काठमाडौ, २९ जेठ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसदमा दर्ता भएको गुठी बिधेयकले गुठीको अधिकार खोस्न लागेको भनेर अनावश्यक हल्ला फैलाएको बताउनुभएको छ । 

बुधबार ललितपुरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको रजत बर्ष प्रतिक चिन्हको अनावरण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले जनताको कुनै पनि अधिकार नखोस्ने समेत बताउनुभयो । गुठी भनेको मौलिकता भएको भन्दै यसलाई मास्ने कुरै नभएको उहाको भनाई छ । जनताको सांस्कृतिक र अधिकार तथा भावनाको विपरित सरकार जान नसक्ने भन्दै उहाले सास्कृतिक अधिकारलाई थप संरक्षण गर्न बिधेयक ल्याइएको धारणा राख्नुभयो । गुठीसंग जोडिएको समस्या समाधान गर्ने गरी आएको बिधेयकले धर्म संस्कृति परम्पराको रक्षा गर्छ कि गर्दैन भन्ने चिन्ताले गर्दा एक थरीले आवाज उठाइरहेको र गुठी पिडित किसानले आफनो हक सुरक्षित हुनुपर्छ भन्ने खालको अर्को थरी आवाज बाहीर आएको मन्त्री अर्यालको दाबी छ । 

उहाले उक्त बिधेयक राम्ररी अध्ययन गर्न सुझाव पनि दिनुभयो । कार्यक्रममा मन्त्री अर्यालले लिमिटेडको रजत बर्ष प्रतिक चिन्हको अनावरण गर्नुका साथै साकोस सरोकार बुलेटिन बिमोचन गर्नुभएको थियो ।