काठमाडौँ -प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि भोलि जनकपुर आउँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर विवाद र वहस भइरहेका छन् ।

२०७२ असोज ३ मा जारी संविधानप्रति असन्तुष्टी जनाउँदै लगाएको नाकाबन्दी र त्यसबाट पाएको पिंडा र दुःख नेपाली नागरिकले बिर्सन सकेका छैनन् । त्यो पनि त्यस्तो बेला भारतले नाकाबन्दी लगायो, जतिबेला महाभूकम्पबाट  थिलथिलो भएका नेपालीहरु उठ्न समेत सकेका थिएनन् ।

मित्रहरुको भूमिका पर्दा र मर्दा देखिन्छ भन्ने नेपाली भनाई छ । वास्तविक मित्र त्यो हुन्छ, जो अफ्ठ्यारो परेका बेला सहयोगी हुन्छ भनिन्छ । तर भूकम्पबाट समग्र राष्ट्र कापिरहेको बेला, राष्ट्रिय मनोविज्ञान कमजोर भएको बेला भारतले आन्तरिक मामिलामा प्रहार गरी वास्तविक मित्रको परिचय दिन चुक्यो ।

त्यसैले नेपाली नागरिकलाई नाकाबन्दी बिर्सन गाह्रोपरेको हो । मोदी भ्रमणमा आउँदै गर्दा स्वभाबिक रुपमा जनताहरुले उक्त कार्यप्रति क्षमायाचनाको अपेक्षा गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले नेपाली नागरिकको चाहना अनुसार क्षमायाचना गर्छन् वा गर्दैनन्, त्यो उनको बिषय हो । 

नेपाली जनताको क्षमायाचनाको चाहना भाषाबाट मात्र मुखरित हुनुपर्छ भन्ने होइन । नेपाली जनताप्रतिको भारतको नीति व्यवहारबाट पुष्टि हुनुपर्छ । संविधानलाई स्वागत नगरेका मोदीले त्यही संविधान वमोजिमको निर्वाचन र त्यसबाट नेपालले प्राप्त गरेको राजनीतिक नेतृत्वलाई स्वीकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमण र  त्यसैको रेसिप्रोसिटीमा हुँदै गरेको मोदीको भ्रमण त्यसको एउटा प्रमाण हो । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएका छलफलका एजेण्डा, सहमति भएका बिषय र संयुक्त बक्तब्यको सार हेर्दा थाहा हुन्छ मोदी नेपालमा गलत कदम चालेको निश्कर्षमा पुगेका छन् । त्यसलाई भाषा र व्यवहारमा कसरी मात्र हो भन्ने देखिन्छ ।

जव मोदी बदलिएर विगतको ‘मिसस्टेप’ लाई सच्याउन चाहान्छन् भने त्यसलाई हामीले स्वागत नै गर्नुपर्छ । प्रधानमन्त्री मोदीलाई जनकपुर, काठमाडौं, मुस्ताङमा स्वागत गर्नमा कञ्चुस्याई गर्नुपर्दैन। 

प्रश्न फेरिपनि नेपाल–भारत सम्वन्ध कसरी अघि बढाउने भन्ने हो । अहिले भारतीय प्रधानमन्त्री मोदी नेपाल नीतिमा परिवर्तन हुन खोजेको देखिएका छन्, व्यवहार पनि त्यस अनुरुपकै देखिदैछन् । मोदीका यी नीति र व्यवहार रणनीतिक चाल नै रहेछन् भनेपनि त्यसको पूर्वानुमान गर्दै राष्ट्रले गर्ने व्यवहारमा कमी आउनुहुँदैन ।