प्राध्यापक डा पिताम्बर शर्मा नेपालका गिनेचुनेका विकासविद हुन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रहिसकेका शर्मा हिमालय क्षेत्रका लागि एकीकृत विकास केन्द्र (इसिमोड)को बोर्ड सदस्य तथा रिसोर्स हिमालय नामक संस्थाको प्रमुखका हैसियतमा अफगानिस्तानदेखि म्यान्मारसम्म फैलिएको हिमालय हिन्दुकुश क्षेत्रको विकास सम्बन्धी अध्ययन र अनुसन्धानमा सक्रिय छन। त्रिभुवन विश्वविद्यालयमा भूगोल केन्द्रीय बिभाग प्रमुख समेत भएर प्राध्यापन गराएका डा शर्मासँग विकासका विविध पक्षबारे चक्रपथ डट कमका लागि बिनु पोखरेलले गरेको कुराकानी:

हामीले लामो समय भयो विकास भनेको । अहिले नागरिकमा राजनीतिक स्थिरताको अपेक्षा देखिएको छ भने सरकारले पनि विकासको एजेण्डा अघि  सारेको छ । खासमा विकास भनेको अहिले भनिए जस्तै भवन, बाटो, पुल रेल नै हो ? कसरि बुझ्ने विकासलाई ?
शिक्षा, स्वाथ्य, संचारको पहुँच ,पूर्वाधार विकास लगायतले  मान्छेको सोच्ने तरिका, मान्छेको जीविकोपार्जनमा , मान्छेको बाँच्ने तरिकामा ल्याउने  गुणात्मक सुधार नै विकास हो । हामीले भनेको वा सुनेका बाटो, अस्पतालको सुविधा, रेल, कलेज यी सबै विकसित  अवस्थामा पुर्याउने बाटा मात्र हुन् । विकास भनेको चाहिं मान्छेमा आउने सकारात्मक गुणात्मक परिर्वतन हो ।

अब गुणत्मक के भन्ने विषयमा पनि आफ्ना कुरा छन् । तपाईंलाई गुणात्मक लागेको कुरा अर्कोलाई गुणात्मक नलाग्न सक्छ । यसलाई  विकासको डिस्कोर्समा नर्म्याटिक भ्यालु जजमेन्ट भनिन्छ । ब्यक्ति अनुसार सोच्ने तरिकाले पनि विकास के हो वा के होइन भन्ने कुरामा  प्रभाव पार्दछ । तर मुख्य रुपले  मैले अघि भने जस्तो मान्छेको जीवनमा आउने सामाजिक, भौतिक, आर्थिक गुणात्मक परिर्वतन नै विकास हो ।

विकास पनि विभिन्न रुपले परिभाषितत हुदैँ आयो । एकताका औसत प्रतिब्यक्ति आय बढ्यो भने विकास हुने भनियो । यसैका आधारमा  धनी मुलुक वा गरिव मुलुकको मापदण्ड पनि बनाइयो । तर सन् १९९० तिर के कुरा आयो भने भौतिक सम्पन्नता मात्र विकास हुने होइन रहेछ । अर्थिक रुपमा माथि हुनु मात्र विकास होइन । विकास भनेको मानव संशाधन पनि हो भन्ने अवधारणा आयो ।

मान्छेको जीवनस्तरमा आएको गुणात्मक परिर्वतनलाई विकास भन्न थालियो । अहिले आएर मान्छे मात्र हैन , जीवजन्तु र प्राकृतिक सन्तुलन सहितको मानव संशाधन विकासलाई विकासको रुपमा चित्रण गर्न थालिएको छ । र, यो हो पनि । त्यसैले विकास भनेको बाटो, रेल र शहर मात्र होइन । ती कुराले गर्दा मान्छेमा प्रकृतिको संरक्षण सहितको गुणात्मक परिर्वतन चाहिं विकास हो । तर त्यो पुस्तान्तरण हुनुपर्छ ।

अब मानव विकासको कुरा गरौँ न  । ह्युमन डेभलपमेन्ट भनिन्छ नि । मान्छे कति चेतनशील छ ? कति कमाउँछ ? कति बाँच्छ ? र कति साक्षर छ ? यी कुराले मान्छेको विकास निर्धारण गर्छ । त्यसैले विकास  के हो भनेर मान्छे आफैँले पनि हेर्ने तरिका फरक पर्छ । प्रत्येक मान्छे भित्र संभावना छ । त्यो सन्निहित सम्भावनालाई उसले कुन हदसम्म बाहिर ल्याउन सक्छ भन्ने कुरा पनि मान्छेले विकासको रुपमा लिन्छन् । सारांशमा भन्नुपर्दा विकासका माध्यमलाई हामीले विकास भन्यौँ । तर विकास भनेको मान्छेको सम्पूर्ण  अवस्थामा आउने गुणात्मक परिर्वतन हो ।

जनतालाई त घरसम्म बाटो पुगे ,आँगनबाट गाडी चढ्न पाए, हिड्न नपरे, बजारको कुरा घरसम्म ल्याउन पाए र आफ्ना समान बजार  लैजान  मात्र पाए कस्तो होला भनेर कुरेर बसेका छन् ।  तपार्इँ बाटोमात्र विकास होइन भन्नुहुन्छ ?
मैले बाटो विकासको एउटा साधन हो भनेको हुँ । तर त्यो मात्र विकास होइन । बाटो पुग्दैमा मानिस  शिक्षित हुँदैन, सभ्य हुँदैन, सु–संस्कृत हुँदैन । उसको सामान बिक्री मात्र हुन्छ भन्ने हुँदैन । बाटोले त भएको बारी पनि बाँझै राखेर बजारको मात्र किन्ने पनि बनाउँछ, अनि त्यो विकास हो त ?

बाटो आउँदा उ चाडो पुग्ने हुनाले, आफ्ना उत्पादित सामान विक्री हुनाले उसलाई बाटोको अपेक्षा हुनु अस्वाभाविक होइन । उसले त्यो बाटो आएपछि आफ्ना उत्पादित सामान बजार लान पाउँछ । घरैबाट सबै काम भ्याउन थाल्छ । अलि बढी खर्च गर्न सक्ने हुन्छ, टाढा लगेर पढाउन सक्छ । तर त्यसले नकारात्मक भन्दा धेरै सकारात्मक परिवर्तन गर्नुपर्छ, अनि विकास हुन्छ । बाटो गएर प्रकृति मासिने, जीवजन्तु मासिने, हराभरा ठाउँ उजाड हुने, मान्छेले उत्पादन गर्न छोड्ने, पानीका मुहान सुक्ने हुन थालेपछि मात्र अनि बिग्रिएछ भनेर हुँदैन । त्यो कुरा राज्यले रोच्नु पर्छ, एउटा नागरिकले यो कुरा सोच्न सक्दैन । यसका लागि सरकारका पूर्वयोजना हुनुपर्छ ।

एउटा नागरिकलाई उत्पादक बनाउनु , जाँगरिलो बनाउनु पो विकास हो । उसलाई अल्छी र अरुको मुख ताक्ने बनाउनु विकास होइन । विकास भनेको त मान्छेमा आउने सर्वत्र सकरात्मक परिर्वतन हो । त्यसैले यो कुरामा पहिल्यै सोच्नुपर्छ ।

तपाईं नेपालका योजनाका खाका तयार गर्नेमा गनिनु हुन्छ । अहिले राजनैतिक स्थिरता जस्तो देखिएको छ देशमा । अब अघिनै हामीले भनेजस्तै ती विकासका माध्यमहरु अगाडी बढाउने योजनाका साथ सरकार अघि बढेको देखिन्छ । विकास हुनका लागि ती आधारहरु तयार गर्ने काम हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
विश्वस्त त हुनै पर्यो, किन नहुनु । गरे के हुन्न ?  तर त्यो कस्ले गर्छ ? कस्तो योजनामा गर्छ ? र कति गर्छ ? भन्ने मात्र कुरा हो । सम्भव मात्र हैन शतप्रतिशत सम्भव छ । तर एउटा कुरा हामील के बिर्सन हुँदैन भने बाटो जानु, रेल आइपुग्नु, ठूला भवन बन्नु मात्र विकास होइन । तिनका कारणले प्रकृति विनास हँुदा त्यो बाटो आउनु भन्दा ठूलो क्षति खप्न पर्ने हुनसक्छ । भवन, बाटो आउँदा प्रकृति उस्तै हुन्छ भन्ने होइन तर कम क्षतिका काम गर्नु पर्छ । बिकासको अर्को पूर्ण मापन त्यो देशमा प्रकृतिको संरक्षण छ छैन भन्ने कुराले गर्छ । त्यसैले सम्भव हुने जति सबै ठाँउमा जाने, तर प्रकृतिको पनि त्यतिनै मात्रमा संरक्षण गर्दै जानु पर्छ अनि मात्र हामीले भनेजस्तो सस्टेनेवल अर्थात दिगो विकास हुन सक्छ ।

अहिले त  संघीय सरकार,  स्थानीय सरकार  र प्रदेश सरकारको निर्वाचन भएको छ छ । यसले विकासलाई सजिलो बनाएको छ या अप्ठेरो ?
अप्ठेरो भन्ने कुरै छैन । यहि विकेन्द्रीकरणको त हामीले चालीस पचास बर्षदेखि कुरा गर्या हो । तर भएन । बल्ल हामी यो प्रणालीमा आइपुगेका छौं । हिजो विकेन्द्रीकरण किन भएन भने मसम्म मात्र विकेन्द्रीकरण होस्,  म भन्दा तल नहोस भनियो । अनि विकास माथिबाट थोपरिन्थ्यो । अब जनताले  इच्छाएको आधारमा मात्र पूर्वाधार बन्छन् । अनि त्यो संरक्षण पनि हुन्छ,  जनताकै कामको लागि भएपछि भरपुर प्रयोग पनि हुन्छ ।

राष्ट्रिय र प्रादेशिक महत्वको कुरा काठमाडौं या केन्द्रीय सरकारले हेर्छ । अन्य योजना प्रादेशिक र स्थानिय सरकारले हेर्छ । यसमा कुनै अल्झनु पर्ने विषय  छैन । कुन काम कस्ले गर्ने भनेर संविधानमै तोकिएको छ । यो हाम्रो पहिलो अनुभव हुँदा कहि कतै ओभरल्याप छ । तलमाथि  हुन्छ । त्यो हुनु स्वाभाविक पनि हुन्छ । पूरातन अवस्थाबाट नयाँमा जाँदा त्यो हुनु ठुलो कुरा मान्नु हुँदैन । त्यसलाई मिलाएर अघि बढ्नु पर्छ ।

खासमा यो संघीयतानै विकासको एउटा पाटो हो । विकास भनेको निर्णय प्रकृयामा सहभागी हुनु पनि होे । यो काम मैले गरेको हो भनेर धक फुकाएर बोल्न पाउनु विकास हो । संघीयताले त्यो दिएको छ जनतालाई ।

तपाईं त भूगोलविद पनि हुनुहुन्छ ।  हाम्रा जस्तो भूगोलमा विकास कत्तिको सहज छ ?
हाम्रो भूगोल त ८० प्रतिशत पहाडले ओगटेको छ । जलवायु परिर्वतनको प्रभाव पनि बढी पहाडी भेगमा पर्छ । वर्षामा पहाड बगेर  पैरो जाने हुन्छ । तर फाइदा पनि छ । संसारका हरेक ठाँउ विकासका लागि सजिलो अप्ठेरो भन्ने हुँदैन । खासमा त्यस ठाउँमा के गरिन्छ भन्ने कुराले फरक पार्ने हो ।

तराइमा लामो दूरीको बाटो निर्माणमा कम पैसा लाग्छ भने पहाडमा त्यति लगानीले पुग्दैन । अरु दोब्बर लगानीले मात्र त्यति बरावरको बाटो बन्छ । यो भौगोलिक अप्ठेरो त छ तर यसलाई नै सदुपयोग गर्दे त्यहि पहाडलाई बाटो जान सक्ने ठाउँमा मात्र लैजाने र अन्य ठाउँमा अन्य प्रकृतिको कम क्षति हुने खालका साधनहरु पुर्याउने ।

सरकारका केन्द्रीय योजना अनुसार  चीन, भारत जोड्ने बाटाहरु  बनाउनै पर्र्छ । तर, जीवजन्तु र प्रकृतिको न्युनतम क्षतिमा मात्र । त्यो भन्दा बाहेक जताततै पहाड खोस्रेर हाम्रा सुन्दर ठाउँ विगार्न हुदैन । केन्द्रीय बाटो र रेल मार्ग बाहेक अन्य खालका कम क्षति हुने खालका केवलकार जस्ता साधान ल्याउन बढी जोड गर्नु पर्छ । हिमालमा त भरिसक्के पिच नलैजाउ ।

स-साना गोरेटा बाटाहरु पुर्याउँ । त्यहाँको जडिबुटीको संरक्षण , उत्पादन र त्यसैको ब्यावसायिक खेती गरेर त्यसको अध्ययन अनुसन्धानको लागि पैदलमा पर्यटक पुर्याउँ । यसरी विकासलाई पनि नयाँ ढङ्गले लान सकिन्छ । बरु त्यहाँका बासिन्दालाई सहज स्वाथ्य, शिक्षा,खानेपानी, र उत्पादित सामाग्री बजार ल्याउने बाटो खोज्नु पर्छ । विकास जति खर्चिलो हुन्छ पहाडको प्रकृति र जैविक विविधतामा त्यसले त्यतिनै कुप्रभाव पार्छ  ।

प्रकृति र विकासको अन्तरसम्बन्ध केलाएर तपाईंले त प्रकृतिप्रेमी विकासविद्को झल्को दिनुभो ? तर केहि न केहि विनास पनि विकाससंगै आउँछ नै, यसलाई कसरि स्वीकार्ने ?
साँच्चै भन्दा हामीले हाम्रो सजिलोको लागि जे गरिरहेका छौँ, हामीले हामीलाई नै अर्थात प्रकतिलाई मासिरहेका छौँ । यो संसार जोगाउने काम हाम्रै हो । जे छ प्रकृतिमा त्यसैका कारण हामी छौँ । जीव जन्तु, पशुपन्छी, खोलानाला, जंगल, बनस्पती यि सबैका कारण हामी छौँ । यसको संरक्षण गर्दै विकासका चरणमा जाउँ । विगारेर होइन । र यो सत्य पनि हो । हाम्रो प्रकृति बेचेर पनि हामी धनी हुन सक्छौं । मेरो भन्नु यति हो कि विकास गरौं तर एउटा बोट मास्दा अरु सयवटा रोपौं । रेल चढेर केरुङ पुग्दा बाटोमा बाघ भालु,चौँरी, झारल घोरल , मृग , कस्तुरीहरु हेर्दै बाटो काट्न सकियोस् । मासेर होइन ।

फेरी विकासले विनासमात्र गर्छ भन्ने होइन है । विकास भनेको आगो जस्तै हो यसलाई सानो पारेर नियन्त्रणमा राख्न सक्यो भने भात पाक्छ, गाडी गुड्छ, तातो दिन्छ , हरेक कुरा गर्छ । तर त्यो नियन्त्रणमा भएन भने यसले संसार जलाइदिन्छ, तपाईं आफुलाई पनि । त्यसैले नियन्त्रणमा राखेर यसको प्रयोग गर्नुपर्छ  ।

भनेपछि विकाससँग आउने विनासको व्यवस्थापन  महत्वपूर्ण  हो,  हैन त ?
विकास भनेको विनास नै भन्यो भने नेगेटिभ अर्थ लाग्न सक्छ । विकास श्रृजनात्मक विनास भने पक्कै हो । किनभने विकासले पहिलेको अवस्थालाई मास्छ । प्रकृतिलाई मास्छ । म चीन गएको छु,  त्यहाँ हजारौ हजार किलोमिटर रेलमार्गहरु छन् । तर त्यहाँ पहाड आए छेडेर लगिएको छ । खोला आए कटाइएको छ । प्रकृतिलाई त्यसरी असर गरिएको छैन । विश्वका मान्छे हाम्रोमा किन आकर्षीत हुन्छन् भने हाम्रोमा नविगारेको भनेको प्रकृति जिउँदो छ । उनीहरु त सबै सिमेन्टेड भए । हामी बाँकी छाँै । उनले हामीलाई सुन्दर देख्नथाले । त्यसैले यसलाई नमारी विकास भयो भने हामीले विश्वका आँखा हामीतिर  धेरै खिच्न सक्छौ । बुलडोजर लगेर पहाड भत्काउनु बिकास हँुदै हैन । पहिरो जाँदा प्रकृतिको मात्र विनास होइन, त्यहाँ जनधनको पनि क्षति हुनछ । भाषा, संस्कृित, खनिज जीवजन्त,ु सम्पूर्ण प्राकृतिक कुराको संरक्षण भएर विकास भयो भने वास्तविक विकास हुन्छ । गर्नुपर्ने पनि त्यसै हो ।

हाम्रा विकासका चुनौती के देख्नु हुन्छ ?
तराइ र पहाडमा एकै स्तरको विकास नहुनु, सानो लगानीले विकास हुन नसक्नु, हामी त्यति सम्पन्न नहुनु, विकासका लागि बजेट जुटाउनु एउटा चुनौति होला । तर त्यो भन्दा पनि भोलि यसकै बावजुद भएको विकासका साधनको भ्रष्टाचारमा परेर कमजोर हुनबाट बचाउनु र बनेका साधनहरु पनि उचित प्रयोग र संरक्षण गर्ने चुनौती हामी माझ छ ।  जतिसुकै परिर्वतन भयो भनिए पनि हाम्रो मानसिकता विकसित छैन । एउटा रुख रोप्यो भने त्यसको संरक्षण गर्ने काम सरकारको हो भन्ने ठान्छौँ । बाटो नै आएपनि त्यसको हामीले संरक्षण गर्ने हो भन्ने जान्दैनौँ । अनि बाटो, रेल आएपछि समयको सदुपयोग नगरी बाँच्न झन कठिन हुन्छ भन्ने बुझेकै छैनौँ । हो यो कुरा चुनौति हो ।

तपाईंको अध्ययनको आधारमा नेपाल कस्तो देश हो विकासका दृष्टिले ?
हामी प्राकृतिक हिसावले धनी छौँ । संसारमै यस्ता देश एकदमै कम छन् । विकास भनेको मान्छेलाई पहुँच दिनु हो । पहुँचका पनि विभिन्न पक्ष हुन्छन् । ४० इन्च भन्दा बढी स्लोप भएका ठाँउमा बाटो लगेर त्यहाँ भूक्षय भन्दा अरु केहि हुन्न । फेरि भन्छु, त्यो विकास हुदैँ होइन । हाम्रा त्यस्तै ठाँउ धेरै छन् । पाकृतिक भएर पनि विकसित देश सोध्नु भयो त्यो हामीनै उदाहरण बन्न सकिन्छ । प्रकृतिमा त तपाईं हामीलाई जति अधिकार छ त्यो हरिणलाई पनि छ , बानरलाई पनि छ । त्यहाँ बस्ने एउटा चरालाई पनि छ । त्यसैले अब नक्सा बनाउँदै गर्दा सडक कहाँ कहाँ पुग्यो भन्नको सट्टा अब सडक कहाँ कहाँ लैजान हुन्न भनेर सोच्नु पर्छ । नो रोड एरिया तोक्नु पर्छ । त्यसो गर्दा बस्तिहरु जहाँसम्म रोड जान्छन् त्यहाँ सर्छन् र त्यहि अनुरुप विकासलाई अगाडी लानुपर्छ ।