संखुवासभा, २८ भदौं – पहिरोका कारण शंखुवासभाकोे सिलिचोङ गाउँपालिका ३ ताम्कुको याचम्खाका १३ घरपरिवार  उच्च जोखिममा परेका छन् । केहि दिनदेखि परेको लगातरको वर्षाको कारण ठाउँ–ठाउँमा पहिरो जाने र जमिन चिरिन थालेपछि पहिरोको जोखिम बढेको हो । 

पहिरोको कारण जमिन चर्किएसँगै घरहरु पनि चर्किन थालेका छन् । याचम्खा गाउँमा ३२ घरपरिवारको बसोबास रहेको छ । त्यसमध्ये १३ घरपरिवार उच्च जोखिममा रहेका छन् भने अन्य घरपरिवारको अवस्था सामान्य छ । 

स्थानियहरुका अनुशारार याचम्खाका साथै छिमेकी टोल साप्तेलमा पनि पहिरो जान थालेको छ । साप्तेल टोलका १७ घरपरिवार पनि पहिरोको जोखिममा रहेका छन् । याचम्खा र साप्तेल टोल दुवैतिर पहिरोको कारण घरसमेत चर्किन थालेपछि स्थानियहरु त्रसिद छन् । 

ताम्कु ३ का वडासदस्य मणिकुमार कुलुङका अनुशार अहिले स्थानीय ताम्कु प्रहरी चौकीका प्रहरीले स्थलगत अनुगमन गरेका छन् ।  

स्थलगत अध्ययन अनुगमन गरेपछि स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला रेडक्रस सोसाइटीमा प्रतिवेदन पेश गरी र बस्ती सार्न पहल गरिने वडासदस्य कुलुङको भनाई छ ।

जिल्लामा केही दिनअघि देखिको निरन्तर वर्षा भईरहेको छ । यस्तै वर्षा निरन्तर भइरहे याचम्खा र साप्तेलमा जनधनको ठूलो क्षतिसमेत हुने वडासदस्य कुलुङले चिन्ता व्यक्त गरे । ‘लगातार वर्षा भइरहेको छ, तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायहरुलेसमेत चासो दिनुपर्छ ।’—उनले  भने । 

पहिरो गएको स्थान सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दूरीमा पर्छ । यातायातको सुविधा नपुगेको सिलिचोङ्गमा प्राकृतिक विपद् परेमा उद्धार गर्नसमेत समस्या रहेको स्थानीयहरुको गुनासो छ ।