काठमाडौं,२५ साउन– अपहरित निशान खड्कालाई जीवित उद्धार गर्न असफल महानगरीय अपराध महाशाखाले भक्तपुरमा गरेको मुठभेडको वैज्ञानिक परीक्षण हुने भएको छ ।

घटनाको छानवीन गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले महाशाखाको टोलीले चलाएको गोली र हतियारको ‘बलिष्टिक’ परीक्षण गर्ने तयारी गरेको हो । यो परीक्षणबाट अपहरणकारीसँग दोहोरो भिडन्त भएको स्थानको प्रहरी मुचुल्कामा उल्लेख भएकै दुरीबाट गोली चलेको हो वा होइन भन्ने यकिन लाग्नेछ । यसैगरी मृतकको शरीरमा लागेको गोली र घटनास्थलमा भेटिएको हतियारको समेत परिक्षण हुनेछ ।

राष्ट्रिय मानव अधिकार आयोगले विवादस्पद मुठभेडमा मारिएका गोपाल तामाङ र अजय तामाङको शरीरमा लागेको गोलीले पु¥इयाएको क्षति, महाशाखाले मुठभेडमा प्रयोग गरेको हतियार र हानिएको दुरीसहितको विश्लेषण गर्न अनुसन्धान टोलीमा विज्ञलाई नियुक्त गरेको छ । बिलिष्टिक विज्ञसहितको आयोगको टोलीले महाशाखा र भक्तपुर प्रहरीले घटनास्थल मुचुल्कामा उल्लेख गरेको विवरण र कारवाहीको यथार्थ अनुसन्धान गर्नेछ ।

आयोगले मठभेडका घटनाको छानवीनमा बलिष्टिक जाँच सबैभन्दा महत्वपूर्ण हुने भएकाले अनुसन्धान टोलीमा एक विज्ञ नियुक्त गरिएको जनाएको छ ।  नेपालमा बलिष्टिक अनुसन्धानको विज्ञ जम्मा दुईजना मात्र छन् । आयोगले एकजनालाई  एक जनालाई टोलीमा राखेको हो । यसअघि आयोगले दिनेश अधिकारी ‘चरी’ मुठभेड घटनाको अनुसन्धान बलिष्टिक विज्ञको अभावमा पूरा गर्न सकेको थिएन ।आयोगले निसान खड्का हत्या प्रकरण विस्तृत अनुसन्धान गर्न फोरेन्सिक, पूर्व प्रहरी अधिकारी र बलिष्टिकसहितको अनुसन्धान टोली बनाएको छ ।

गत साउन २० गते राति राती काँडाघारीस्थित डेराबाट हराएका निसानको शब भोलिपल्ट बिहान घरदेखि केही पर गाडिएको अवस्थामा भेटिएको थियो। महानगरीय अपराध महाशाखाको टोलीले घटनामा संलग्न दुई जना गोपाल तामाङ र अजय तामाङ मुठभेडमा मारिएको बताएको थियो । घटना प्रकृति, प्रत्यक्षदर्शीको बयान र प्रहरीले दाबी गरेका विषय मिल्दो नदेखिँदा प्रहरी कारवाही विवादित बनिरहेको छ । 

गोपाल र अजयका परिवारले दुवैलाई पक्राउ पछि गैरन्यायिक हत्या गरिएको भन्दै अनुसन्धान तथा कारवाहीका लागि बुधबार आयोगमा उजुरी दिएका थिए । उजुरी परेकै दिनदेखि आयोगले अनुसन्धान सुरु गरेको हो । आयोगले यसअघि यही प्रकृतिका घटनामा गरेको अनुसन्धानका कमीकमजोरी र उपलब्धिलाई समेत विश्लेषण गर्दै निसान हत्या प्रकरणको छानवीन अघि बढाएको जनाएको छ । 

आयोगले घटनाको अनुसन्धानका लागि निश्चित मार्गनिर्देश समेत बनाएको छ। अनुसन्धान प्रारम्भ बिन्दुदेखि अनुसन्धान निश्कर्षमा पुर्याउने विषयहरुको टोली बनाएर अध्ययन हुनेछ। यसका लागि घटनास्थलमा जाने, सबुत प्रमाणको अध्ययन, आवश्यक परीक्षण र सञ्चारमाध्यममा आएका समाचार सामाग्रीको विश्लेषण समेतका लागि टोली बनाइएको बताईन्छ।