काठमाडौँ, २४ असोज - बलिउड अभिनेता अमिताभ बच्चन दीपिका पादुकोण र प्रभाससँग एउटै फिल्ममा देखिने भएका छन् । व्याजयन्ती मुभिजको फिल्ममा उनीहरु एकसाथ देखिन लागेको जनाइएको छ ।

भारतीय सचारमाध्यमका अनुसार प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गरेको थियो । व्याजयन्ती मुभिजले शुक्रवार यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ बच्चनको पनि प्रवेश भएको जानकारी गराएको हो ।
 
भिडियोमा अमिताभ बच्चनले काम गरेका केही यादगार फिल्मको झलक देखाइएको छ । फिल्मलाई नाग अश्विनले निर्देशन गर्दैछन् । कैँयौँ फिल्मको सफल निर्माण गरिसकेको साउथ इन्डियन फिल्म प्रोडक्सन हाउस व्याजयन्ती मुभिजका अनुसार, तत्काललाई फिल्मको नाम ‘प्रभास २१’ राखिएको छ । यो फिल्मका लागि प्रभासले मात्र ५० करोड पारिश्रमिक बुझेका छन् ।

फिल्ममा उनको मुख्य भूमिका रहनेछ ।’ साइन्स फिक्सनसँगै यो फिल्म वर्ल्ड वार ३ को कहानीमा आधारित हुनेछ । फिल्मलाई सन् २०२२ मा संसारभर एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ ।