भक्तपुर, २९ जेठ–  भक्तपुरको मध्यपुर थिमी नगरपालिका चारदोबाटोस्थित गगनचुम्बी खाजाघरमै युवती राखी अनैतिक क्रियाकलाप गर्ने गराउने गरिएको भेटिएको छ । 

खाजाघरमा लागूपदार्थ गाजाको समेत ब्यापार हुने गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त खाजाघरमा छापामारी चार युवती सहित  खाजाघरका सञ्चालक मोरङ गोविन्दपुर गाविस –४ घर भएका ५२ वर्षीय शंकर राउतलाई नियन्त्रणमा लिएको छ ।

खाजाघरमा युवती राखी अनैतिक क्रियाकलाप हुन्छ भन्ने विशेष सूचनाको आधारमा छापा मारिएको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार खाजाघरमा छापा मार्दा खाजाघर सञ्चालक राउतको साथबाट दुई सय १० ग्राम लागूपदार्थ गाजासमेत बरामद भएको थियो ।

त्यस्तै खाजाघरबाट विभिन्न ब्राण्डका दर्जनौं प्याकेट कन्डमसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडक दायाँबायाँ चल्ने ठूला–साना रेस्टुरेन्टमा युवती राखेर अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयले पटक–पटक गुनासो गर्दै आएका छन् ।

तर खाजाघरमा समेत युवतीको व्यवस्था गरिने गरिएको प्रहरीको उक्त छापा पछि खुलेको हो । नियन्त्रणमा लिइएका चार युवती र खाजाघर सञ्चालक राउतलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।