काठमाडौं, १६ मंसिर–भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पूर्व हैसियत गुमायो । दुबैमा नेपाली कांग्रेसका उम्मेद्वार बिजयी बने । कास्की संघीय निर्वाचनमा बिद्या भट्टराई र दाङ प्रदेशसभा निर्वाचनमा विमला ओलीले जितेर पार्टीको हैसियत कायम राखे । किन गुमायो नेकपाले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिका ? किन कांग्रेसले जित्यो ? नेकपा नेतृत्वले यसमा गम्भीर समिक्षा गर्नुपर्छ । पूर्ब एमाले र पूर्व माओवादी भएर समिक्षा गर्ने होइन, नेकपा भएर समिक्षा गर्नुपर्छ । पूर्बभएर परिणामको बिश्लेषणमा न्याय गर्न सकिदैंन किनकी त्यहाँ आग्रह र प्रतिशोधमात्र छ । निर्वाचन कसको पक्षमा गयो ? वा गएन भन्ने पनि मुल प्रश्न होइन । प्रधानमन्त्री केपी ओलीको नेतृत्वले मुलुकले सही दिशा पक्रेको बेला सत्तारुढ पार्टीले आफ्नो स्थान गुमाउनु सामान्य अवस्था होइन ।

किन परिणाम यस्तो आयो ? 

पहिलो, भावनात्मक एकताको कमी । एमाले र एमाओवादी रुपमा एक भएपनि सारमा एक हुन सकेको देखिदैंन । आखिर पार्टी एकता गर्दा दुबैले कम्प्रोमाइज गरेका हुन । सैद्धान्तिक र कार्यनीतिक सोच फरक फरक हुँदा पनि ओली र प्रचण्डले समयको आवश्यकतालाई ध्यानमा राखेर एकताको नेतृत्व लिनुभएको हो । तर लामो समय एकिकृत संरचनामा आउन सकेन । जुन बेला आयो, कार्यकर्तामा असन्तुष्टी देखिन थालेको थियो । तल्लोतहसम्म कमिटी बन्न सकेका छैनन् भने निर्वाचनमा जाँदा पनि नेकपा गएको भन्ने खालको सोच बिकास भएन । पूर्व एमालेले पाए एमाले र पूर्ब माओवादीले पाए उही माओवादी भन्ने अवस्था आएको देखिन्छ । मतमा उल्लेख्य कमी आएको होइन, तर एकताको उत्साह कतै देखिएन ।

दोश्रो, उम्मेद्वार चयन । जहाँ उम्मेद्वार चयनमा विवाद भएन, त्यहाँ सहजै निर्वाचन जित्यो, जहाँ विवाद भयो, त्यहाँ हार्यो । भक्तपुरमा शुरुमै विवाद चक्र्यो, एकथरीले सहयोग गर्न नसकिनेसम्म भनेपनि अन्तिममा मिल्यो । तर आखिर आन्तरिक असन्तुष्टीले मतदाता प्रभावित पार्यो । अव पार्टीले निर्वाचन जितिहाल्छ, उम्मेद्वार जो उठाएपनि हुन्छ भन्ने सोच त्याँग्दा राम्रो हुन्छ । पार्टी त हेर्छन नै तर उम्मेद्वार पनि त्यतिकै महत्वपूर्ण हो । शायद भक्तपुर र धरानमा त्यसको प्रभाव पर्यो कि ? पहिला कुन पूर्व पार्टी, त्यसमा पनि कुन गुट र कुन नेताको उम्मेद्वार भन्ने विवादले निर्वाचन हारिएको हो । उम्मेद्वार चयनमा निस्पक्षता र न्याय भएन भने परिणाम यस्तै हात पर्छ । 

तेश्रो, एन्टी इन्कम्बेन्सी । सत्ता यस्तो कुरा हो, जसबिरुद्ध बाहिर एकता बढी नै अपेक्षित हुन्छ । सत्तामा रहँदा सत्ताबिरुद्धको असन्तुष्टीसमेत उम्मेद्वारमार्फत अभिव्यक्त हुन्छ । प्रधानमन्त्री ओली देशबिकासको दृष्टिकोणकासाथ काम गरिरहनु भएको छ , त्यस अनुसार कार्यक्रम आएका छन् र कार्यान्वयन पनि भइरहेका छन् । तर छोटे शासकहरुले तल नागरिकमा, मतदातामा आफ्नो पार्टीमा सत्तामा रहेको डिङ हाँक्दै शायद त्यसको दुरुप्रयोगसमेत गरेका छन् । निर्वाचन क्षेत्रमा, जहाँ त्यो प्रदेश तहको होस वा मेयरको निर्वाचन होस्, सत्ताका नाममा गरिएको पार्टी अभ्यास र उम्मेद्वारका रवाफ र पृष्ठभूमीले गर्दा सत्ताप्रति नै पूर्वाग्रह पैदा भएको हुन्छ । त्यसको प्रभाव पनि यो निर्वाचनमा परेको हुनसक्छ । 

चौथों, सत्ताबिरुद्धको पार्टीगत एकता । भक्तपुर र धरानमा घोषित र अघोषित रुपमा नेकपाबिरुद्ध अन्य राजनीतिक दल लागेको देखिन्छ । नेकपालाई पाठ सिकाउनुपर्छ भन्ने खालका प्रचार त्यहाँ भएका पनि हुन । नेकपा बन्दाको उत्साह त देखिएननै, अन्य पार्टी एकभएर लागेपछि मतदातामा पनि अन्यौलता छायो । यो फेक्टरले पनि निर्वाचनमा काम गरेको हुनुपर्छ ।

अहिले नागरिक धेरै सचेत छन् । पार्टीमै लागेका कार्यकर्ता, समर्थक र सहानुभूति राख्नेहरुपनि सानातिना बिकृत र बिसंगतिबिरुद्ध तुरुन्तै प्रतिक्रियाको तहमा उत्रिहाल्छन् । हत्तपत्त कोही कसैको अन्धभक्त पनि भइहाल्दैनन् । मुद्धाका आधारमा समर्थन र बिरोध बिस्तारै सामाजिक प्रबृतिका रुपमा देखापरिरहेको छ । कि ऐतिहासिक अफट्यारालाई उछिनेर प्रमाणित भएको हुनुपर्यो– प्रधानमन्त्री ओलीजस्तो । अन्यथा, सबै ट्रायलमा नै छन् । त्यसैले नेकपालाई अझै दुई दशक सत्तामा देख्न चाहने हो, साँच्चै देश बिकास गर्ने हो भने गम्भीर आत्मासमिक्षा पार्टी नेतृत्व गर्नुपर्छ । त्यसमा बस्दा एउटा आग्रह भने छाड्नुपर्छ – पूर्बएमाले र पूर्बएमाओवादीको । त्यो राखेसम्म पुगिने त्यही पूर्वाग्रहमै हो र यो नियतीको अन्त्य होइन, निरन्तरता हुन्छ ।