यस कार्यक्रमको उद्देश्य कसका मनमा के थियो म जान्दिन । यस कार्यक्रको उद्देश्य र छलफल आदि कुराहरु कुनै धर्म परिर्वतन गराउने खालका थिएनन् । मैले यस कार्यक्रममा पाएको सम्मान नेपालको शान्ति प्रक्रिया, द्वन्द्घ व्यवस्थापन, छोटो समयमा प्राप्त गरेको स्थायित्व / नेतृत्व र सुशासनका लागि हो । 

 

  • प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौं, २० मंसिर– नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भौगोलिक विविधताले युक्त देश हो । यहाँ हामी विभिन्न जाति, भाषाभाषि, विभिन्न धर्मावलम्बी, संस्कृतिका मानिस बसोबास गर्छौै । यो सबै जातजाति, भाषाभाषी र धर्म समुदायको साझा देश हो । 

हाम्रो परम्परा, सहुष्णिता, सम्मान र सहयोगको भावनाले ओतप्रेत छ । अर्को, हामीले हाम्रो राज्य धर्मनिरपेक्ष भनेका छौं । हामीले संविधानमै धर्मनिरपेक्ष राज्य भनेका छौं । अर्थात सबै धर्मप्रति राज्यले समान भाव राख्छ । सबै धर्मप्रति राज्यले मैत्री भाव राख्छ । हामी संसारका सबै देशको सबै जातका, सबै भाषा बोल्ने, सबै धर्मावलम्बी, सबै संस्कृतिका मानिसलाई नेपालमा हार्दिक स्वागत गर्दछांै । ‘अतिथि देवो भव’ भन्छौं । हामी पाहुँनालाई तिमी कुन जात र कुन धर्मको भन्दैनौ । 

हामीले २०२० लाई अहिलेको भन्दा दोब्बर पर्यटक ल्याउने भनेका छौं । हामीले भिसा चेक गर्नेबेलामा धर्म हेरर भिसा चेक गर्दैनौं । आमन्त्रण गर्दा कुन जात, कुन धर्मको पनि भन्दैनौ । अर्थात हाम्रो सामाजिक परम्परा, संविधान र आवश्यकतासंग ती कुरा मेल पनि खादैनन् । जहाँसँग यो सम्मेलनको कुरा छ । नेपालमा यस्ता सम्मेलनहरु हुन्छन् । यो अलि ठूलो स्केलमा भयो । १२–१५ देशका राष्ट्रप्रमुख, सरकारप्रमुख आए । सभामुखहरु आए । राष्ट्रपति, उपराष्ट्रपति, राजा, प्रधानमन्त्री, मन्त्रीहरु, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वसभामुख आए । यसमा मुस्लिम, बुद्ध धर्मावलम्बी, क्रिश्चियन र हिन्दु धर्मावलम्बीहरु र अरु धर्मावलम्बीहरु आए, जसलाई हामीले अतिथिका रुपमा स्वागत गर्यौं । फेरि हामी भिसा चेक गर्दा, आमन्त्रण गर्दा, धर्म हेरेर गर्दैनांै ।  यसमा ४५ देशका मानिसहरु आए । यो खुसीको कुरा हो । फेरि एसिया प्यासिफिक समिटको एजेण्डा ‘आजका साझा चुनौती र त्यसको समाधान कसरी गर्ने भन्ने थियो ।

कार्यक्रमको विषय वा एजेन्डा हेर्दा हुन्छ, ती हाम्रा साझा समस्या र चुनौतिका विषय हुन् । अझ नेपालले राखेको धारणा वा भनाई वा दृष्टिकोण के हो भन्ने कुरा हो ।  फेरि त्यसमा नेपालको अवधारणा के हो ? नेपालले के भन्छ भन्ने कार्यकारी प्रमुखको हिसावमा मैले बोलेका कुराहरु नेपालले बोलेका कुरा हुन् । नेपालको भनाइ मैले भनेको छु । मेरो बोलाइमा कुनै खोट छ भने बहस गर्न म तयार छु । मैले त्यहाँ दुईवटा प्रवचन दिएको छु । त्यसमा कहीँकतै, कसैको टिप्पणी छ भने नेपालको धारणाको प्रतिनिधित्व प्रधानमन्त्रीले गरेन, प्रधानमन्त्रीको बोलीमा नेपालको बोली आएन, नेपालको संविधानको प्रतिनिधित्व भएन, संस्कृति, परम्पराको प्रतिनिधित्व प्रधानमन्त्रीले गरेन, प्रधानमन्त्रीले बोल्दा नेपालको संविधान, संस्कृति वा आवश्यकताको प्रतिनिधित्व भएन भने त्यसका लागि म बहसका लागि  तयार छु । होइन भने एउटा बुद्ध धर्मावलम्बीले बोल्न थाल्यो भने बुद्धम शरणम् गच्छामीबाट सुरु गर्छ । हिन्दुले सुरु गर्यो भने ‘सर्वे भवन्तु सुखिन’ बाट सुरु गर्ला,  इस्लामले ‘हल्लाह’ भनेर सुरु गर्ला, अथवा अर्र्केबाट सुरु गर्ला । उसको धर्म, उसको विश्वास निजी विषय हुन् । 

अब अर्को कुरा छ । मैले पाएको सम्मानका विषयमा पनि कुरा आएका छन् ।  जुन सम्मान र पदक मैले पाएको हुँ, त्यो नेपाली जनताको सफलताको, नेपाली जनताको बलिदानीपूर्ण संघर्षले पाएको सम्मान हो । जुन बहुत जायज हो । आफै धर्म छान्न पाइन्छ, धर्म परिर्वतन गराउन पाइदैन भन्ने हाम्रो संवैधानिक व्यवस्था हो । यस कार्यक्रमको उदेश्य कसका मनमा के थियो म जान्दिन, यस कार्यक्रको  उद्देश्य र छलफल आदि कुराहरु कुनै धर्म परिर्वतन गराउने खालका थिएनन् । अब मैले यस कार्यक्रममा पाएको सम्मान, हाम्रो उपलब्धीलाई नेपालको शान्ति प्रकृया, द्वन्द्घ व्यवस्थापन, शान्ति प्रकृया, छोटो समयमा प्राप्त गरेको स्थायित्व र नेतृत्व र सुशासनको पक्षबाट सिक्नुपर्छ । हो, यसैको उपलब्धीको रुपमा नेपाललाई गरेको सम्मान हो यो । 

सम्मेलनमा सबैले नेपालको उपलब्धीको प्रशंसा गरेको र त्यसको नेतृत्व गरेको तथा सुशासनको पक्षमा काम गरेकाले मैले यो सम्मान पाएको हो । केहीलाई लागेको होला, नबुझिकन वा बंग्याएर गरिएको विरोधसँग तालमेल खाएन । दुनियाँ केही बुझ्दैन, यहाँ मात्र २ र ४ जनाले देखेको छ भन्ने होइन । विरोधीका यस प्रकारका विरोध अर्थतन्त्र र पर्यटनलाई अगाडि बढ्न नदिने प्रयासमात्र हुन् । सरकारको लोकप्रियतामाथिको  हमला हो । 

हामीले पर्यटनको विकास गर्नुपर्नेछ । हामी कुनै धर्म, जात वा संस्कृतिविरुद्घ जादैनौ । हाम्रो अर्थतन्त्र बढाउनका लागि, हाम्रो व्यवसाय बढाउनका लागि जे प्रयास भएका छन्, हाम्रा ती प्रयासलाई असफल पार्ने प्रयास कतिपय गरिरहेका छन्, त्यो ठिक हैन । नेपाल फलानो फलानो धर्मावलम्बी आउन पाउने अरु आउन नपाउने भन्ने हैन । कुनैपनि धर्मावलम्वीहरुले अममानित महशुस गर्ने, असुरक्षित महशुस गर्ने वा घृणा फैलने (जस्ले हाम्राविरुद्घ केही गरेकै छैन) लगायतका कृयाकलाप गर्नु झन् अशोभनीय हुन्छ ।  

पर्यटन व्यवसायलाई अगाडि बढाउन हामी जे प्रयास गरिरहेका छौं, हाम्रो अर्थतन्त्र र व्यवसायलाई अगाडि बढाउन जे गरिरहेका छौं, बाहिरतिर उछालेर ती प्रयासमाथि हमला गर्ने र असफल बनाउने प्रयास भएको छ । यो ठीक होइन ।

– ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा हिजो प्रधानमन्त्री ओलीले एसिया प्यासिफिक समिटका वारेमा प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा उहाँले राखेको धारणाको संपादित अंश ।