कबिता अधिकारी 
काठमाडौं, २० मंसिर – अहिले  सामाजिक सञ्जाल दुई फरक खाले बहसले तरंगित छ । पहिलो प्रसंग हो–बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलन । महिनौ भइसक्दापनि न्याय पाउन नसक्नु दुःखदायी स्थिति हो । 

न्यायको चर्चित सिद्धान्त छ – ‘जष्टिश डिले इज जष्टिश डिनाइड’ । अर्थात न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो ।  निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता नलाग्नुले गम्भीर असुरक्षाको अवस्था उत्पन्न गरेको छ ।

अर्को प्रसंग हो– मिस वल्र्डको प्रतिस्पर्धामा रहेकी मिस नेपाल शृंखला खतिवडाको आशालाग्दो सहभागिता । अहिलेसम्म नेपालले जनाएको सहभागितामा श्रृंखलाले  अहिलेसम्ममा नै ऐतिहासिक रेकर्ड कायम गरिसकेकी छिन् । उनलाई विश्व सुन्दरी बनाउन भोट माग्ने क्रम जारी छ । यसमा देशविदेशमा रहेका सबैलाई आशातित् पनि बनाएको छ । 

दुई घटनाका प्रकृति फरक छन् । एउटा दुःखदायी घटना छ,जसमा अपराधी पत्ता लाग्न सकेको छैन, न्यायको आन्दोलन भइरहेको छ । अर्को, खुशीको खवर बनेर आएको छ । जसलाई अझै थप खुशी प्राप्त गर्ने परिणामतर्फ लैजानुछ अर्थात मिस नेपाललाई मिस वल्र्ड बनाउनुछ । 

श्रृंखलाले मिस वल्र्डको ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितिसकेकी छिन् । यी सम्मानजनक अवार्डपछि उनी मूल अवार्डतर्फ अग्रसर छिन् । तर दुःखलाग्दो के छ भने यहाँ निर्मला पन्तको मुद्दा जोडेर प्रोपोगाण्डा गरिएको छ । 

सामाजिक संजालमा श्रृंखला र उनलाई समर्थन गर्नेहरुमाथि नकारात्मक चर्चा र प्रतिक्रियाहरु बाक्लै आउन थालेका छन् । बलात्कारपछिको हत्याको घटना र विश्व सुन्दरीमा नेपालको सहभागितालाई एउटै भूंग्रोमा हालेर नकारात्मक माहोल तताउने काम भएको छ, जुन दुर्भाग्यपूर्ण हो ।  

चीनको सान्या सहरमा भइरहेको विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट पहिलो पटक टप ३० मा प्रवेश गर्न सफल श्रृखलाले विश्वको ध्यान खचिरिहेकी छिन् । केही ब्यक्ति भने निर्मला पन्तलाई न्याय दिन नसकेर सरकारले मुद्दा डाइभर्ट गरेको आरोप लगाइरहेका छन् । निर्मलाको मुद्दालाई ओझेलमा पार्न सुन्दरी प्रतियोगिताको प्रचारमा सरकार लागेको जस्ता कुतर्क अघिसारेर नकारात्मकताको खेती गर्न व्यस्त छन् ।  

सामाजिक सञ्जालमा निर्मलालाइ न्यायदिन छोडेर श्रृंखलालाई जिताउन सरकार लागेको भन्ने टिप्पणी भेटिन्छन्, जुन ‘र्यासनल’ छैनन् । सामाजिक दृष्टिकोणमा यो विनासतिरको ‘सिन्ड्रोम’ हो । पन्तका लागि न्याय माग्दै आन्दोलन गर्नेले श्रृंखलाको लागि मत माग्न किन नसक्ने ? के श्रृंखलाको विरोध गरेर निर्मला पन्तले न्याय पाउँछिन ? तर यस्तै भइरहेको छ ।  

निर्मला  र श्रृंखला दुवै नेपालका छोरी हुन । निर्मलाले न्याय पाउनुपर्छ यसमा दुईमत छैन । तर श्रृंखला मिस वल्र्ड हुनुहुँदैन वा भएर के हुन्छ भन्ने जस्ता प्रचार वितण्डावादी सोच हुन । बितण्डावादीले जेलाई पनि नकरात्मक देख्छ, नेपाली छोरी बिश्व सुन्दरी बन्नु यस्तो सोच भएकाहरुका लागि कुनै उत्साहको समाचार होइन ।         
निर्मलाका लागि न्यायको विषय अहिले  देशकै समस्या हो । १ सय ३३ दिनपछि हिजोमात्रै केही व्यक्तिहरुलाइ नियन्त्रणमा लिएर सरकारले कारबाही थालेको छ, यसअघि पनि अनुसन्धान भए र भइरहेका छन् । निर्मलाका हत्यारा न्यायको कढघरामा उभ्याउनैपर्छ ,नत्रभए नागरिकको राज्यमाथि भरोस टुट्छ । तर त्यसोभए श्रृंखलाप्रति पूर्वाग्रही बन्ने ?  यो बिरोधाभासपूर्ण हुन्छ । 

श्रृंखला उनको सुन्दरता, ट्यालेन्ट र प्रस्तुतीका कारण आश गर्न सकिने स्थानमा छिन् । श्रृखलाले मिसवल्र्ड नै जित्न सफल भइन् भने के उनले निर्मलाको न्यायका लागि आवाज नउठाउँलिन ?

अझ सरकारले पर्यटन बर्ष–२०२० मनाउदैंछ । श्रृंखलाको सहभागिताले विश्व माझ नै प्रचारप्रसारका लागि एउटा दरिलो माध्यम पनि बन्न सक्छ । राजनीतिक आस्था विचार प्रतिनिधित्व आफना ठाँउमा होलान् तर नेपालको नाम विश्वमा चिनाउन र श्रृखलाले गरेको मेहनतलाई नकारात्मक रुपमा टिका टिप्पणी गर्नु उपयुक्त हुँदैन ।  

हामी चाहन्छौं– निर्मलाले न्याय पाउनुपर्छ र श्रृंखला बिश्व सुन्दरी बन्नुपर्छ ।