काठमाडौं, २० मंसिर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले निर्मला हत्यामा आफ्नो संलग्न रहेको स्विकार गरेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)  सँगको बयानमा रावलले  हत्या स्वीकार गरेका हुन् । केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा घटना स्वीकार गरेको सीआईबी स्रोतले बतायो ।

घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ ।
सीआईबीले रावलसँग गएराति १० बजेदेखि  बिहान २ बजेसम्म बयान लिएको थियो । निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो । 

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन् । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । 

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए । सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ ।