काठमाडौं,२ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले कोरोनाविरुद्ध लड्‍‍न विशेष सजगता अपनाएको बताउनु भएको छ । उहाँले कोरोना भाइरसविरुद्ध लड्‍न महत्त्वपूर्ण र सामयिक निर्णय लिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद पनि दिनुभयो ।

कोरोना भाइरस विरुद्ध हामीले धेरै एजेन्सी र समन्वय समिति गठन गरेका छौं, आफ्ना समकक्षीहरूलाई प्रधानमन्त्री ओलीले भन्नुभयो, अन्तर्राष्ट्रिय मुभमेन्ट र अनअराइभल भिसा रोकेका छौं। भिसा रद्ध गरेका छौं। तेस्रो देशबाट आउने सडक यात्रुलाई पनि रोकिएको छ। स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सँग जुध्न सेल्फ क्वारेन्टाइनको व्यवस्था गरेको, हिमाल आरोहणका सबै परमिट रद्द गरिएको र अन्तर्राष्टिय सेमिनार स्थगित गरिएको पनि बताउनुभयो । 

आइतबार सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्ध लड्न साझा धारणा बनाउन गरेको प्रयासलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालमा एक जनामा संक्रमण देखिएको भएपनि उनी निको भइसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विमानस्थलको हेल्थ डेस्कमा स्क्रिनिङको व्यवस्था गरिएको निश्चित यात्रीलाई आफैं क्वारेन्टाइनमा बस्न भनिएको जानकारी दिनुभयो ।

अस्पतालमा कोरोना संक्रमितहरुका लागि विभिन्न वार्डहरु बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले चिकित्सकहरुलाई व्यक्तिगत सुरक्षाका उपकरण प्रदान गरिएको पनि बताउनुभयो ।
अस्वस्थताका बाबजुद भिडियो सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीसहित अन्य प्रतिनिधिहरुलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेकोमा धन्यवाद दिनुभयो ।