रामेछाप, ३० जेठ– बीपी राजमार्गमा ठूला सवारी संचालनको माग राख्दै व्यवसायीहरु आन्दोलमा उत्रिएका छन् । राजमार्गमा ठूला सवारी रोक लगाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको व्यवसायीहरुले बताए । सवारी संचालनको माग राख्दै रामेछापका व्यवसायीहरुले बुधबार जिल्ला सदरमुकाम मन्थली बन्द गराएका छन् । 

राजमार्गमा सबैखाले सवारी संचालन गर्न पाउनुपर्ने भन्दै उनीहरुले मंगलबारदेखि साताव्यापी आन्दोलनका कार्यक्रमहरु सर्वाजनिक गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार जिल्ला सदरमुकामका सबै पसल व्ययवसाय बन्द गरी व्यवसायीहरुले सडकमा कालो तुल राखेर प्रदर्शन गरेका छन् । विभिन्न माग लेखिएका प्ले कार्डसहित बजार परिक्रमा गरेका व्यवसायीले २ घण्टा बजार ठप्प बनाएका थिए ।

सर्वोच्च अदालतले बीपी राजमार्गमा १८ जना यात्रु बोक्ने साधन र गाडिसहित १० टन वजन भएका मालवाहक सवारीभन्दा ठुला साधन संचालनमा रोक लगाउने अन्तरिम आदेश दिएपछि व्यवसायीहरुले उक्त राजमार्गबाट मालसामान ल्याउन सकेका छैनन् ।

तराइबाट मध्यपहाडि जिल्लामा जोड्ने सबैभन्दा छोटो मार्ग रहेको बीपी राजमार्गबाटै निर्माण सामाग्री, खाद्यान्न र तरकारी लगाएतका सामाग्री ओसार-पसार हुँदै आएकोमा एक सातादेखि रोक लगाएपछि स्थानियहरु आक्रोशित छन् । 

साना बसहरुले लोकल यात्रु नबोक्दा अहिले यस क्षेत्रका बासिन्दा सडक भएर पनि सडक प्रयोगबाट बन्चित बन्नु परिरहेको छ । ठूला सवारीमा रोक लगाएसँगै ढुवानी समेत प्रभावित बनिरहेको छ ।