झापा, २६ असार – झापाको मेचीनगर–५ नकलबन्दाकी १७ वर्षीया निकिता थापा मगरले ‘मिस टीन भारत’को उपाधि जित्नुभएको छ । 

पदम थापा मगर र निशा थापा मगरकी जेठी छोरी निकिता यही असार २० गते शुक्रवार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ प्रतियोगितामा भारतका ३० वटा प्रान्तबाट सहभागी सबैलाई उछिनेर बिजेता बन्नुभएको हो ।

दिल्लीमा ‘मिस टीन भारत’ जितेर भरखरै घर आइपुग्नुभएकी निकिताले प्रतिभाशाली प्रस्पिर्धीलाई पछि पार्दै आफू उपाधि जित्न सफल भएको बताउनु भएको छ । 
भारतको अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले आयोजना गरेको ‘मिस टीन भारत’को उपाधिसँगै निकिताले एक लाख भारु नगद पुरस्कार जित्नुभएको छ भने अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार वटा म्युजिक भिडियो र एउटा सर्ट मुभिमा अभिनयको सम्झौता गरिसकेको छ ।

प्रतियोगितामा निर्णायकहरुले सोधेको ‘जीवनको उद्देश्य के छ’ भन्ने निर्णायक प्रश्नको उत्तर दिँदै उहाँले भविष्यमा ‘मिस वल्र्ड’ बन्ने सपना साँचिसकेको बताउनु भएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तिब्बतका निर्वासित धार्मिक नेता एवम् नोवेल शान्ति पुरस्कार विजेता दलाइ लामाका बारेमा निर्णायकहरुले विभिन्न प्रश्न सोधेको निकिताले बताउनु भयो ।

प्रतियोगितामा उहाँ पश्चिम बङ्गालको तर्फबाट ‘मिस टीन भारत’मा भाग लिन दिल्ली पुग्नुभएको थियो । आयोजक संस्थाका प्रमुख अमन गान्धी र मिसेस राइजिङ एसिया २०१८ की विजेता काजोल भारद्वाजले नेपालबाटै प्रतिनिधित्व गर्न भनेपछि आफूले नेपालकै प्रतिनिधित्व गरेको उहाँको भनाइ छ ।निकिताले प्रतियोगितामा नेपाली गीतमा नृत्य गर्नुभएको थियो भने मगर भेषभूषामा कार्यक्रम अवधिभर प्रस्तुत हुनुभएको थियो ।

दुई वर्षअघि भारतको सिलगढीमा आयोजना भएको ‘मिस नर्थ बङ्गाल २०१७’ को समेत ताज जितिसक्नु भएकी निकिता पढाइमा अब्बल र राजनीतिमा अग्रसर प्रतिभाशाली विद्यार्थी भएको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताउनु भयो ।