मेलम्ची, १३ चैत - सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले  कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा  गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।  

नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग  ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्ले बताउनुभयो । नागरिककै हितका निम्ति कोरोना भाइरस  सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरुपमा पालन गर्न आग्रह गर्दै कडाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले  दिनुभयो ।
पूर्वमन्त्री बस्नेतको पहलमा चिकित्सा सामग्री वितरण

सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा ती सामग्री वितरण गरिएको हो । नेता बस्तेतको पहलमा बाह्रबीसे नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे र क्षमादेवी स्वास्थ्यचौकीमा स्यानिटाइजर, साबुन, मास्क, पञ्जा, एप्रोनलगायत सामग्री वितरण गरिएको छ ।

नेता बस्नेतले आफैँले उक्त सामग्री प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेका चिकित्सक सिर्जना महर्जनलाई हस्तान्तरण गर्नुभएको  थियो । स्वास्थ्य सामग्रीका अभावमा स्वास्थ्यकर्मीलाई काम गर्न असुविधा भएपछि सबैको सहयोगमा विभिन्न चिकित्सा सामग्री वितरण गरिएको पूर्वमन्त्री बस्नेतले जानकारी दिनुभयो । नेता बस्नेतले सकेको सहयोग गर्न सबैलाई आह्वानसमेत गर्नुभयो ।रासस