काठमाडौं, २ जेठ– प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको एकान्त बार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता पार्टी एकतामा केन्द्रित थियो । श्रोतका अनुसार, दुई अध्यक्षबीचको वार्ता सकारात्मक भएको छ । भोलि विहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय पनि भएको  छ ।

पछिल्लो समय एकता प्रक्रियामा संशय उत्पन्न थालेपछि वार्ता गरेर चाडै टुग्याउन नेताहरु सहमत भएका हुन् ।  आजै एमाले स्थायी समितिको बैठकले पनि पार्टी एकता लगायतका बिषयमा थप छलफल गर्नेछ । बैठक आज ४ बजे बस्ने बताइएको छ । 

वैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा भएको संयुक्त कार्यक्रपछि दुई पार्टी र अध्यक्षहरुबीच भेटवार्ता हुन सकेको थिएन । जसका कारण दुई पार्टीको एकतामा आशंका उत्पन्न भएको थियो । मंगलबार एमाले वरिष्ठ नेता माधबकुमार नेपाल र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दिउँसो छलफल भएपछि आज बुधबार दुई अध्यक्षबीच वार्ता भएको हो ।

यसअघि बैशाख ९ गते नै पार्टी एकता गर्ने तयारी गरेका एमाले र माओबादीका नेताहरुको कार्यव्यस्तता र एकतापछिको केन्द्रिय समितिको आकार, जनयुद्ध शब्दको प्रयोग लगायतका विषयमा सहमति जुट्न सकेको थिएन । 

प्रधानमन्त्री ओलीको भारत भ्रमण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी, अध्यक्ष प्रचण्डको दैनिक कार्यव्यस्तता जस्ता विषयहरुका कारण प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच संवाद हुन सकेको थिएन । अहिले पनि जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम  र जेठ १५ गते आर्थिक वर्ष २०७५/७६ को वजेट ल्याउने चटारो भएकोले एकताको घोषणाको मिति जेठ १५ पछि हुनसक्ने बुझिएको छ ।