काठमाडौँ, २६ साउन–  नेपाली गीत सङ्गीतबाट फेरी एउटा इतिहास कायम भएको छ । यो इतिहास नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा.डिआर उपाध्यायले कायम गर्नुभएको हो  । 

१२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिनिज अफ वर्ल्ड रेकर्ड राखेका गीतकार डा.उपाध्यायले यति बेला फेरी १७ फरक विधामा विश्व कीर्तिमानी कायम गर्नुभएको छ  । यो नेपालकै लागि गौरवको कुरा हो । 

आइतबार राजधानीमा एक समारोहबिच सामाजिक दुरी कायम गर्दै डा.उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यी १७ वटा विधामा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नुभयो  । 

‘यसरी एकै दिन फरक १७ विधामा १० वटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्नुहुने डा.उपाध्याय पहिलो व्यक्ति हुनुहुन्छ  । यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो ।’ मन्त्री यादवले कार्यक्रममा भन्नुभयो । 

 डा.उपाध्यायले यस पटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट वर्ल्ड रेकर्ड कायम गर्नु भएको हो  । 

उहाँले अमेरिकन बुक अफ रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, वर्ल्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वर्ल्ड रेकर्ड, एस्क्युसिभ वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्डमा १७÷१७ विधामा एकसाथ वर्ल्ड रेकर्ड बनाउनु भएको छ । 

यी १० कम्पनीबाट उहाँले एक सय ७० वटा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्राप्त गर्नुभएको छ । 

डा.उपाध्यायले वर्ल्ड रेकर्ड प्राप्त गर्नु भएका १७ वटा फरक विधा यस प्रकार छन् ।
१.नारी एवम् पुरुषले दुवै प्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत ।
२. एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत
३. साङ्केतिक भाषा (साइन ल्याँग्वेज) द्वारा गीतको शब्दले के भनेको हो, परिभाषित गरेको ।
४. हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत
५. अक्षर अक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारी ।
६. तीन वटा सप्तक बनेको गीत
७. सगरमाथा हिमाल आरोहण गर्नेहरुकोे अत्याधिक नामबाट गीत
८. प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत
९. संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरे पटक प्रयोग गरेर बनेको गीत
१०. एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत 
११. एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत बनाएको 
१२. संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च)
१३. आठ वटा उपन्यास समावेश गरी बनाइएको एउटै पुस्तक सङ्ग्रह
१४. एकै दिन १९ वटा गीतिसँग्रहको विज्ञापन प्रकाशन गरेको । 
१५. एकै दिन १९ ओटा सिडी एल्बम धेरै पोष्टबक्समा खसालेको 
१६.एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको 
 १७. आफ्नै शब्द रचनाको ३/२ को सबै भन्दा धेरै प्रकारको फ्लेक्स पोस्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको 


 
यसरी यी १७ विधामा फरक १० विश्व कीर्तिमानी कम्पनीबाट आज २०७७ साउन २५ गते वर्ल्ड रेकर्ड राखिएको छ । यसअघि गिनिज वर्ल्डसहित १५ विधामा विश्व कीर्तिमानी कायम गर्नुभएका डा.उपाध्यायले थप ३२ विधामा फरक–फरक विश्व कीर्तिमानी कायम बनाउनुभएको छ । 

नेपाली गीतसङ्गीतमा लागेकाहरूलाई यो खबर अत्यन्त सुखद पक्ष भएको सो कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि गौतमले बताउनुभयो । 

कीर्तिमानी गीतकार डा.उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा पुर्‍याउँदै गिनिज, अमेरिकन वर्ल्ड बुकसहित सबै वर्ल्ड रेकर्डमा नेपालका नाम लेखाउन आफूले यस्तो कार्य गरेको बताउनुभयो । यो रेकर्ड व्यक्ति नभएर देशको भएको उहाँको कथन थियो ।

कार्यक्रममा डा. उपाध्यायको चार गीतिसंग्रह कतव्य बोध, धरोहर, सपनाको महल, हृदयको झङ्कार, संसारकै सानो गीति पुस्तक अनुभूतिको मझेरी पनि मन्त्री रामेश्वर राय यादवले विमोचन गर्नुभएको थियो ।