काठमाडौं, २१ मंसिर, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव सम्पन्न भइसकेकाले अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने बताउनु भएको छ । 

एमाले र माओवादी मिलेपछि अव दुई तिहाई बहुमत नै आउने समेत उहाँले बताउनु भयो । सुर्यबिनायक नगरपालिका वडा २ बालकोटस्थित महेन्द्र शान्ति बिद्यालयस्थित मतदान केन्द्रमा मतदान गरेपछि संवाददाताहरुसँग अध्यक्ष ओलीले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको बताउनु भयो । 

‘उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो’ ओलीले भन्नुभयो, ‘त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।’

चु्नावको बेला सयौं ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेद्वार घाइते हुँदा पनि सरकारले बम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको उहाँले बताउनु भयो । ‘चुनाव भाँड्नकै लागि बमकाण्डको रचना भएको आशंका छ । सयौं बम पड्किए तर सरकार कसले बम पड्कायो भन्न सक्दैन, दोषी को हो सरकार भन्दैन’ उहाँले भन्नुभयो ।