कञ्चनपुर २५ असार– एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । नगरपालिकाले उनलाई दैनिक हाजिरीमा काम गर्ने गरीे नियुक्त गरेको हो ।

 

पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिनुभयो । 
दुर्गादेवीले चार पाँच महिनादेखिनै जागिरका लागि आफूलाई आग्रह गरेको र लामो छलफलपछि नियुक्ति दिइएको उहाँले बताउनुभयो । 

हामीले उहाँको निवेदन अनुसार दैनिक हाजिरीमा कार्यालयमा सघाउने भनेर काम दिएका छौं । उहाँको योग्यताका कारण पनि कार्यालय सहयोगीको जागिर दिनुपर्ने हो तर हामीले कार्यालय सहयोगी भनेका छैनौं मेयर विष्टले जानकारी दिनभभयो । 

निर्मलाको लागि न्याय माग्ने आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाकी आमा मञ्जुलाई यसअघिनै सोही प्रकृतिको जागिर नगरपालिकाले दिइसकेको मेयर बिष्टले बताउनुभयो । 
नगरपालिकाले  निर्मला र सन्नी खुना दुवैका परिवारलाई नगरपालिकाको तर्फबाट यसअघिनै तीन तीन लाख रुपैयाँ राहत उपलब्ध गराइएसकेको छ । 

यसैबीच भीमदत्त नगरपालिकाले निर्मला पन्तको सम्झना रहिरहोस् भनेर उनी पढेको विद्यालयमा निर्मला स्मृति पार्क निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर २ को उल्टाखामस्थित सरस्वती मावि परिसरमा करीव ७ लाखको लगानीमा स्मृति पार्क निर्माण गर्न लागेको मेयर विष्टले जानकारी दिनुभयो । 

नगरपालिकाले निर्मला हत्यापछि महिलाको सुरक्षाका लागि विद्यालयदेखि विश्वविद्यालयसम्मका छात्रालाई सेल्फ डिफेन्स तालिम दिन थालेको छ । मेयर बिष्टका अनुसार पहिलो चरणमा प्रत्येक सामुदायिक विद्यालयका पाँचजना छात्रालाई तालिम दिएर प्रशिक्षकमा रुपमा खटाइएको छ ।