काठमाडौँ, ९ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको ठुलो समस्या पीत पत्रकारिता भएको बताउँदै पीत पत्रकारिताबाट सावधान हुन आग्रह गन्नुभएको छ । 

आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलालाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले केही पत्रकारहरूले झुटको खेती गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही सञ्चारमाध्यम,राम्रोकुरा देख्न परे बरु आँखा छोप्छु, राम्रो सुन्नु परे बरु कान थुन्छु, राम्रो बोल्नु परे बरु मुख थुन्छु भन्ने , तीबाट जोगिन आवश्यक छ।’ 

प्रधानमन्त्री ओलीले त्यस्ता केही मिडियाले जहिल्यै झुटो छाप्ने र जनतलाई दिग्भ्रमित पारिरहेको भन्दै त्यस्ता मिडियाबाट जनता र देशलाई जोगाउनु पर्ने बताउनुभयो । 

पीत पत्रकारिता राष्ट्रिय हितमा नभएपनि पैसाका लागि स्वास्र्थमा फसेका र आत्मा बेचेकाहरू नर्कमा जान नछोड्ने बताउनुभयो । ‘जब मान्छेले आत्मा बेच्छ, त्यो ज्युँदै नर्क जान्छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।

कार्यक्रममा बोल्नु हुँदै प्रधानमन्त्री ओलीले केही काला मन भएका मान्छेहरू कालो झन्डा लिएर सडकमा बसेको बताउनुभयो । उहाँले भन्नुभयो ‘केही मान्छेहरू काला झन्डा गाँडेर बस्नुभएको छ। कालो झन्डा फरफराउनु भएको छ, कालो सपना देख्नु भएको छ, मनसायपनि कालो लिनुभएको उहाँहरूलाई म धेरै केही भन्न चाहन्न ।’

कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कुनैपनिसर्त र अर्थमा देशभक्तिको भावनामा कमी आउन नहुने बताउनुभयो ।