्रतिष्ठित नेताहरू आउनुहुन्छ । अहिले विश्वमा दुईवटा आर्थिक धारहरू सँगसँगै अघि बढिरहेका छन् । यसअघि चीनका राष्ट्रपतिले सो फोरममा भाग लिएर सम्बोधन गरिसक्नु भएको छ । अरु देशका समाजवादी नेताहरूको पनि त्यहाँ सहभागिता हुन्छ । नितान्त पुँजीवादीको फोरमको रुपमा बुझ्नु हुँदैन । एकले अर्काको धारणा सुन्ने, विचार निर्माण गर्ने, नजिकबाट नियाल्ने र सहकार्यको साझा धार निर्माण गर्ने फोरमको रुपमा यसलाई बुझ्नु पर्छ । विश्वका संरचनाहरुमा एउटा वर्गको वर्चस्व छ, त्यो यथार्थ हो । तर ती ठाउँमा श्रमजीवी वर्गको, पछाडि परेका र अल्पविकसित राष्ट्रहरुको आवाज पुर्याउन पनि आवश्यक छ । ती वर्गको आवाज उठाउने साझा थलोको रुपमा पनि यसलाई बुझ्दा बाञ्छनीय हुन्छ होला ।

नेपालमा संविधान बनेको छ, राजनीतिक क्रान्ति पूरा भएको छ । आर्थिक लगानीका लागि यो फोरमलाई हामीले कसरी उपयोग गर्ने सोचेका छौं ?
यो एकदम सुखद समय हो । हामीले आगामी चैत १५ र १६ गते काठमाडौँमा लगानी सम्मेलन पनि गर्ने तयारी गरेका छौं । त्यसका लागि बढीभन्दा वढी लगानीकर्ता भित्र्याउन हामी चाहन्छौं । त्यसका निम्ति एकातिर आन्तरिक तयारी तदनुरुप नै अगाडि बढाएका छौं । कानुनमा भएका कतिपय असान्दर्भिक र लगानीमैत्री नभएका कानुनी र प्रशासनिक संरचनालाई सच्याएर, लगानीमैत्री वातावरण बनाएर अगाडि बढ्ने तयारी गरेका छौं । यो मञ्चबाटै नेपालका निम्ति फरक सन्देश दिन चाहन्छौं । यो मञ्चबाटै अब नेपाललाई फरक आँखाबाट हेर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छौं । नेपाल अदक्ष कामदारको स्रोत देशमात्र अब रहेन । युवा जनशक्ति भएको जीवन्त भूभाग रहेको देश हो । क्लिन इनर्जीमा जोड दिएको मुलुक हो । शुन्यबाट सुरुभएर आर्थिक बृद्धिदर सात प्रतिशतमा पु¥याएका छौं । भूकम्प ताका हाम्रो आर्थिक बृद्धि शुन्य अवस्थामा थियो । लगातार आर्थिक बृद्धि बढाउने तयारीमा छौं । 

आर्थिक कुटनीति भन्ने वित्तिकै विकसित देशबाट आर्थिक सहायता लिने, लगानी भित्र्याउने, गैर आवासीयलाई नेपालमा लगानी गर्न वातावरण बनाउने कुरा, व्यापार प्रवद्र्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने कुरा, नेपालमा पर्याप्त रोजगारीको अवसर नहुन्जेलसम्म हाम्रा युवाका निम्ति सुरक्षित श्रम गन्तव्य र सम्मान आदि आर्थिक कुटनीतिकका यी पक्षहरूमा फोकस गरिरहेका छौं, यो फोरममा त्यो विषय उठाउँछौं ।

पर्याप्त सम्भावना छ हामीसँग । जलस्रोत, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, जनशक्ति विकासको सन्दर्भमा पर्याप्त सम्भावना छ हामीसँग । झण्डै तीन करोडको जनसङ्ख्या छ । निरन्तर विस्तार भइरहेको आर्थिक बजार हामीसँग छ । मध्यमवर्गको सङ्ख्या बढ्दो छ । विश्वको आर्थिक बजारसँगको सम्बन्ध विस्तार भएको छ । विश्वका लगानीकर्ताले मुनाफा हासिल गर्ने र नेपाल र लगानीकर्ताको विन–विनको अवस्था हुने सन्देश हामीले फोरममा दिने तयारी गरेका छौं । त्यसका लागि महत्वपूर्ण साइडलाइन बैठक र भेटघाट हुनेछ । त्यसले हाम्रो यहाँ लगानी गर्नमा टेवा पुर्याउँछ भन्ने अपेक्षा छ ।

फोरममा हाम्रा मिटिङका मुख्य प्राथकिता के के छन् ? साइडलाइन बैठकको एजेण्डा के के रहने छन् ? 
हामीले पस्किने धेरै चिज छन् । पहिलो कुरा उहाँहरूको रुची जान्ने कोशिस गर्नेछौं । नेपालमा अहिले जतिपनि मल्टिनेशनलले काम गरिरहेका छन्, उनीहरूले मनग्य मुनाफा कमाएका छन् । चाहे स्ट्याडर्ड बैङ्कको कुरा गर्नुस्, सूर्य नेपाल, युनिलिभर, एनसेल कम्पनीको कुरा गर्नुस् जति पनि वैदेशिक लगानी गरेका छन्, राम्रो आम्दानी गरेका छन्, यो पनि एउटा सूचक हो । नेपालमा विदेशी लगानीको अनुकुल वातावरण छ भन्ने यसले सन्देश दिन्छ । अझ हामी यो वातावरणमा सुधार गर्दै जान्छौं । नेपालमा युवा जनशक्ति ठूलो छ । कामको व्यग्रतामा छन । जतिसुकै मिहिनेत गर्न तयार छ । त्यसलाई लक्षित गरेर विदेशी लगानीकर्ताले काम गर्नुपर्छ । कनेक्टिभिटी पनि हामीले बढाइरहेका छौं । छिमेकी मुलुकहरू विशाल बजारका रुपमा छन् । त्यसबारेमा पनि जानकारी गराउँछौं ।

यो फोरममा वैदेशिक सम्बन्धको विविधिकरणको विषयलाई अझै फराकिलो गर्न नेपाल लागेको छ भन्ने अर्थमा पनि बुझ्न सकिएला ? 
निश्चय नै हाम्रा सम्बन्धका धेरै आयाम छन् । मैले मुख्यतः चारवटा आयामको कुरा गर्ने गरेको छु । छिमेक विकास साझेदार, श्रम गन्तव्य मुलुक, बहुपक्षीय र क्षेत्रीय मञ्च । यो पनि एउटा बहुपक्षीय मञ्च नै हो । अनौपचारिक तथा धेरै अर्थ राख्ने मञ्च हो । यी सबै सम्बन्धमा हामी सक्रिय हुन चाहन्छौं । अबको हाम्रो मुख्य जोड आर्थिक कुटनीति नै हो । आर्थिक कुटनीति भन्ने वित्तिकै विकसित देशबाट आर्थिक सहायता लिने, लगानी भित्र्याउने, गैर आवासीयलाई नेपालमा लगानी गर्न वातावरण बनाउने कुरा, व्यापार प्रवद्र्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने कुरा, नेपालमा पर्याप्त रोजगारीको अवसर नहुन्जेलसम्म हाम्रा युवाका निम्ति सुरक्षित श्रम गन्तव्य र सम्मान आदि आर्थिक कुटनीतिकका यी पक्षहरूमा फोकस गरिरहेका छौं, यो फोरममा त्यो विषय उठाउँछौं ।

यो सरकार बनेपछि सन्तुलित वैदेशिक सम्बन्धमा जोड दिएको देखिन्छ । तर केही विज्ञहरूले नेपालको वैदेशिक सम्बन्ध सन्तुलित भएन भन्ने टिप्पणी गरिरहेका छन्, यसमा के भन्नुहुन्छ ?
पहिलो कुरा म के देख्छु भने, हाम्रा विदेश सम्बन्धमा कलम चलाउने लेखक, विश्लेषकले कतिपय सन्दर्भमा पर्याप्त सूचनाको परीक्षण नगरेर हल्काफुल्का टिप्पणी गरेको देखिन्छ । कतिमा बुझाईको समस्या, कतिमा आग्रहको समस्या, कतिमा अन्यौलको समस्या देखिन्छ । कसरी नेपाल यतिधेरै सक्रिय हुनसक्छ ? भन्ने अन्यौलले काम गरेको देखिन्छ । म फेरि प्रष्ट पार्न चाहन्छु । मैले माथि भनेको चारवटै आयामलाई ध्यान दिएर काम गरिरहेका छौं । अमेरिका हाम्रो महत्वपूर्ण विकास साझेदार राष्ट्र हो । औलो उन्मुलनदेखि धेरै पक्षमा सहयोग गर्दैआएको मुलुक हो । त्यो सम्बन्धलाई हामी अझ अगाडि बढाउन चाहन्छौं । विश्वको शक्तिशाली राष्ट्रको नाताले उससँग बढी छलफल सहभागी हुने र हाम्रो विकासको यात्रामा बढी साझेदार गर्न चाहन्छौं । लेखक तथा विश्लेषकहरूलाई अपरिपक्व ढङ्गले टिप्पणी नगर्न म आग्रह गर्दछु । 

हामी विभिन्न कर्पोरेट लिडरहरुसँग भेटदैछौं । समग्र मञ्चबाटै नेपाल के हो? भन्ने चिनाउँछौं । आर्थिक र विकासका दृष्टिकोणले नेपालको आवश्यकताबारे बुझाउँछौं । लगानीका निम्ति नेपाल नै किन ? नेपालमा बढी आकर्षित हुनुपर्ने औचित्य के हो ? त्यो कुरा हामीले त्यहाँ प्रष्ट पार्नेछौं । अब नेपाल विकासको गतिमा गएको छ, लगानीको उपयुक्त समय यही हो भन्छौं ।

सबैसँग मित्रता कायम गर्ने, कसैसँग वैरभाव नराख्ने हाम्रो वैदेशिक नीति छ । छिमेकीसँग विश्वासमा आधारित सन्तुलित सम्बन्ध राख्ने हाम्रा घोषित नीति हो । नेपाल कुनै पनि सैन्य र रणनीतिक गठबन्धनहरुसँग जोडिदैन । हामी मुलतः सबै मित्रहरुसँगको साथ, सहयोग, सदभाव लिएर छोटो समयमा समृद्ध नेपाल बनाउन चाहन्छौं । हाम्रा स्वार्थ र चाहना यिनै हुन् । यसभन्दा बढी बुझ्नु हुँदैन ।

ठूला शक्ति राष्ट्रका आफ्नै प्रतिस्पर्धा र साझेदारिता छन् । मान्छेले प्रतिस्पर्धाको कुरामात्र गरिरहेका छन्, त्यो सही होइन । चीन र अमेरिकाबीचमा तनाव पनि देखिन्छ र लगानीमा साझेदारिता पनि छ । भारत–चीनबीचको विषय पनि त्यही हो । निरन्तर संवाद र साझेदारी देखिन्छ । विश्वमा तीव्र प्रतिस्पर्धा र साझेदारिताको स्पष्ट धार छ । नेपालले के गर्नुपर्छ भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ । यो विषय त्यहीरुपमा बुझ्न म आग्रह गर्दछु ।

कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्ने अफवाह अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउने प्रयास भएको देखिन्छ, यसलाई कसरी लिनुभएको छ ?
निश्चय नै जिज्ञासा होलान् । सहज अनुमान गर्न सकिन्छ । २१ औं शताब्दीको यो दोस्रो दशकमा प्रतिस्पर्धाबाट विपक्षी दलको नेतृत्वमा भएको निर्वाचनबाट झण्डै दुई तिहाई बहुमतसहितको कम्युनिस्ट सरकार बनेको छ अहिले । कतिपयका लागि यो एक पहेली जस्तो होला । कतिमा आग्रह पनि होला । नाम, रङ्ग, विचारधाराप्रति पनि आग्रह छ । ढोकै बन्द गरेर बसेकाहरूका लागि त केही गर्न पनि सकिदैन । हाम्रो प्रधानमन्त्री लोकतन्त्रका निम्ति सम्झौतारहित १४ वर्ष काराबास बस्नुभयो । उहाँको लोकतन्त्र प्रतिको निष्ठा के हो भन्ने बुझाउँछ । कम्युनिस्ट आन्दोलनको आरोह अवरोह र यसका सफलता र असफलताबाट काफी पाठ सिकेका छौं । हामी अरुले निर्माण गरेको जुत्तामा खुट्टा हाल्दैनौं, हामी हाम्रो खुट्टा अनुसारको जुत्ता आफै सिलाउँछौं । मदन भण्डारीले त्यही भन्नुभएको हो । सिद्धान्तका निम्ति जीवन हैन कि जीवनका निम्ति सिद्धान्त हो ।

 नेपाल कुनै पनि सैन्य र रणनीतिक गठबन्धनहरुसँग जोडिदैन । हामी मुलतः सबै मित्रहरुसँगको साथ, सहयोग, सदभाव लिएर छोटो समयमा समृद्ध नेपाल बनाउन चाहन्छौं । हाम्रा स्वार्थ र चाहना यिनै हुन् । यसभन्दा बढी बुझ्नु हुँदैन ।

हाम्रो अर्गानिक हुर्काइका कारण यो ठाउँमा पुगेका छौं । कसैको आशीर्वादले होइन । कसैको चमतकारले पनि होइन । हाम्रा जडो यति बलियो बनेका छन् कि त्यत्रो ठूलो आँधी तुफानले पनि हामीलाई हल्लाउन सकेन । लोकतन्त्रप्रति हाम्रो बुझाई के हुन् भन्ने हामीले प्रष्ट पारेका छौं । लोकतन्त्रका निम्ति केही विश्वव्यापी मान्यता छन् । जुन सबैका निम्ति स्वीकार्य छ । हरेक देशमा लोकतन्त्रको ऐतिहासिक पृष्ठभूमि पनि छन् । त्यहाँको सामाजिक, सांस्कृतिक,आर्थिक विशेषता छ । अहिले प्रधानमन्त्रीले समृद्ध लोकतन्त्रको कुरा गरिरहनुभएको छ । डाभोस फोरममा पनि हामीले समृद्ध लोकतन्त्रको सन्देश दिन्छौं । लोकतन्त्र केवल प्रणालीमा मात्र सीमित हुनुुहुन्न । पाँच वर्षपछि निर्वाचन गर्ने, जित्नेले सरकार चलाउने, हार्नेले प्रतिपक्षीमा बस्ने मात्र होइन । यतिले जनताको आर्थिक भोक मेटिदैन । कहीं न कहीँ त कमजोरी भयो । जनता तीव्र विकासको भोकमा छन् । बजारले सबैलाई अवसर दिएन । लोकतन्त्रमा कहाँनिर कमजोरी रहयो भन्ने वहस हुनुपर्छ । यसबाट धेरैको जिज्ञासा मेटिने छन् । भ्रमहरु मेटिने छन् ।

पचास वर्षमा पहिलो पटक सरकारी पक्षबाट नेपालको सहभागिता भइरहेको छ, यसभन्दा अघि नेपालको सहभागिता हुन नसकेको कारण के हो ?
यसभन्दा अगाडि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको प्रतिनिधित्व भएको थियो । निजी क्षेत्रबाट त्यो फोरममा सहभागिता भएको देखिन्छ । तर सरकारी तहबाट प्रधानमन्त्रीसहितको सहभागिता यो पहिलो नै हो । सम्भवतः हाम्रो अस्थिरता नै कारक होला सहभागिता नभएको । अस्थिरताले देशको पहिचान हराउँछ । नीतिहरूमा संगित हुँदैन । सरकार फेरिएसँगै नीति र प्राथमिकता फेरिन्छन् । मञ्चले यसअघि यही कारणले नेपालको सहभागिताको आवश्यकता ठानेन कि । अहिले नेपालको कुरा पनि सुन्नुपर्छ भन्ने ठान्यो, नेपालको कुरा सुन्नयोग्य भयो सायद । नेपाललाई फोरममा सहभागी गराउनु हाम्रो लागि गौरवको विषय हो ।

आगामी चैतमा नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौं, त्यो सम्मेलनसँग यो फोरमलाई कसरी जोड्न सकिएला ? 
हामी विभिन्न कर्पोरेट लिडरहरुसँग भेटदैछौं । समग्र मञ्चबाटै नेपाल के हो? भन्ने चिनाउँछौं । आर्थिक र विकासका दृष्टिकोणले नेपालको आवश्यकताबारे बुझाउँछौं । लगानीका निम्ति नेपाल नै किन ? नेपालमा बढी आकर्षित हुनुपर्ने औचित्य के हो ? त्यो कुरा हामीले त्यहाँ प्रष्ट पार्नेछौं । अब नेपाल विकासको गतिमा गएको छ, लगानीको उपयुक्त समय यही हो भन्छौं । लगानीकर्ताको रुचीको क्षेत्र पहिचान गर्नेछौं । नेपाललाई चिनाउने राम्रो अवसर पनि हो । यो भेटघाटले नेटवर्किङ बनाउनेछ र यसले लगानीमा ठूलो प्रभाव पार्छ भन्ने हाम्रो विश्वास छ ।

गोरखापत्रबाट साभारः