चितवन, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने बताउनुभएको छ । सरकारले जनअपेक्षा बमोजिम विकास निर्माणका काम गर्ने पनि बताउनुभएको छ । 
 
भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उहांँले सरकारले भ्रष्टाचारलाई निर्मुल पार्दै विकास र समृद्धि प्राप्त गर्ने बताउनुभयो । उहाँले दलाल, तस्कर र भ्रष्टहरुलाई कारवाही गरिने बताउनुभयो ।

‘अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौं । त्यसका लागि हामीले भ्रष्टाचार समाप्त पार्नेछौं । सदाचारसहितको विकास गर्नेछौं’ उहाँले भन्नुभयो । 

स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।