अछाम, ३० जेठ — छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनने गर्ने भएको छ । महिनावारी बार्न छाउगोठमा बसेकी बुढाको पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको प्रहरीले जनाएको छ । 

सदरमुकाम मंगलसेनबाट ८२ किलोमिटर टाढा रहेको अछामको तुर्माखाद गाउँपालिका – ४ जुया गाउँकी १८ वर्षीया पार्वतीको शनिबार राति गोठमा सर्पले डसेर ज्यान गएको थियो । 

पार्वतीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइने प्रहरीले बताएको छ । उनको मृत्यूपछि आफन्तले पोष्टमार्टम नै नगरी शव गाडेका थिए । छाउपडी कुप्रथा बार्ने र बार्न लगाउने प्रति रोक लगाइएको भएपनि ग्रामिण क्षेत्रमा अझैपनि यो कुप्रथा कायमै छ ।