टन्टलापुर घाम । गढतीरबाट म उकालो लाग्दै थिएँ । सालका पात झरेर उकालो बाटो पुरै ढाकिएको थियो । एकदशक अघिसम्म दोहोरी लत्ता यात्रु पाइने त्यो बाटो आज सुनसान छ । माथि डाँडाबाट मोटरबाटो बनेपछि त्यो बाटो आक्कलझुक्कल मात्र मानिस हिड्दा रहेछन् । आफु तन्नेरी हुँदा जिल्ला सदरमुकाम जाँदा भरिया र अधबैंसे यात्रुलाई उछिनेर बुर्कुसी मारेको झल्झली सम्झदै स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै उकालो चढें म ।

तन्नेरी हुँदा त्यो नाके उकालो हिड्दाका अनेकन् घटनाहरु छन् । तर २०४८ सालको एउटा घटना चाहिँ मेरो दिमागको वल्लो छेउदेखि पल्लो छेउसम्म बारम्बार कुदिरह्यो । अड्चालीस सालको संसदीय चुनावमा म अखिलको  राजनीतिमै भएको बेला तेह्रथुमको चुनाबमा खटिनु पर्यो । चुनाबी अभियानको सिलसिलामा तेह्रथुमको आठराईतर्फ जादैंथियौं । नाके उकालो बाटोको थकान मेट्न घुमाउने चौतारोमा बस्यौं । त्यतिबेला हामी बाटो हिड्दा खुब वैचारिक बहस गथ्र्यौं । माओ र पार्टीको लाइन नौलो जनवादको सबै कोणबाट छलफल गरिन्थ्यो । माओत्सेतुङ्गको महानताको बहस चलिरहेको बखत पचास नाघेकी, नाकमा बढेमानको बुलाकी लगाएकी एक लिम्बुनी स्याउलाको भारी बोकेर त्यहीं आइपुगिन् । 

एक जना साथीले उट्पट्याङ्ग प्रश्न सोधिहाल्यो —“माओत्सेतुङ्गको घर कतातिर पर्छ आमै ?”

उनले एकछिन सोचिन् र भनिन् —“ख्वै मामाको घर त उ....माथि छ , मामासेतुङ्ग त मु चिन्दैन बाबु”
सबै गलल्ल हाँसे ।

“मुलाई जिस्क्याउँछ कि क्याहो मोरा हो ।”—आमै रिसाउदै उकालो लागिन् । 

मेरो मन मष्तिष्कमा यस्तै अनेकन कुरा खेल्दै थिए । सुनसान त्यो घुमाउने चौतारोमा कुनैबेला शुक्रबारे बजारबाट फर्कनेहरु स्थानीय लिम्बुनीले बनाएको एक दुई डबका जाँड सड्क्याएर घर लाग्दथे । तर आधुनिकतासँगै त्यो चलन अब इतिहास भइसकेको छ ।

“यता आइजो”—नजिकैको झाडीबाट आवाज आयो । म झस्कें ।

अलिकति स्याउला काखी च्यापेर एउटा बुढो झाडीबाट फुत्त बाहिर निस्क्यो । 

टाउकाको पछिल्लो भागमा अलिअलि सेतो कपाल, सिङ्गै पिपलको रुखको चित्र देखिने उनको अनुहारको चाउरी, चाउरीको खोल्साबाट बगिरहेको पसिनालाई म ट्वाल्ल हेरिरहें । 

स्याउला चौतारामा राखेर बुढा सोझै नजिकैको धारामा गए । अनुहारका पसिना पखाले र अन्जुली थापेर तनतन पानी पिए । घाँटीमा बेरेको घुर्मैलो गम्चाले अनुहार पुछे र खुइइय गर्दै चौतारामा आएर बसे । एक हुल उनको वरिपरि झुम्मिए ।
 
मलाई उनले टाउकोदेखि पैतालासम्म एकटक हेरिरहे ।  उनलाई दोहोरो सास फेर्न केही समय लाग्यो । 

“हैना बाबुलाई त मैले चिनिन नि । बाबुको घर कता पर्यो ?”

“उ..पारीपट्टि”—मैले औंलाले देखाउदै भनें । “धेरै पहिले काठमाडौं गएको । दशबर्ष पछि यता फर्कदैछु । मा..थि पोक्लवाङ्गको भट्टराई हुं ।”

“अनि बाबैको घर चाहिँ कता पर्यो नि ?”—मैले सोधें ।

“उ..त्यो झुप्रो हो मेरो, घर छैन पुरानो घर थियो, भुकम्पले भत्कायो । ”

अलि उता एउटा स्याउले झुप्रो रहेछ ।

“कतिबर्ष पुग्नुभयो ?”

९० सालको भुईंचालो म कोक्रोमा थिएं रे बाबु । भुईंचालोले हाम्रो घर भत्काएछ । कोक्रोमाथि फ्ल्याक आएर टाँड परेकोले मलाई जिउँदै फेला पारेको रे ! ख्वै कति बर्ष पुगें ?”

“घरमा को को हुनुहुन्छ ? बुढो मान्छे आफैं बाख्रा चराउन आउनु भएछ ।” 

“म एक्लै छु बाबु, कोही छैनन् । बुढी बितेको दश बर्ष भयो । एउटा छोरो थियो । पैसा कमाउन कोरिया गएको, मेसिनमा बेरिएर मर्यो रे । लास पनि देख्न पाइन । बुहारी पल्ला गाउँको केटोसंग मधेशतिर घरजम गरेर बसेकी छ रे ।” बुढाका आँखा रसाए । 

म अरु जिज्ञाशा राख्न खोज्दै थिएं तर बुढा बोलिरहे ।

‘मलाई बुढेसकालमा हेर्ने कोही छैन बाबु । मलाई मनमोहन अधिकारीले हेरिरहेका छन् । उनको पार्टी एमाले –अहिले त नाम पनि अर्कै भयो क्यारे—ले हेरेको छ । आफूलाई दालभात खान सानो टुक्रा खेत छ । नुन तेल मसला उनैले जुटाई दिएका छन् । ”

उनी निरन्तर बोलिरहे । मैले एन्टोन चेखवको “दुःख” कथा सम्झें । कसैलाई आफ्नो वेदना पोख्न नपाउदाको पीडा सम्झें । म सुनिरहें । सो कथाको श्रोता घोडाजस्तै एकोहोरो सुनिरहन मन थियो मलाई ।

पहिले पहिले म आफैं गाविस गएर भत्ता थाप्थें । अहिले म त्यति टाढा हिडेर पुग्न सक्तिन । अहिले यहाँ हाम्रै पार्टीले जितेको छ । मलाई घरमै पैसा पुर्याउन आउछन् । देउतै आएजस्तो लाग्छ मलाई । मेरो झुप्रोमा मन मुहान अधिकारीको फोटो र म बस्छौं, अरु कोही छैन ।”

“म एक्लै छु बाबु, कोही छैनन् । बुढी बितेको दश बर्ष भयो । एउटा छोरो थियो । पैसा कमाउन कोरिया गएको, मेसिनमा बेरिएर मर्यो रे । लास पनि देख्न पाइन । बुहारी पल्ला गाउँको केटोसंग मधेशतिर घरजम गरेर बसेकी छ रे ।”

मैले थकाइै मारेको करिब एक घण्टा भईसकेको थियो । अझै ती बुढाको कुरा सुनिरहन मन थियो मलाई । तर घाम ओरालो लागिसकेका थिए । टाढा पुग्नुथियो । “अस्ति चुनाबमा त बृद्ध भत्ता बढाउछु भन्थे । बढाएनन् रिसाउनु भएको होला नि । त्यति पैसाले अहिले पुग्छ र !” चौताराबाट उठ्दै मैले सोधें ।

“हामी नेपालीको यही कुरा मलाई मन पर्दैन बाबु । तातै खाउँ जल्दी मरुँ गर्ने । अल्पमत भएर मन मुहान अधिकारीलाई कामै गर्न दिएनन् । अहिले मलाई पनि मन पर्ने सबैले मानेका नेता अँ... ओली प्रधानमन्त्री भका छन् । बृद्धभत्ता बढाउँछु भनेका छन् । पाँच बर्ष उनी नै प्रधानमन्त्री हुने हो क्यारे । अहिले नै सबै चाहिने ? एउटा परिवारमा त सबै कुरा एकै पटक पुर्याउन सकिदैन । राज्य चलाउने कुरा । कठै । मलाई यति भत्ताले त पुगेकै छ बाबु ।”

बुढाको कुरा सुनेर सरकार प्रतिको मेरो रिस मर्यो । शहरमा बसेर बुद्धिविलास गर्ने, जे कुराको पनि नचाहिंदो विरोध गर्ने हाम्रो रवैयाप्रति आत्माग्लानी भयो ।  

“नमस्कार है बा म हिडें अब । टाढा पुग्नुछ ।”

बुढाले हात कमाउँदै नमस्कार फर्काए ।

म निकै माथि पुगुन्ज्याल बुढाले मतिरै हेरिरहे । 

तर, बुढाको नजर म तिर होईन, मेरो कालो डायरीमा चुनाबताका टाँसिएको सूर्य चिन्हको पुरानो स्टीकर तिर पो रहेछ ।