काठमाडौँ, २९ फागुन - ५० जनाको ज्यान जानेगरी सोमबार, फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको युएस बांग्ला एयरलाइन्सको विमानका पाइलट अबिद सुल्तान जीवित रहेको जानकारी ढाकास्थित कम्पनीको कार्यालयले दिएको छ । जहाजकी  को-पाइलट पृथुला रशिद काठमाडौँ मेडिकल कलेज हस्पिटलमा उचारको क्रममा मृतक भएको पनि उक्त बायु सेवा कम्पनीले जनाएको छ । 

७८ सीट भएको बम्बार्डियर ड्याश ८ क्यु ४०० जहाज सोमबार बंगलादेशको राजधानी ढाकाबाट  ६७ यात्री र ४ जना चालक दलका सदस्य लिएर काठमाडौँका लागि उडेको थियो । काठमाडौँमा अवतरण गर्ने क्रममा दिनको २:२० बजे जहाज दुर्घटना भयो, जसमा ४९ जनाले ज्यान गुमाए । 

ढाकाबाट प्रसारित विवरणमा नयाँ तथ्यहरु बाहिर आएका छन् । पाइलट अविद सुल्तानलाई कम्पनीले ४ वटा लगातार उडान भर्ने दायित्व सुम्पेको थियो । काठमाडौँ आउनुअघि उनले  क्यानाडादेखि ढाकासम्म करिब १६ घण्टा जहाज उडाएका थिए । 

बीचमा आरामको समय नपाएकाले पाइलटको थकान र त्यसबाट निर्णय क्षमतामा पुगेको असरबारे यसले नयाँ बहसलाई जन्म दिने देखिन्छ । त्रिभुवन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर हरुको सम्बादबाट पाइलटले टावरको निर्देशनका बाबजूद बाटो बिराएको प्रारम्भिक अनुमान गरिएको छ । 

यस्तै, दुर्घटनामा जीवित रहेका यात्रुहरुको बिवरणले जहाज अवतरण अघि नै कम्पन महसूस भएको देखाएको छ । यसबाट जहाजमा प्राविधिक खराबी थियो कि थिएन भन्ने बारे छुट्टै जांच हुनेछ । पाइलट जीवित रहेकाले प्राविधिक पक्षबारे थप प्रकाश पार्न जाँचबुझ समितिलाई सजिलो हुनेछ । क्यानाडाबाट ढाका आएको जहाज नै ढाकाबाट काठमाडौँ उडेको पनि बिमान कम्पनीले जनाएको छ  ।