धेरैलाई लाग्दो हो, नेकपाभित्रको अहिलेको युद्ध केपी ओली भर्सेज पाँच भाइबीचको युद्ध हो । यो अपुरो बुझाइ हो, अर्धसत्य । यो युद्धमा केपी विरुद्ध प्रचण्डले थापेको एम्बुसको तार अलि पर दिल्ली दरबारसम्म फैलिएको छ।जसरी फिल्मको कथा दर्शकलाई सम्झाउन फ्ल्यास ब्याक देखाइन्छ, त्यस्तै यो युद्ध बुझ्न नेपालको राजनीति घटनाको फ्ल्यास ब्याकमा पुग्नु पर्ने हुन्छ ।

समय– नेपालको संविधान निर्माण काल ।
स्थान– संविधानसभा भवन , काठमाडौँ ।
पात्रहरू– काँग्रेस, एमाले, माओवादी र मधेसवादी दल लगायत अन्य ससाना दलका संविधानसभा सदस्यहरू ।

महिनौँको बहसपछि अन्ततः नेपाली काँग्रेस, एमाले, माओवादीलगायतका दलहरू दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने सवालमा करिब करिब टुङ्गोमा पुगिसकेका थिए । मधेसवादी दल भने सीमा निर्धारण , प्रदेशको सङ्ख्या लगायत अन्य कतिपय सवालमा विवाद गरिरहेकै थियो। पटक, पटक संविधान जारी गर्ने मिति सर्दै गएको स्थिति थियो । एक पटक त भारतीय दबाबका कारण नेपालको संविधान मतदान प्रक्रियामा जाँदा पनि तीन दिन रोकिएको थियो ।नेपालको संविधान निर्माणमा भारतको यो खुला हस्तक्षेप थियो । यसबीच भारतले आफ्नो विशेष दूत पठाएर आफ्नो चासो र चिन्ता व्यक्त गर्दै संविधान जारी गर्न केही हप्ता अझै पर्खिन दबाब दिएको थियो । त्यति बेला बाबुराम भट्टराई , रामचन्द्र पौडेल , कृष्णप्रसाद सिटौला र माधवकुमार नेपाल हरुले केही दिन पर्खिन सल्लाह गर्दै थिए । तर नेता केपी ओलीले भारतीय हस्तक्षेपको खुलेर विरोध गर्नुभयो।

उहाँले विरोध मात्रै गर्नु भएन तात्कालिन प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति सुशील कोइरालालाई ढिलो गरे संविधान जारी नहुन सक्छ भन्दै संविधान जारी गर्न सहमत पनि गराउनुभयो । यसरी २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । त्यति बेला कतिपय मदेसवादी दलले संविधानमा हस्ताक्षर समेत गरेनन् । यस घटनापछि केपी ओली र सुशील कोइराला विरुद्ध  भारत जहिले पनि आक्रामक रूपमा प्रस्तुत हुन थाल्यो ।आज पूर्व प्रधानमन्त्री सुशील कोइराला हामी बीच हुनुहुन्न–  स्व. कोइरालाप्रति श्रद्धा सुमन ।

हो ! अहिले नेकपाभित्रको युद्धमा भारत यस कारण जोडियो किनकि उ संविधान घोषणाका बेला देखिनै केपी ओलीको विरुद्ध लागिरहेको थियो र उ कुनै पनि हालतमा ओलीलाई सत्तामा बसेको हेर्न चाहँदैन । यसका लागि उसले  बहुत सुझबुझका साथ आफ्ना खास मानिसहरूलाई प्रयोग गरिरहेछ । जसरी यसभन्दा अघि भारतीय इसारामा  प्रचण्डले अविश्वास प्रस्तावद्वारा केपी ओलीलाई हटाएका थिए, अहिले पनि त्यही दृश्य मञ्चन भइरहेछ । केपी ओलीको मान मर्दन गर्ने, परिस्थिति यस्तो सृजना गर्ने कि ओलीले आफै छोडेर भाग्नु परोस् । केही पात्र , परिवेश र विषय भने अलि फरक लागेको मात्र हो ।

नेपालमा नेपाली अनुहारका भारतीयहरू प्रशस्त छन् । उनीहरू विभिन्न क्षेत्रमा सञ्चालित छन् । म अहिले ती मानिसहरूमध्ये केही नेताहरुबारे चर्चा गर्न चाहन्छु । सर्वप्रथम डाक्टर बाबुराम भट्टराई । डा. भट्टराई भारतका खास प्यारो मान्छे हो, यसमा दुई मत छैन । उहाँ स्व. हृषीकेश शाहको माध्यमबाट भारतको नजिक पुग्नु भएको हो । प्रचण्ड चाहिँ कथित जनयुद्धका बेला भट्टराईकै प्रयासले भारतको प्यारो हुन पुगे। विश्वको एउटा ठुलो प्रजातान्त्रिक मुलुक भारतले एउटा सानो प्रजातान्त्रिक मुलुक  नेपाल विरुद्ध आफ्ना स्वार्थका खातिर गरेको षड्यन्त्र थियो –प्रचण्डले नेपालमा मच्चाएको हिंसक आतङ्क । प्रजातन्त्र मास्न अर्को  प्रजातान्त्रिक मुलुकभित्र रक्तपात र षडयन्त्र , विस्मयकारी दृश्य थियो त्यो ।  यस घटनापछि प्रचण्ड भारतको विशेष मित्रमा पदोन्नति भएका थिए ।

त्यस्तै नेकपाका वर्तमान प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छुपेरुस्तम हो । तराईतिर अझ त्यस्तालाई  ‘पुराना चावल’ भन्दछन् । उहाँ  पनि भारतको पुराना विश्वासिलो पात्र । अनि  कमरेड माधवकुमार नेपाललाई चाहिँ भारतका कतिपय नेताजीहरूले, एक जना सोहबर, भद्र , इमानदार नेता माधवबाबुको रूपमा चर्चा गर्छन् । उनीहरूलाई विश्वास छ जस्तोसुकै परिस्थितिमा पनि माधवबाबु भारतको विरुद्ध जानुहुन्न । दास ढुङ्गा दुर्घटनामा भारतको संलग्नता रहे नरहेको जति कुरा माधवबाबुलाई थाहा छ त्यति अरूलाई थाहा नहुन पनि सक्छ । प्रचण्डले ओली विरुद्ध चालेको अहिलेको गेम प्लानबारे भट्टराई , नेपाल र श्रेष्ठ भने राम्रै जानकार छन् । तर, बिचरा झलनाथ र बामदेव भने नजानेर , नचाहँदा नचाहँदै फस्न पुगेका छन् । यी दुई भने भारतले रुचाएका पात्र  पनि हैनन् ।

नेपालमा कुनै त्यस्ता चर्चित  राजनीतिज्ञ छैनन् जो भारतबाट प्रभावित भएको नहोस् । फरक यति छ कि कोही अति प्रभावित भएर लेण्डुप दोर्जे बन्दैछ्न भने कसैको आत्मा अझै  मरेको छैन । भनिन्छ कुनै बेला नेकपाका वर्तमान अध्यक्ष केपी शर्मा ओलीको पनि भारतीय शासकहरूसँग राम्रै हिमचिम थियो । २०७२ सालको भूकम्प लगत्तै जब उहाँ पहिलो पटक प्रधानमन्त्री हुनुभयो र भारतले नेपाल विरुद्ध नाकाबन्दी लगायो ,

त्यति बेलादेखि उहाँको भारतप्रतिको मोह पूर्णरुपले भङ्ग भएको देखिन्छ । भनिन्छ मृत्यु देखेकाले अन्तराआत्माको आवाज बोल्छ । मरेर बाँच्नु भएका केपी ओलीमा पनि मिर्गौला प्रत्यारोपणपछि धेरै कुरामा सकारात्मक सोचहरू पलाए । उहाँ पछिल्लो पटक प्रधानमन्त्री भएपछि नयाँ सोच र उर्जाकासाथ नेपालको चन्द्र सूर्य अङ्कित रातो झण्डालाई माथिमाथि  उठाउने कार्य गर्नु भयो । उहाँले एकातिर भारतीय ज्यादतीको खुलेर विरोध गर्नुभयो भने अर्कोतिर अर्को छिमेकी राष्ट्र चीनसँग पारवहन सम्झौता गर्नुका साथै रेल्वे, सडक र सुरुङ्गमार्ग निर्माण गरी विभिन्न नाकाहरू सञ्चालनमा ल्याउने सहमति  गर्नुभयो । यो कुरा भारतीयलाई सह्य भएन । दबाबले, धम्कीले, नाकाबन्दीले ओली झनझन शक्तिशाली भएपछि अहिले नेकपामा नयाँ महाभारत सुरु गराइएको हो । यस महाभारतका पाँच भाइलाई नेकपाकै एउटा हिस्साले पाण्डव हैन ‘ग्याङ अफ फाइव’ भन्दारछ्न । भारतको भनाइ स्वीकार नगर्दा अथवा कोही विरुद्धमा जाँदा भारत कति सम्म असहिष्णु र असंवेदनशील हुन्छ एउटा अर्को उदाहरण यहाँ राख्न चाहन्छु।

२०४५ सालमा तात्कालिन राजा वीरेन्द्रले चीनसँग केही आधुनिक हतियार किनेका थिए । त्यही वर्षको अन्त्यतिर नेपाल र भारतबीचको पारवहन सन्धिको म्याद सकिन लाग्दा भारतले केही  नयाँ प्रस्ताव गरेको सम्झौतालाई राजा वीरेन्द्रले खासै ध्यान दिएनन् । बरु त्यति वेला राजा वीरेन्द्रले भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग आफ्नो प्रोटोकलमा भेदभाव रहेको बताएका थिए । चीनसँग हतियार खरिद, प्रोटोकल विवाद र सोनियाँ गान्धीलाई पशुपति दर्शनमा रोक लगाएको  घटनादेखि उत्तेजित भएर भारतले चैत्र १० गतेदेखि नेपाल विरुद्ध नाकाबन्दी लगायो । त्यति बेला पञ्चायती व्यवस्था विरुद्ध देशमा आन्दोलन चर्किरहेको थियो । आन्दोलनको ज्वाला अझ बढाउन भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर काठ्माण्डौ आएर भाषण समेत गरेका थिए । आवरणमा त्यो नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग र समर्थन भनिए पनि यथार्थमा त्यो राजा वीरेन्द्रलाई दबाब दिई कुनै नयाँ सम्झौता गर्ने चाल थियो ।

हामीले त्यस घटनालाई भारतको प्रजातन्त्र प्रतिको  समर्थन सम्झियौँ तर, यथार्थमा त्यो एउटा सानो मुलुकमाथि छिमेकी ठुलो मुलुकको खुला हस्तक्षेप थियो। अहिले कतिपय बुद्धिजीवीहरू राजा वीरेन्द्रलाई बुद्धि नभएको सोझो राजा भने पनि त्यति बेला राजा वीरेन्द्रले भारतसँग नझुकी बरु आन्दोलनकारी नेपालीसँग झुक्दै देशमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गरे । यो राजा वीरेन्द्रको बुद्धिमत्तापूर्ण कदम थियो । देशमा पञ्चायतको अन्त्य र प्रजातान्त्रिक व्यवस्थाको घोषणा पछि भारतीय नाकाबन्दी पनि समाप्त भएको थियो ।

यहाँ बिर्सन नसकिने तथ्य के हो भने राजा वीरेन्द्रका बेला २०४५ सालमा र प्रधानमन्त्री केपी ओलीका बेला २०७२ सालमा भारतले त्यस्तो समयमा नाकाबन्दी लगाएको थियो जति बेला नेपाली जनता प्राकृतिक प्रकोप भूकम्पका कारण क्षतविक्षत भएका थिए । ०४५ साल भदौ ५ गते आएको भूकम्पले नेपालको पूर्वाञ्चलका सोह्र जिल्ला नराम्ररी प्रभावित थिए, अनि २०७२ सालको भूकम्प सम्झिदा अहिले पनि आङ सिरिङ हुन्छ । एक छिन गम्भीर भएर सोचौँ त – यति साह्रो दुख र पीडा त कुनै घोषित शत्रुराष्ट्रले पनि दिँदैन थियो होला जति हाम्रो छिमेकी अनि रोटी र बेटीको सम्बन्ध भएको दाबी गर्ने  मित्र राष्ट्र भारतले दियो।

अहिले भारतको लहै लहैमा हाम्रा केही नेताहरूले आआफ्ना स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीको जीवन भरीको त्याग, समर्पण र निष्ठालाई धुलीसात गर्ने जुन प्रपञ्च रच्दैछन त्यो एक जना व्यक्ति केपी ओली विरुद्धको षड्यन्त्र मात्रै होइन । यो अन्याय नसहने र कहिल्यै झुक्दै नझुक्ने सम्पूर्ण नेपाली जनको स्वाभिमानसँग गाँसिएको सवाल पनि हो । याद रहोस् !अस्थिरता बाहकको  भविष्य कहिले सुरक्षित रहँदैन । विदेशीको लहैलहैमा आफ्नै देश सिक्किम र सिक्किमेली जनता विरुद्ध षड्यन्त्र गर्ने लेण्डुपले पनि आजीवन सत्तामा बस्ने कल्पना गरेका थिए तर, उनै लेण्डुपपछि दूधको झिँगा फ्याँके जस्तो फ्याँकिएका थिए । उनले कालिङ्पोङमा पश्च्यातापको आँसु रोएर इहलीला समाप्त गर्नु परेको थियो ।