हामी नेपाली जनताले २०६२/०६३ को शान्तिपूर्ण जनआन्दोलनपछिका डेढ दशक जुन संयमताका साथ दल र तिनका नेताहरूलाई साथ दियौ, त्यसले शान्ति, सम्वृद्धि र सुखका दिनहरू ल्याउँछ भनेर अपेक्षा गरेका थियौं । विगतमा तिनले गरेका कमिकमजोरीहरूलाई दोहोर्याउँदैनन् भन्ने विश्वासका साथ २०७४ को निर्वाचनमा स्थानीय, प्रदेश र संघको सरकार एक दलको बन्ने आधार पनि दियौं । लादिएकै संघीयता भएतापनि त्यसले बढ्दो प्रशासनिक खर्चका बावजुद देशमा एउटा गतिका साथ काम गरेर गणतन्त्र र संघीयताप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउने परिकल्पना पनि गरेका थियौं ।

त्यसमाथि प्रायः सबै स्थानीय तह, प्रदेश र केन्द्रमा वामपन्थीहरूको नेतृत्वमा सरकार बनेपछि एउटा बेग्लै किसिमको उत्साह जनतामा छाएको थियो । अस्थिरता चाहने शक्तिहरू पछि हटेको, राजनीतिमा विकासका मुद्दाहरूले प्राथमिकता पाउन थालेको र पहिलो पटक देशमा एउटै सरकार पाँच वर्ष कायम हुने आसा गरिएको थियो । तर हाम्रा ति अपेक्षा, विश्वास र आसामाथि बाह्य सहयोग र दबावमा उपयोगितावादले षडयन्त्रको छुरा प्रहार गर्दा अस्थिरताको अर्को अध्याय देख्न र भोग्न पर्छ कि भनेर हामी ससंकित भएका छौं ।

स्वतन्त्र विवेकले पहिले र अहिले नेपालको राजनीतिमा देखिएको कचिङ्गल आन्तरिकमात्र नभएर बाह्य चलखेलबाट सिर्जना भएको रहेछ भनेर गरिएको अनुमान गलत रहेनछ । नेपालमा अस्थिरता सिर्जना गर्न जो बलियो छ, त्यसलाई कमजोर बनाउन र विभाजित गर्न कमजोरहरूको समुह बनाउने र प्रहार गर्ने काम विगतदेखि हुँदै आएको थियो । अहिले त्यहि रणनीतिबमोजिम नेकपामा विभाजन ल्याएर कमजोर बनाउन पार्टी अध्यक्ष तथा प्रम केपी ओलीलाई हटाउन प्रचण्ड, माधव र झलनाथहरूको बेग्लै समुह तयार गरियो । त्यो समुहले केपी ओलीलाई पार्टी र राज्य सत्ताबाट हटाउन विगत एक वर्षदेखि प्रयासरत थियो । अहिले ओलीलाई मात्र होइन राष्ट्रपतिसमेतलाई हटाउने षडयन्त्रका प्रयास भएको सुचना आएपछि प्रम केपी ओलीबाट संसद विघटनको अप्रिय अभ्यास गर्न बाध्य भए ।

यद्यपी ति कामहरूलाई दुबै पक्षले विधि र पद्धतिसँगत भनेर बचाउ गर्दैछन् । तर कुरो के होभने “जनमत विपरीत प्रधानमन्त्रीलाई कार्यकाल पूरा नहुँदै हटाउने प्रयास र प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने अभ्यास दुबै आवश्यक  थिएन । विज्ञानको नियम हो, क्रियापछि प्रतिक्रिया हुन्छ । संसद विघटन प्रचण्ड, माधव र झलनाथहरूको क्रियापछिको प्रतिक्रिया हो । अब जनताले फैसला गरेर पीडकलाई दण्ड र पीडितलाई न्याय न्याय दिनुपर्छ । जनतामा जान न्यायलयले बाटो नछेकोस् ।”

नेकपाभित्रको कचिङ्गल र विभाजनोन्मुख गतिविधिले विपक्षीहरूमा उत्साह जगाएको देखिन्छ । खासगरी राजावादी हुँ भन्नेहरू आक्रमक भएर वर्तमान राजनैतिक प्रणालीमाथि प्रश्न उठाउँदैछन् । नेकपाको ल्याङल्याङले केहि समय अन्यौलता बढाउँछ र समय पनि बर्बाद गर्छ । त्यसको क्षति नेकपाले व्यहोर्न पर्ने नै छ । तर देश घुमेर पछाडि फर्किदैन् बरू अगाडि बढ्छ, लोकतान्त्रिक गणतन्त्रको विकल्प प्रगतिशील लोकतान्त्रिक गणतन्त्र होभन्ने कुरा जनतालाई बुझाउँदै देशको राजनीति अघि बढ्छ । आज जसरी विधि र पद्धतिको एकपक्षीय व्याख्या गरेर माधव नेपालहरू प्रचण्डको उपयोगितावादको सारथी बन्दैछन् त्यसले समयान्तरमा माधव नेपालहरू आफैं प्रताडित हुँदै लखेटिन्छन् । किनभने प्रचण्ड कब्जा नीतिबाट निर्देशित र दक्षिणबाट पालितपोषित भएर माधवहरूलाई उपयोग गर्दैछन् । समय र जनताले नेकपालाई एकता सुदृढ बनाउने, उन्नत सहमति र सहकार्य गर्दै जनअपेक्षाहरूलाई सम्बोधन गर्न निर्देशित गरेको थियो नकि अंकगणित खोज्ने विधि पद्धतिमार्फत राजनैतिक तथा संवैधानिक गतिरोध सिर्जना गर्ने ।

पार्टी अध्यक्ष तथा प्रम ओलीले बारम्बार प्रतिबद्धता जनाउँदै भने “म महाधिवेशनपछि अध्यक्ष बन्दिन र अर्को आमनिर्वाचनपछि चुनाव लड्दिन ।” तर प्रचण्ड–माधवहरूले अध्यक्ष बन्न केहि महिना त प्रधानमन्त्री बन्न अर्को चुनाव पर्खने धैर्यता देखाएनन् । फेरि पार्टीभित्रको बदलिंदो समिकरण र षडयन्त्रमार्फत भइरहेको जालझेल परास्त गर्न प्रम तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीका पछिल्लो पु्स्ताका नेताहरूलाई विश्वासमा लिन पनि सकेनन् । अनि पछिल्लो पुस्ताले विवेक प्रयोग गरेर चुनौतीबीच नेतृत्वमा पुग्ने अवसर नचिनेर हस्तक्षेप गर्नुभन्दा दासतामा नै रमाए ।

लोकतन्त्रमा आफ्ना असहमति, विमति, राजनैतिक मान्यता र विचारहरू राख्न सबैलाई समान अवसर उपलब्ध छ । लोकतान्त्रमा लोकतन्त्र विरूद्ध नारा लगाउने स्वतन्त्रता पनि हुन्छ । यसलाई लोकतान्त्रिक प्रणालीको सुन्दरता पनि मानिन्छ । तर त्यो स्वतन्त्रता र सुन्दरता आजको राजनैतिक तथा संवैधानिक व्यवस्थाले हामीलाई दिएको भएतापनि स्वछन्द भएर अमर्यादित हुन र राजनीति गर्न छुट भने दिएको छैन् । आज विधि र पद्धतिको वकालत गर्नेहरू नै विधि तोड्न र पद्धति भत्काउन उद्दत देखिएका छन् ।

यहि प्रवृत्ति नै प्रगतिशील लोकतन्त्रको यात्रामा मुख्य अवरोध बन्दैछ भन्ने कुरा हाम्रा लागि मुख्य चुनौती बनेको छ । तर ति अवरोधहरू हटाउन र चुनौतीहरूलाई अवसरमा बदल्न राजनीतिक नेतृत्वले सक्छ कि सक्दैन भनेर तिनका गतिविधिलाई जनताले नजिकबाट नियाली रहेका छन् । आज नेपाली जनता सत्य, न्याय, प्रगति र स्थिरताको पक्षमा मौन देखिएका छन् । यो मौनतालाई कमजोरी वा नादानी नठार्नौ ।

राजनैतिक तथा संवैधानिक व्यवस्थामा भएको परिवर्तनपछि आधारभूत रूपमा शैक्षिक, न्यायिक, प्रशासनिक र आर्थिक व्यवस्था वा प्रणालीमा पनि सोअनुकुल सुधार, परिवर्तन र विकास अनिवार्य आवश्यकता थियो । तर नेतृत्वले त्यो आवश्यकतालाई बोध गर्न र त्यसमा परिवर्तन गराउन नसक्दा अहिले अनिश्चितता र अन्यौलको स्थिति सिर्जना भयो । बारम्बार राजनैतिक आन्दोलन, संवैधानिक परिवर्तन र संक्रमण सकिंदा नसिकिंदा फेरि आन्दोलन जस्तो माहोल कायम राख्न अस्थिरतावादीहरू सफल देखिन खोज्दैछन् । यसले जनमनमा “जुन जोगी आए पनि कानै चिरेको” भन्ने मनोविज्ञान विकास गर्दै प्रतिगमनलाई सहज हुने परिस्थिति तयार गर्न खोजिदैछ जबकी कारण राजनैतिक र संवैधानिकमात्र थिएन र होइन पनि । आज विप्लवहरूले व्यक्ति हिंसा र ध्वंसमार्फत आफ्नो अस्तित्व देखाउन खोज्नु, राजतन्त्रवादीहरूले सडकमा राजा आउ देश बचाउ भन्नु र प्रचण्ड–माधव समुहले अंकगणित र विधि पद्धतिलाई आवरण बनाएर शक्तिमा पुग्न दुस्प्रयास गर्नुका पछाडि धेरै कारणहरू छन् । तर मुख्य र पहिलो कारण नेपाल कमजोर बनाउने र बाह्य चलखेल बढाउने नै हो । यसकै लागि विप्लवको हिंसात्मक समुहलाई बोक्ने र आफ्नै पार्टीको सरकारलाई ठोक्ने रणनीतिबमोजिम प्रचण्डले पार्टीभित्र समिकरण बनाएर भारतको सहयोग लिइरहे । कान्तिपुरको फायरसाइडमा आफ्नो आन्दोलनको पक्षमा भारतको औपचारिक रूपमा नैतिक समर्थन खोजेको अभिव्यक्ति दिए ।

गएको एक वर्षदेखि प्रचण्ड–माधवहरूले केपी ओलीलाई पार्टी र राज्य सत्ताबाट विस्थापन गर्ने प्रयास गरिरहेका थिए । ओलीको स्वास्थमा देखिएको जटिलताले उनीहरू “बढार्नु पर्ने कसिङ्गर हावा उडाउने भो” भन्ने मान्यताबाट केहि समय मौन देखिए । किनभने यो स्वास्थ जटिलताबाट ओली बाँच्दैनन् भन्ने अड्कल थियो । तर भईदियो उल्टो । प्रम केपी ओलीको स्वास्थमा चमत्कारिक सुधार आएपछि उनीहरूको पार्टी अध्यक्ष र प्रम बन्ने अघोषित ईच्छा र योजनामा सङ्कट आयो । फेरि उता सर्वोच्च अदालतले राजनीति र अपराध फरक विषय भनेर फैसला गरेको र अख्तियारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न पक्षलाई छानविन र बयानका लागि बोलाउन थालेपछि प्रमबाट ओलीलाई हटाउने खेलमा नेकपा कै मुख्य नेतृत्व खुलेर लागेको थियो । त्यसैले संवैधानिक आयोगहरूमा नियुक्ति गर्नका लागि संवैधानिक परिषदको बैठक बस्न भएका प्रयासहरू कुनैपनि सफल भएनन् । यसका लागि अध्यादेशसम्म ल्याउन सरकार बाध्य भयो ।

नेकपाको सचिवालय बैठकमा अनधिकृत रूपमा पार्टी अध्यक्ष तथा प्रम केपी ओलीका विरूद्ध दोस्रा अध्यक्ष प्रचण्डले फौजदारी प्रकृतिको आरोप लगाएपछि परिस्थिति एकाएका तिक्ततापूर्ण बन्यो । अहिले नेकपामा देखिएको विभाजनको पछिल्लो मूल कारण त्यहि थियो । मुद्दाविहिन प्रतिपक्ष पनि प्रचण्डको त्यहि आरोप बोकेर सडकमा पुग्यो । मान्छेहरू प्रश्न गर्न थाले, प्रचण्डको पार्टी नेकपा हो कि नेकाको नेता प्रचण्ड ? यो व्यङ्ग्यात्मक प्रश्नमात्र थिएन । किनभने नेपालमा लोकतन्त्रलाई प्रगतिशील बनाउन नदिन र बाह्य चलखेल अनि प्रभाव बढाउन नेका र नेकपा ध्वस्त बनाउनु पर्छभन्ने मान्यताबमोजिम नेकामा देउवा र नेकपामा प्रचण्डलाई बलियो बनाउने कामका लागि लगानी भइरहेको छ । यसै त खराब शैक्षिक, न्यायिक, प्रशासनिक र आर्थिक व्यवस्थाका कारणले नागरिकको मनस्थिति र देशको परिस्थिति सकारात्मक बन्न नसकेको अवस्थामा पछिल्लो राजनीतिक घट्नाले वर्तमान राज्य व्यवस्था नै बेठीक पो होकि भन्नेहरूको सक्रियता बढेको छ ।

केशरजङ्ग रायमाझी प्रवृत्तिले वि.सं. २०१७ सालपछि निरूङ्कुशता बलियो बनाउन र नेकपामा विभाजन ल्याउन मुख्य भूमिका खेलेको थियो । ६० वर्षपछि रायमाझी प्रवृत्तिको प्रतिनिधित्व प्रचण्ड–माधवहरूले गरिरहेका छन् भन्दा अन्याय हुँदैन् । किनभने तिनले गरिरहेका क्रियाकलापहरूले प्रगतिशील लोकतन्त्रको पक्षपोषण नगरी दक्षिणपन्थी अवसरवादलाई बलियो बनाउने आधार तयार गर्दैछ । “घरमुलीलाई घरभित्र थुनेर आगो लगाउन छिमेकी गुहार्ने तिनका सोच र व्यवहारले भन्छ, विनास काले विपरीत बुद्धि । त्यहि बुद्धिको हर्कतले संसदको एउटा कार्यकाल पूरा नहुँदै जनपरीक्षणमा जान प्रम ओली बाध्य भए भनेर भन्न सकिन्छ । नेपालमा भारूले चार्ज गरेको राजनीति टिक्दैनभन्ने चेत तिनमा देखिएन।”  बिस्तारै पर्दाहरू खोलिन्छन् । सत्य प्रकट हुन थाल्छन् । झुठको खेती गरेर छिमेकीसँग मिलेर घरमा आगो लगाउनेहरू चिनिन्छन् । त्यतिखेर आज एकपक्षीय भएर कराउनेहरू कुन मुख लिएर जनताका अगाडि उभिन्छन ? समयले सत्यको त जनताले न्याय, प्रगति र लोकतन्त्रका पक्षमा लाग्नेलाई साथ दिन्छन् । केहि क्षण भ्रम र भिंड हावी होला तर जित सत्यको हुन्छ । प्रतिक्षा गरौं !

कस्तो संयोग ? दुई–दुई ठाउँबाट हारेर हिजो सभासद अनि प्रधानमन्त्री बन्ने र महाधिवेशनबाट हारेर पनि जितेकालाई हटाएर आज अध्यक्ष हुने सौभाग्य कसैलाई प्राप्त हुन्छभने त्यो माधव कुमार नेपाललाई हुन्छ । त्यो पनि प्रचण्ड कै नेतृत्व र सहयोगमा। भाग्यमानीको पुर्पुरो नै बलियो भन्ने कि माधव कुमार नेपालले रोजेको विधि, पद्धति र मनस्थिति नै विकृत ? नेकपाका नेता तथा कार्यकर्ता तथा नेपाली जनताका सामु यक्ष प्रश्न खडा भएको छ । यतिखेर नेकपाका पछिल्लो पुस्तालाई पार्टीभित्रको दासताको सिक्री चुडाउने, नयाँ पुस्तामा पार्टी र सरकारको नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्ने अवसर आएको थियो । तर अवसरको सदुपयोग गरेनन् बरू दास बन्न र पार्टी फुटाउन मै रमाए । समस्या पुरानोमा थियो नै त्योभन्दा पनि बढी समस्या नयाँमा रहेछ । दास प्रवृत्तिले नेपालको कम्न्युनिष्ट आन्दोलन ध्वस्त बनाउने भो । 

“प्रचण्ड–माधवहरूले जनअपेक्षा र विश्वास विपरीत केपी ओलीको सरकारलाई छापामार शैलीबाट हटाउने प्रयासपछि केपी ओलीको संसद विघटनको अप्रिय अभ्यासले नेकपा टुक्रियो र आफूलाई पछिल्लो पुस्ताको प्रतिनिधि ठान्नेहरू अघिल्लो पुस्ताको दास बने । समस्याको जड अथवा सार प्रममा प्रचण्डको त पार्टी अध्यक्षमा माधवको दावा हो । तर रूपमा दोषी प्रम ओली देखिए । तर पर्दाहरू खुलेपछि सबैले बुझ्ने गरी सत्य प्रकट हुने नै छ ।”

अहिले देशमा देखिएको राजनैतिक अस्थिरता र संवैधानिक अन्यौलता खराब नीति, प्रणाली र नियतको परिणाम हो । संसदले एउटा पूर्ण कार्यकाल काम गर्न पाउनु पर्छ भन्नेले त्यहि संसदबाट बनेको सरकारलाई भने बीच मै हटाएर अर्को सरकार बनाउने षडयन्त्रमुलक नारा लगाउँछ । राजनैतिक स्थिरता भनेको निर्वाचित प्रतिनिधि र सरकारले निर्वाध रूपमा पाँच वर्ष काम गर्ने र संवैधानिक स्थिरता भनेको समयानुकुल त्यसमा परिमार्जन गर्दै त्यसको व्यावहारिक तथा कानुनी सर्वोच्चता कायम गर्नु हो । हामीले बुझ्नुपर्छ, बारम्बार संविधान, संसद र सरकार बदल्ने सोचको नेतृत्व गर्ने पात्र र प्रवृत्ति अस्थिरताको बाहक हो ।

संवैधानिक स्थिरता कायम गर्ने गरी राजनीति गरिएन । जबकी विश्वका विकसित मुलुकहरूमा १००–२०० वर्ष अघि बनेका अलिखित र लिखित संविधानले नै काम गरिरहेको छन् । हामीभने गएको ७० वर्षहरूमा ६–७ थान संविधान बनाउन मै रमायौं । अझ पनि संविधान फेर्नु पर्छभन्ने असान्दर्भिक नारामा जनतालाई अलमल्याउन खोज्दैछौ । किन ?